अबको १५ दिनभित्र राजधानी टुङ्ग्याउँछु: मुख्यमन्त्री पौडेल

 अबको १५ दिनभित्र राजधानी टुङ्ग्याउँछु: मुख्यमन्त्री पौडेल

काठमाडौं, २९ कात्तिक। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् । आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले भने,“राजधानी र नामकरणको विषयको चर्चा धेरै भयो, अबको १५ दिनभित्र टुङ्ग्याउँछ ।’ कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उनले आग्रह गरे । ‘देश ऋण र अनुदानबाट होइन, जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ”, मुख्यमन्त्री पौडेलले भने, “कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ ।” उनले भने, “जनताले तिरेको कर सदुपयोग भएको छ कि छैन, त्यो जनताको अधिकार हो, त्यसमा सजग र सतर्क हुनुपर्छ ।”

सिस्नुपानी नेपालले सरकारको करमैत्री कार्यक्रममार्फत सहयोग गरेको काम सराहनीय भएकोमा मुख्यमन्त्री पौडेलले प्रशंसा गरे । आन्तरिक राजश्व कार्यालय हेटौँडाका प्रमुख सन्तबहादुर ढकालको सभाध्यक्षतामा भएको सो कार्यक्रममा कलाकार मनोज गजुरेल, धीरेन्द्र प्रेमर्षिलगायतले कर तिर्ने सम्बन्धमा मनोजञ्जनात्मक प्रस्तुति दिएका थिए । रासस