बोलिभियामा अमेरिकी समर्थकद्वारा सत्ता कब्जा

बोलिभियामा अमेरिकी समर्थकद्वारा सत्ता कब्जा


काठमाडौ । अमेरिकी समर्थक प्रतिपक्षी समूहको नेतृत्वमा भएको हिंसात्मक आन्दोलनमा रक्तपात हुन नदिनका लागि बोलिभियाली सेनाले त्यहाँका राष्ट्रपति इभो मोराल्सलाई पदबाट राजीनामा गर्न भने  लगत्तै उनले राजीनामा दिएका छन् ।

राष्ट्रपति मोराल्सले टेलिभिजन सम्बोधनमा आफूले राजीनामा दिएको जनाएका छन् । आफ्नो बहिर्गमनले देशको भलो हुने र हिंसात्मक आक्रमण रोकिने विश्वासका साथ यो राजीनामा दिने निर्णय गरेको उनले जनाए । आदिवासी जनजातिको नेताका घरपरिवारमा आगो लगाउने र तिनका परिवारको अपहरण गर्ने जस्तो हिंसात्मक प्रदर्शन रोकिने विश्वासका साथ राजीनामा दिन लागेको उनले जनाए ।

पहिलो आदिवासी जनजातिको तर्फबाट राष्ट्रपति पदमा निर्वाचित भएको मोराल्सलाई पदच्युट गराउन अमेरिकी समर्थक प्रतिपक्षीले त्यहाँ आन्दोलन तीव्र बनाएर हिंसात्मक गतिविधि तीव्र पारेको र सेनाको तर्फबाट मोराल्सलाई सहयोग नमिलेपछि पदबाट राजीनामा दिएका हुन् ।

मोराल्सको राजीनामा लगत्तै उपराष्ट्रपति अल्भारो मार्सेलो गार्सिया लिनेराको पनि राजीनामा आएको हो । राजीनामा गर्न अघि मोराल्सले निर्वाचन गराउने घोषणा गरेका थिए । अक्टोबर २०को निर्वाचन परिणामप्रति विवाद बढेपछि पछि उनले निर्वाचन गराउने घोषणा गरेका थिए । मोराल्सले १० प्रतिशतको अग्रता लिएका थिए ।

बोलिभियाको प्रतिपक्षीले मोराल्सललाई नयाँ निर्वाचनमा जानु भन्दा राजीनामा गर्न भनेका थिए । निर्वाचन गरेपछि मोराल्स विमानबाट आफ्नो गृहक्षेत्र पुगेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
मोराल्सले सन् २००६देखि सत्तामा बसिआएका थिए ।

समाजवादी विचारका कट्टर पक्षपाती राष्ट्रपति मोराल्स अमेरिकी विदेशनीतिका कठोर आलोचक रही आएका थिए । बोलिभियाको सर्वोच्च अदालतले उनलाई चौथो पटक निर्वाचनमा लड्न पाउने आदेश दिएको थियो ।
अमेरिकी समर्थक प्रतिपक्षीले उनको विरूद्ध हिंसात्मक प्रदर्शन गर्न थालेका थिए ।

राजीनामा दिएपछि मोराल्सले भने “ मैले राजीनामा दिँदैमा समाजवाद पराजित भएको अर्थ लाग्दैन् । यो धोका होइन । संघर्ष जारी छ ।”