मोदीले आलोचना गर्ने पत्रकारको अधिकार खोसे

मोदीले आलोचना गर्ने पत्रकारको अधिकार  खोसे

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आलोचना गर्ने पत्रकारलाई दिइएको अधिकार खोस्न लगाएका छन् ।

बेलायतमा जन्मेका लेखक आतिश अली तासीरलाई तेस्रो मुलुकमा जन्मेका नागरिकको अधिकार ‘ओभरसिज सिटिजन अफ इन्डिया’ (ओसीआई) कार्डलाई मोदीले खारेज गर्न लगाएका हुन् ।

भारतको गृह मन्त्रालयले आलोचनाको प्रतिशोध लिने विषयलाई ढाकछोप गर्न तासीरले आफ्नो पिता पाकिस्तानी मूलको भएको लुकाएको जनाएको छ ।

आतिश तासीरले सम्पन्न लोकसभा चुनावका बेला प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका ‘टाइम’मा प्रधानमंत्री मोदीको आलोचना गर्दै एक आलेख लेखेका थिए । ‘डिभाइडर–इन–चीफ’ शीर्षकको आलेख लेखेका कारण तासीरको ओसीआई कार्ड रद्द  गरिएको हो ।

भारतको गृह मन्त्रालयका एक प्रवक्ताले  नागरिकता अधिनियम १९५५ अनुसार  तासीर ओसीआई कार्डका लागि अयोग्य  भएको बताए । प्रवक्ताका अनुसार माता–पिता वा हजुरबा हजुर आमा पाकिस्तानी हुने व्यक्तिलाई ओसीआई कार्ड नदिने गरिएको हुँदा उनी अयोग्य भएका हुन् ।

तासीर पाकिस्तानका दिवंगत नेता सलमान तासीर र भारतीय पत्रकार तवलीन सिंहका छोरा हुन् । यसअघि ७ नोभेम्बर ‘द पिन्ट’ले ‘टाइम’ पत्रिकामा प्रकाशित आलेखका लागि भारत  सरकारले आतिश तासीरको  ओसीआई कार्ड रद्द गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो ।

प्रवक्ताले यो आरोपलाई अस्वीकार गरी विवरण लुकाएको तर्क अगाडि सारेका छन् । यस विषयमा गृह मन्त्रालयका प्रवक्ताले ट्विट गरी आतिश तासीरलाई आफ्नो पक्ष प्रस्तुत गर्न समय दिइएको भएपनि यसबारे जानकारी नदिएकाले कार्ड रद्द गरिएको जनाएका छन् ।

प्रवक्ताको यो ट्विटको जवाफमा तासीरले २१ दिनको समय दिनुपर्नेमा २४ घन्टाको समय दिइएको बताएका  छन् । तासीरको यो जवाफ पछि मन्त्रालयले मौन  बसेको छ ।