निर्मला प्रकरणलाई ट्विस्ट गराउने पत्रकार खेम भण्डारीलाई जेल सजाय र जरिवाना

निर्मला प्रकरणलाई ट्विस्ट गराउने पत्रकार खेम भण्डारीलाई जेल सजाय र जरिवाना

निर्मला प्रकरणलाई ट्विस्ट गराउने पत्रकार खेम भण्डारीलाई जेल सजाय र जरिवाना तिराएको छ ।  जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक रुपैयाँ जरिवान सहित एक घण्टा कारागार पठाएको हो। पत्रकार भण्डारी ३ बजेर ५५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कारागारमा छन्।

जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर गरेको थियो। मुद्दामा जिल्ला अदालतले भण्डारीविरुद्ध एक घण्टा जेल र एक रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।


विचाराधीन विषयमा अदालतलाई प्रभावित गर्ने गरी समाचार लेखेको भन्दै कञ्चनपुर जिल्ला बारले मुद्दा दायर गरेको थियो। निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणमा जोडिएका आठ प्रहरी विरुद्धको मुद्दामा हद म्याद लगायतका प्राविधिक विषयमा अदालतले एमिकस क्यूरी गठन गरेको थियो।

सो विषयलाई मानस खण्ड दैनिक पत्रिकाका सम्पादक भण्डारीले 'निर्मला हत्याकाण्डस् न्यायिक प्रक्रिया नै बिथोल्ने यस्तो डिजाइन' शीर्षकमा समाचार छापेका थिए।

समाचारमा 'एमीकसका रूपमा पठाइएका अधिवक्ता हरेन्द्रराज विष्ट अभियुक्त तथा वर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टका नातासम्बन्धी भएको दाबी गरिएको थियो। न्यायिक प्रक्रिया नै बिथोल्ने डिजाइन भएको शीर्षकमा दाबी गरिए पनि समाचारमा 'दैनिक मानसखण्डको संक्षिप्त अनुसन्धानले अधिवक्ता र पूर्व एसपी विष्ट नाता सम्बन्धमा पर्ने देखाए पनि ठोस जानकारी प्राप्त हुन सकेको छैन' लेखिएको थियो।