'रफु मास्टर' को खारेजी

'रफु मास्टर' को खारेजी

साइँला भाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले एक विहानै सचिवालयको बैठक बोलाएर भने, ‘अव रफु मास्टरले विदा लिने बेला भयो ।’ धेरैले ओलीको कुरोको चुरो भेउ नै पाएनन । सबैजना मुखामुख गर्दै एक अर्का पट्टी फर्किए । यतिकैमा राजनैतिक सल्लाहकार विश्णु रिमालले थोरै कुरा बुझे जस्तो गरी मुण्टो बटारे ।

रिमालले मुख वाक्यबाट केहि भन्दा अलगथलग कुरा हुने भएकोले छटाकको जिब्रो पड्काएर पुन विवादमा पर्नु भन्दा धार्नीको टाउको हल्लाउनु नै उचित ठाने । यसै त ओलीले भिजन मिसन मिलाएर परम्परागत उखानमार्फत राष्ट्रिय राजनीतिलाइ प्रभावित गर्ने गर्छन । सचिवालयको बैठकमा पनि उनले पाल्सी भाकामा भने ‘रफु मास्टर’ । अब यो रफु मास्टर कोहो भन्ने जिज्ञास खडा भयो । रफुमास्टरको पहिचान गर्नु सचिवालयका सदस्यलाइ हम्मेहम्मे परिरहेको थियो । निजामति हुन कि जंगी हुन ? राजनैतिक नियुक्ति पाएका अस्थाइ हुन कि करार हुन कुराको छेउ छन्द आएको थिएन । ओलीले पनि रिमाल प्रति इशारा गर्दै बुझाउन संकेत गरे ।

सचिवालयको बैठक बस्यो विश्णु रिमालको अध्यक्षतामा । डा. राजन भट्टराइ, डा. कुन्दन अर्याल, अच्युत मैनाली, अस्कर अलि, चेतन अधिकारी, इन्द्र भण्डारी, रामशरण बजगाइलगायत १३ जना प्रधानमन्त्रीका एक से बढकर एक सल्लाहकार उपस्थित हुँदै गए । बैठकको कार्यसूची थियो ‘रफु मास्टरको पहिचान गर्ने’ र पहिचान गरिसकेपछि त्यस अनुसार कार्यान्वयन गर्ने । 

बैठक शुरु भयो । तर्कतरंग चल्यो । आखिर को हुन त रफु मास्टर ? सबैले आआफ्नो तर्क प्रस्तुत गरे । डा. राजन भट्टराइले रफु मास्टर प्रधान मन्त्री सचिवालय भित्रै रहेको र नीजहरुले नै विदावारी लिनु पर्ने जिकिर गरे । उनले पनि रफु मास्टर को हो भनी पहिचान दिन सकेनन् । 

डा. कुन्दन अर्यालको पालो आयो । उनले पत्रकारिताको भाकामा लम्बेतान रफु मास्टरको पृष्ठभूमि खेलाए । रफु मास्टर बारे ‘हार्ड न्यूज’, ‘सफ्ट न्युज’, ‘एक्सक्लुसिव न्यूज’ बनाएर हेरे । यसरी सबै शब्द चित्रहरु पावर प्वाइण्टमा देखाए । उल्टो पिरामिड आकारमा रफु मास्टरको पहिचान दिने कोसिस गरे । सुल्टो पिरामिड आकारमा रफु मास्टरलाइ चिनाउने कोसीस गरे । त्यतिले नपुगेर ‘फिचर’ आलेख लेखे । तर, उनको लेखोट अनुसन्धानले पनि रफु मास्टरको खुट पहिचान दिन नसकेको ठहर भयो । अनि झर्किदै भने, ‘म बाहेक सचिवालयका सबै रफु मास्टर हुन ।’ अर्यालको मपाँइवादी कुरा सुनेपछि होहल्ला बढ्यो । आपफ्नो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रा देख्ने पत्रकारको बानी गएको रहेनछ भनी टिप्पणी हुन थाल्यो । यतिकैमा रिमालले फेरी ट्रेड युनियन अनुशासन लगाएर बैठलाइ शान्त र ठण्डा बनाए । 

