मन्त्रिपरिषद् हेरफेरको तयारी, राष्ट्रपतिसँग प्रधानमन्त्री र प्रचण्डको भेट

मन्त्रिपरिषद् हेरफेरको तयारी, राष्ट्रपतिसँग प्रधानमन्त्री र प्रचण्डको भेट

काठमाण्डौ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । मंगलबार मन्त्रीहरुको छलफलमा प्रधानमन्त्रीले बुधबार मन्त्रिपरिषद हेरफेर गर्ने संकेत गरेका थिए । त्यसैअनुसार तयारी भैरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओलीले बुधबारका लागि सार्वजनिक कार्यक्रम नराख्न र काठमाण्डौ छाडेर बाहिर नजान मन्त्रीहरुलाई आग्रह पनि गरेका थिए । 
यसैबीच मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । बुधबार बिहान ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।

राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए । त्यसपछि दुवै अध्यक्ष शितलनिवास प्रस्थान गरे ।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू निकट केही मन्त्री तथा नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् । स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।

मन्त्रीबाट कसलाई हटाउने र कसलाई राख्ने भन्नेबारे दुई अध्यक्षबीच लामो समयदेखि छलफल हुँदै आएको छ । 

मन्त्रिपरिषद हेरफेरलगायतका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पनि डाकिएको छ ।