अमेरिकी दबाबका कारण तेंतीस उकोरियाली नेपाल छोडे

अमेरिकी दबाबका कारण तेंतीस उकोरियाली नेपाल छोडे

काठमाडौ । अमेरिकी दबाबका कारण नेपाल बसिआएका तेंतीस उत्तर कोरियालीले अक्टोबर ३१ अघि नेपाल छोड्न बाध्य भएका  हुन् ।  संयुक्त राष्ट्रसंघले यो साता आफ्नो अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दी सम्बन्धी प्रतिवेदनमा यस्तो जनाएको छ ।

नेपालमा सीमा विवाद चलिरहेका बेला उत्तर कोरियाली व्यवसायी र व्यक्तिहरूले नेपाल छोडेका हुन् । राष्ट्रसंघीय रिसल्युसन कार्यान्वयनका लागि नेपाल सरकारले  गरेका प्रयासबारे जनाउ दिँदै नोभेम्बर ६मा लेखिएको पत्रमा नेपालमा बसिरहेका उत्तर कोरियालीहरूको बस्न पाउने अनुमति पत्र (भिसा) अक्टोबरको अन्त्यमा सकिएको उल्लेख गरिएको छ ।

३३ जना उत्तर कोरियालीले अक्टोबर ३१,२०१९को नेपाल छोडिसकेको र अवैधरूपमा बसिरहेको पाइए तिनलाई कानुन बमोजिम कारबाही गरिने नेपालले पत्रमा उल्लेख गरेको छ ।  उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगस्ट १५मा उत्तर कोरियालीहरूले चलाउने व्यवसायिक प्रतिष्ठानलाई  ३१ अक्टोबर अगावै व्यवसाय सञ्चालन बन्द गर्न भनेको जनाइएको छ ।

नेपाल र उत्तर कोरियाबीच निकटसम्बन्ध रहेको र हालै उत्तर कोरियाले नेपालका लागि जो योङ म्यानलाई राजदूत नियुक्त गरेको थियो । उत्तर कोरियाले नेपालको जलविद्युत र कृषि उद्योगमा लगानी गर्न इच्छुक रहेको जनाएको छ ।

उत्तर कोरियाली सत्ताधारी कोरिया मजदुर पार्टी र नेपालको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीबीच सम्बन्ध विस्तार भइआएको छ ।यस्तोमा उत्तर कोरियाली विरूद्ध कारबाही गर्नेमा नेपाल अनिच्छा दर्शाउने आंशका गरिएकोमा  राष्ट्रसंघीय आर्थिक नाकाबन्दी कारबाही गराउन पहल गरेको देखिएको छ ।

अमेरिकाले नेपालमा उत्तर कोरियालीहरूको गतिविधिहरूबारे सरकारका अधिकारीहरू समक्ष असन्तुष्टि पोख्दै आएको छ ।