हो ठोक्नुपर्छ, शारदाप्रसाद अधिकारीहरुलाई...

हो ठोक्नुपर्छ, शारदाप्रसाद अधिकारीहरुलाई...

गङ्गा बराल

शारदाप्रसाद अधिकारी तिमी निर्माण व्यवसायी हौ । तर सहरमा तिमी प्रचण्डका घरबेटीको परिचयमा परिचित छौं । तिम्रो मातृ पार्टी  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुनु तिम्रो बदनामीको खास कारण बनेको छ । 
अघिल्लो वर्ष समयमा काम नगर्ने एक सय छ जना ठेकेदारमध्ये तिमी नेतृत्वको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. ६४ नम्बरमा थियो गृहमन्त्री रामबहादुर थापा वादलले सार्वजनिक गरेको  ठेकेदारको सूचीमा । तर, शहरमा तिमी र तिम्रो कम्पनी नै नम्वर वान चर्चामा छ, सबैलाई माथ गर्दै । किनकि तिमी कम्युनिष्ट भयौ । धन्न तिम्रो कम्पनीलाई वाम कम्पनी भनी हालिएको छैन । 

सरकारको दृष्टिमा ‘बदमासी’ गर्ने ‘क’ श्रेणीका ठेकेदारमध्येका एक तिमी किन यति सारो चर्चित त बदनामीमा ? किनकि तिमी सहिद परिवारका व्यक्ति प¥यौ । तिमी कुलीन वंशका उत्तराधिकारी रहेनौ । तिमीले माओवादी युद्धकालदेखि अहिलेसम्म वाम विचारधारा त्याग्न सकेनौ, जनयुद्धको मर्म र भाव बिर्सन सकेनौं । त्यसैले तिमी अरु एक सय पाँच ठेकेदार कम्पनी जस्तै ‘सामान्य’ परेनौ ।

तिमीले नुवाकोट साबिकको बागेश्वरी गाविस  अर्थात अहिलेको  सूर्यगढी गाउँपालिका ३ मा जन्मे हुर्किएर उतै सामान्य खेती किसानी गरेका भए शायद आजको वदनाम व्राण्डको एम्वेसडर हुनुपर्ने थिएन ।  परिवार सामान्य खान लाउन पुग्ने खालको हुँदाहुँदै तिमीलाई जनयुद्धको समर्थन, सहयोगी मनकै कारणको उपज हो तिम्रो आजको आलोच्य वर्तमान । 

पिता विहीन युवाको जिन्दगीका सुखदुःखका तिमी जिवन्त प्रतिनिधि इतिहास हौ । थाहा छ, क्याम्पसको पढाइसँगै तिमीले काम पनि गरेर २०४८ देखि ५१ सालसम्म एउटा कम्प्युटर इन्स्टिच्युटमा आफ्नो युवा ऊर्जालाई जीवन चलाउने पैसामा बदल्यौ । अल्लारे बनेर बरालिने उमेरमा व्यावसायिक जीवनपथमा आफूलाई समाहित गर्दा निश्चय नै तिमी, सानै उमेरमा धेरै लामो यात्राको सफरका लागि तयार बन्यौं ।

उतिबेलादेखिको तिम्रो काममा जुन लगाव बस्यो, शायद त्यसैको निरन्तर लगाव र मेहनेतले आज तिमी यो स्तरको व्यवसायी बनेका हौ । भोटाहिटी कम्प्युटर इन्स्टिच्युटमा सञ्चालक बनेर सुरु तिम्रो व्यावसायिक यात्रा अहिले प्रतिष्ठित निर्माण व्यवसायी बन्दा तिमी मात्रै चौतर्फी प्रहारको तारो किन बनिरहेका छौ ? थाहा छ ? कारण तिमी, कम्युनिष्ट विचारधाराका भयौ, प्रचण्डका घरबेटी भयौ । यहाँ एकखालको सामाजिक मनोविज्ञान वा रोग भनेकै प्रचण्ड विरोधी फोबिया पनि छ । बस, तिमी, त्यसकै शिकार भयौ ।

०५२ सालमा माओवादीले सुरु गरेको ‘जनयुद्ध ’ मा तिमी  सुरूदेखि नै समर्थक हुनु नै तिम्रो भुल साबित गर्ने, तिमी काँधमा टेकेर शीर्ष नेतृत्वलाई खुइल्याउने, प्रहार गरिरहने र अन्ततः सिध्याइदिने यहाँ लामो षडयन्त्र र योजनाहरु छन्, त्यसको एक पाटोमा तिमी उभियौ, त्यसै कारण निरन्तर दागिन्छौं । आफ्नो सानो व्यवसायसँगै तिमीले जनयुद्धमा भित्रभित्र माओवादीलाई सहयोग गर्नु तिम्रो महानता थियो, तर यहाँ एकाथरीहरु, जसलाई जनयुद्ध भनेपछि ज्वरो आउँछ, उनीहरुको योजनावद्ध गोयवल्स प्रचार खेतीमा तिमी एकनम्बरी दुश्मन बन्नुको जग हो । 

भूमिगत कालमा उपत्यकाकै तलका कमिटीहरुमा काम गर्दै नेताहरूलाई सेल्टर दिन थालेपछि पार्टी र नेतासँग सुमधुर सम्बन्ध हुनु र अहिलेसम्ममा त्यो झाँगिदै जानुलाई नै तिम्रो व्यावसायिक जीवनको उदय र प्रगति देख्ने तर तिमीले अनवरत रुपमा देखाएको कामप्रतिको इमान, मेहनेत र समपर्णलाई ओझेलमा पार्नु समकालीन समाज, मिडियाको एक हिस्साको बाह्रैमासे खेती हो । तिमी त्यसैको शिकार भएका हौ । 

‘जनयुद्ध ’ को घाउ र पीडा कति अपुरणीय छ ? त्यो तिम्रो आत्मा र तिम्रा समकालीनलाई मात्रै ज्ञात छ, तर बाँकी दुनियाँ त तिम्रो सिन्धुलीका ससुरा बा कमलप्रसाद देवकोटालाई सेनाले सोलुखुम्बुमा र साली कलाकार निर्मला देवकोटालाई अनेकोटमा विभत्स रुपमा मारेको कहालिलाग्दो क्षणलाई पनि गिल्ला गर्छ । किनकि ‘जनयुद्ध’ भन्नासाथ घृणा गर्ने स्वदेशदेखि विदेशसम्मको सामाजिक तप्का तिमी जस्ता शहीद परिवारका मान्छेको संघर्ष र बलिदानलाई यहाँ हसिमजाक र खिसीटिउरी गरेरै लोकतन्त्रको बर्कोभित्र घिऊ खादै हुर्के, बढेको हो ।

यो पनि पढ्नुहोस्

शारदा अधिकारीको आवरणमा प्रहारको निशाना प्रचण्ड

देशको शासन व्यवस्था बदल्ने त्यो ‘जनयुद्ध ’ मा सहिद परिवारको सदस्य रहदा पनि तिमीमाथि नै भइहरने निरन्तरको आक्रमण, त्यही ‘जनयुद्ध’ विरोधीहरुको बान्ताको प्रतिक न हो, तिमी एक निमित्त पात्र मात्रै हौ । 

युद्धताका सहिद भएका शेरमान कुँवर, यानप्रसाद गौतम ‘आलोक’ र काभ्रेका माओवादी नेता दिनेश शर्मासँग तिम्रो सामीप्यतापूर्ण सहकार्य अहिलेको समाजलाई के मतलव ? मिडियालाई के सरोकार ? 
पार्टी नीति र विश्वासमा तिमीले जे सक्थ्यौ, त्यही गुन लगायौ ‘जनयुद्ध’ कालमा । त्यो अहिले बरदान होइन, अभिसाप बनाउन अरु त लागे लागे, तिम्रै चारो खानेहरु पनि तिमीविरुद्धका षडयन्त्र गर्नेहरुका मतियार बने, बनिरहेका छन् । यही हो तिम्रो पीडादायक वर्तमान । 

‘जनयुद्ध ’ कै दौरान २०५८ सालमा माओवादीले सरकारसँग पहिलो पटक वार्ता अनामनगरमा स्थापित सम्पर्क कार्यालयका सचिव बनाइएका नुवाकोटका भरत ढुङ्गानासँग मिलेर तिमीले गरेका कामको यहाँ पाना पल्टाउदैनन् कोही पनि ।
पछि वार्ता भंग भएर, कार्यालय पनि बन्द हुँदा ढुङ्गाना २०६१ सालमा धादिङमा सेनाद्वारा मारिदा लगायतका तिमी जोडिएका युद्ध कहानीहरु यहाँ कसलाई किन मतलव हुन्छन र अचेल ? मोहन कार्की, स्वर्गीय पोस्टबहादुर बोगटीसँगको सहकार्यको तिमो सहकार्य वाहियात ठान्नेहरु तिमीलाई ठोक्छन र ठोकिरहन्छन ।

२०५९ सालबाट कम्प्युटरको काम छोडेर इलामको बर्ने र झापाको ज्यामिरगढी खानेपानी निर्माणको सानो ठेक्का लिएर तिमी निर्माण व्यवसायको लामो र विशाल संसारमा छिर्दा व्यहोरेका तिम्रा संघर्षका कथा समाचार नबन्ने सूचना साम्राज्यको तिमी शिकार छौ अहिले । 

०६० सालतिर तिमीले आफ्नै नाममा कम्पनी स्थापना गरेर ‘बी’ श्रेणीको द मोडर्न शेर्पा कन्स्ट्रक्सन कम्पनी किन्दाका दुःख वा त्यसलाई  शैलुङ कन्स्ट्रक्सन बनाउँदाका तिम्रा हैरानीहरु अहिले तिमी विरुद्ध खनिनेहरुलाई के चासो छ र ? तिमीले आफ्नै पौरखमा आर्जेको निर्माण कम्पनी र  आफ्नै बुताबाट पाएको ठेक्कालाई पनि यहाँ प्रचण्डको हुकुम प्रमाङ्गीबाट प्राप्त विरासत भनेर दुष्प्रचार गरिदिने संगठित शक्तिको शिकार छौ तिमी । मात्रै खुमलटारस्थित आफ्नोे घर  अध्यक्ष प्रचण्डलाई बस्न दिएका कारण । 

