नेकपाको सचिवालय बैठकः केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा

नेकपाको सचिवालय बैठकः केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा

काठमाण्डौ, २५ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले एकीकरणको बाँकी काम मध्ये विभिन्न तीन वटा आयोगको नेतृत्व टुंगो लगाएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक रोकायलाई चयन गरेको हो ।

यस्तै केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडैल तथा लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् । 

बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई चयन गरिएको जानकारी दिए । 

यस्तै बैठकले जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन गरेको छ । सोमबार आयोग र अन्य दुई वटा समितिको बारेमा निर्णय गरिएको भए पनि एकीकरणको बाँकी काम आगामी बस्ने बैठकले टुंगो लगाउने प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुने भनिएको भए पनि त्यसबारेमा भने सोमबारको बैठकमा छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए ।