शारदामाथिको प्रहार, माओवादीविरुद्धको निशाना

शारदामाथिको प्रहार, माओवादीविरुद्धको निशाना

काठमाडौं, २७ कात्तिक । कमलविनायक–नगरकोट सडक समयमै निर्माण नगरेको बहानामा राजनीति सुरु भएको छ ।

यो खण्डको ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीलाई देखाएर यसको तीरचाहिँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर साँधिएको अनुभूत भएको छ । उनलाई प्रचण्डको ‘घरबेटी’ भनेर लगातार लखेटिएको छ । आफूविरुद्ध मुख्यतः एउटा अनलाइनले नियोजित र एकोहोरा रुपमा सामग्री प्रवाह गरिरहेको शारदा अधिकारी बताउँछन् । 

‘ठेक्का एउटा निर्माण कम्पनीलाई परे पनि त्यसलाई समयमै सम्पन्न गर्न विभिन्न पक्षको भूमिका निर्णायक हुन्छ’, अधिकारीले भने, ‘नगरकोट–कमल विनायक खण्ड निर्माणको टेण्डर शैलुङ कन्स्ट्रशन र एउटा भारतीय निर्माण कम्पनीलाई परेको हो । त्यो पनि छाडिदिऔं, सम्झौता भएको झण्डै ३ वर्षसम्म सडक विस्तार गर्नुपर्ने स्थानका रुख काट्ने र विजुलीका पोल हटाउने जिम्मा नेपाल सरकारकै निकायबाट पुरा हुन सकेन । सरकारले नै गर्नुपर्ने वा अनुमति दिनुपर्ने रुख कटान र पोल हटाउने काम समयमै हुन नसकेपछि हामीले सडक निर्माणको काम सुरु गरे पनि त्यसले पूर्णता पाउने कुरै भएन । टेण्डरमा तोकिएको मापदण्डभन्दा बाहिर रहेर सडक बनाउने कुरा पनि भएन । मापदण्ड पूरा गर्ने गरी सडक बनाउन रुख काट्ने र पोल सार्ने काम हुनैपथ्र्यो ।’

स्थानीय, यात्रु तथा पर्यटकले समस्या झेल्नु परे पनि त्यसलाई अतिरञ्जित ढंगले केही मिडियाले राजनीतिक रङ दिन खोजेको देखिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरबेटी भन्दै शैलुङ कन्स्ट्रशनका अध्यक्ष शारदा अधिकारीसँग जोड्नु राजनीति नै हो । प्रचण्डले शारदा अधिकारीलाई ठेकेदार बनाएका पनि होइनन्, ठेक्का दिलाएका पनि होइनन् । शारदा अधिकारीले भने अनुसार सरकारकै अर्को निकायले समयमै पोल हटाउने र रुख काट्ने काम नगरेकाले सो खण्डको सडक निर्माणमा ढिला भएको हो । अझ केही स्थानीयले सडक निर्माणका क्रममा पूरा गर्नै नसकिने माग राखेर दुःख दिएको तथा केही पत्रकारले ‘बार्गेनिङ’ गरेको शैलुङ कन्स्ट्रक्शनले जनाएको छ ।

कन्स्ट्रशनका निर्देशक रमेश सुवेदीले भने, ‘ हाम्रो मात्रै कारणले यो खण्डको सडक निर्माणमा ढिलाइ भएको होइन । त्यसमा थुप्रै फ्याक्टर छन् । २०२० अप्रिलसम्म काम सक्ने गरी हामी जुटिरहेका बेला जुन ढंगले अहिले विरोध गरियो, त्यसले काम गर्ने जाँगर नै मरेको छ । तैपनि हामी आफ्नो दायित्व त पूरा गर्छौं नै ।’