आसामको बेश्यालयबाट नेपाली किशोरीहरुको उद्धार

आसामको बेश्यालयबाट नेपाली किशोरीहरुको उद्धार

एजेन्सी, ३ मंसि । भारतको आसामस्थित वेश्यालयबाट सात नेपालीको किशोरीहरुको उद्धार गरिएको छ ।

लेन १४ नामबाट चिनिने आसामको सिल्चारस्थित एक कुख्यात वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दार गरिएकी एक नेपाली किशोरीको मद्दतले अन्य सातजनाको उद्दार गर्न सकिएको हो ।

नेपालमा स्थापना भएको गैर नाफामुलक संगठन, शक्ति समूहको नेतृत्वमा ती युवतीहरुको उद्धार भएको हो । शक्ति समूह गत आइतबार कछार पुलिससहित सिल्चार पुगेको थियो र सोमबार बेलुकी अभियान चलाएको थियो ।

उद्दार गरिएका सातजनामध्ये चारजना नाबालिग थिए भने अन्य तीनजना २० वर्ष मुनिका थिए । समाचारमा जनाइए अनुसार जुलाई १४ तारिखमा एक किशोरीको उद्धार गरिएपछि यो वेश्यालयमा छट्पटाइरहेका उनीहरुलाई उद्धार गर्न सम्भव भएको हो । ‘उनीहरुलाई वेश्यावृत्तिमा धकेल्ने नेपाली महिला लक्ष्मी तामाङलाई पनि पक्राउ गरिएको छ ।

‘यी सबै सातजनामध्ये कतिलाई राम्रो काम दिलाउने प्रलोभन देखाइएको थियो भने कतिलाई राम्रो श्रीमान पाउने आशा दिलाइएको जनाइएको छ ।
यसबारे नेपाली दूतावासमा जानकारी दिइसकेको र मंगलबार सिल्चार अदालतमा पेश गराएपछि उनीहरुलाई नेपाल फिर्ता लैजाने उल्लेख छ ।