प्रचण्डका एकल पुत्र प्रकाश बितेपछि पुत्र शोकमा डुबेकी प्रचण्ड पत्नी सीताको विक्षिप्त हालतको ओखतीको रुपमा मानवीय नाताले आफ्नो घर प्रचण्ड परिवारलाई बस्न उपलव्ध गराउनु नै अहिले तिमीमाथि प्रहार गर्ने एकल औजार भएको सत्य हो । तिमीले जिरो ग्राउण्डबाट लडेर, भिडेर र कर्म गरेर निर्माण व्यवसायको यो स्तर बनायौ । तर प्रचण्डलाई बस्न घर दिएकै कारण तिम्रा विरोधीहरु यसलाई प्रचण्ड विरासत भनेर दुष्प्रचार गरिदिन्छन । तिमी बसेर बोल्दा कोही सुन्दैनन, उठेर बोल्दा हावामा बिलाए झै हुन्छ । तिमी अव्वल ठेकेदार हुन पनि पाएनौ, प्रचण्डको माया र छायाँले । 

तिमी बाहेक अरु सबै निर्माण कम्पनी दूधले नुहाएका भइदिन्छन यहाँ । तिमीलाई टेकेर प्रचण्डलाई जहिल्यै हानिरहनुपर्नेहरुका लागि तिमी बहाना भइदिएका छौ यहाँ । शान्ति राजनीतिमा तिमी यहाँ आफ्नो व्यवसायका अतिरिक्त प्रचण्डको सहयोगी बन्नुलाई अपराध करार गर्ने दुष्साहस भइरहन्छ यहाँ । र, यहाँ वाम एकता वा सरकारको सम्वृद्धि यात्रामा तिमी सहायक भइदिनुलाई आतंक ठानिन्छ यहाँ । 

पूर्व एमाले र माओवादी एकताको मात्र हैन, त्यसअघि रामबहादुर थापा ‘वादल’, मातृका यादव, मणि थापाहरूको पार्टी एकीकरणको वार्ताका लागि तिमीले दिएको स्थानले पनि वैरीहरु बढे तिम्रा । तिमी आफ्नो क्षमताले  निर्माण व्यवसायी महासंघको सल्लाहकार बन्नुलाई पनि यहाँ प्रचण्ड तथास्तु ठानेर दुष्प्रचार गरिन्छ । नेपालको विद्यमान ठेकेदारी प्रणालीमा प्रचण्ड त के स्वर्गबाट ‘इन्द्र भगवान’ ले बल प्रयोग गरे पनि ठेक्का लिँदा राजनीतिक पहुँचले काम गर्दैन भन्ने तथ्य यहाँ तिम्रो खोइरो खन्नेहरु सबलाई थाहा छ । 

तैपनि उनीहरु मात्रै तिम्रा विरुद्ध प्रचण्ड आशिर्वाद भनेर किन तिमीलाई हिर्काइरहन्छन भने तिमी परिदियौ लाल ठेकेदार ! माओवादीको लाल क्रान्तिको एउटा हिस्सा भएकै कारण जबसम्म यहाँ तिमी शारदाप्रसादहरु प्रयोजित रुपमा आलोचित, दुष्प्रचारित र दण्डित हुनुपर्ने भइरहन्छ, त्यसले अन्ततः उतिबेलाको माओवादी अर्थात अहिलेको प्रचण्डहरुको जरा काटेर त्यो आन्दोलन र त्यसका उपलव्धिहरुलाई उल्ट्याउने लामो सङ्घर्षलाई मलजल गर्ने नै हो ।

त्यसैकारण, तिमी विष पिएर वा चौतर्फी प्रहार र आक्रमणहरु झेलेर पनि देश बनाउने महायात्राबाट सकेसम्म नडगमगाउनु शारदाप्रसाद ! हो, तिमी पनि त आम एक मान्छे न हौ, उही मुटु र मस्तिष्क हो तिम्रो पनि । बस, आँट गर, एकदिन जित सत्यकै हुन्छ । तिम्रो सत्यपथ स्थापित हुने र चम्किने चाहि तिमीले लिएका ठेक्काहरु समयमा सम्पन्न गरेर स्थानीयको मन र विश्वास जितेपछि नै हो । कर्मले उदाएका तिमीले त्यति कुरा बुझेरै अघि बढ्ने नै छौं । तिमीलाई अरु कर्मवीर बन्ने ऊर्जाका लागि शुभकामना ! अग्लो रुखलाई धेरै बतासले हान्छ, तर तिमी शतीसाल झै कर्मको मैदानमा चम्किदै, लम्किदै गर, निरन्तर... निरन्तर....!  समयबद्ध साप्ताहिकबाट