जोरजोर डाक्टरले पनि रफु मास्टरको शल्यक्रिया गर्न नसके पछि वाँकी उपस्थित अन्य नन् डाक्टरहरुको भेजोले भेटने पनि कुरो भएन । बैठक रफु मास्टरको पहिचानमा व्यस्त रहँदै गयो । अन्ततः रफु मास्टर पहिचान गर्न, अनुसन्धान गर्न अरुलाई सहज होस भनिकन सामुहिक राजिनामा दिने प्रबन्ध मिलाए ।

रफु मास्टरको कथा:

रफु मास्टरको कथा भने निकै रोचक छ । उहिले नै उहिले धेरै नै पहिले एका देशमा एक जना गफाडि बादशाह रहेछन् । उनको गफलाइ प्रजाहरुले पत्याउन छोडि सकेका रहेछन् । उनले आफ्नो कुरो जनताले पत्याउन छाडेकोमा निकै पीर परेछ । यसरी आफ्नो कुरा पत्याउने बनाउन उनले लुगा टालटुल गरेजस्तो कुरो टालटुल गर्ने रफु मास्टरलाइ दरबारमा जागिर दिएछन् । तिनले बादशाहको उट्पट्याङ कुरालाई रफु गरेर जनतामा प्रेषित गर्दा रहेछन् ।

एक दिन बादशाहले एकदमै उटपट्याङ तर्क गरेपछि जनताले पत्याइ दिएन छन् । बादशाहले रफु मास्टरलाई बोलाएर आफुले भनेको कुरो रफु गरेर ठीकठाक गर्न आदेश दिएछन । रफु मास्टरले बादशाहको कुरो रफु गर्ने ठाउँ पाएनछन र भनेछन्, ‘सरकार अवकाश पाउँ ।’ बादशाहले किन अवकाश खोजेको भनी सोधेछन । रफु मास्टरले भनेछन, ‘सरकार उद्रेकोसम्म रफु गर्दा हुन्छ । हजुरको अहिलेको कुरामा भ्वाँङ नै परिसकेकको छ । भ्वाङ परेको रफु गर्न मिल्दैन । टालेको देखि हाल्छ ।’

सिस्नोपानीले देउसीमा उठाएको कुरा, तुहिन, रेल, पानी जहाज, माक्सरहीत काठमाण्डौको आँखोदेखा हाल देखेर ओली रफु मास्टरहरुसंग फायर हुँदै गए हुनन् । र, यो फायरिङ गरेका हुनसक्छन ।
तर यहाँ भने ठीक उल्टो भएको छ । वास्तवमा रफु मास्टर भनेको सल्लाकार नै हुन । उतिबेला बादशाहको कुरो टालटुल (रफु) गर्न पर्दथ्यो । यतिबेला सरकारका कार्यकारीहरुको कुरो टालटुल गर्ने काम नै हो । यो टालटुल गर्न नसक्ता उहिले रफु मास्टर (सल्लाहकार) ले राजिनामा दिनु पर्दथ्यो ।

अन्त्यमा प्रधानमन्त्रीले नै पाल्सी भाकामा रफु मास्टरहरुलाई राजिनामा गर्न आदेश गरे । त्यहि आदेशको पालना गर्दै रफु मास्टरहरुले राजिनामा गरेका छन् । तर मंसीर १ गतेदखि लागु हुने गरी राजिनामा दिनुको अर्थ चैं यो शल्य चिकित्सकले पनि थाहा पाएन । कात्तिकबाटै लागु हुने गरी भन्दा कात्तिके नाम आउने हुनाले मंसीर पु¥याएको पनि हुन सक्छ । यसैपनि नेपाली राजनितिमा कात्तिके र चैते शब्दको अर्थ बढो ननिको छ ।