वीरगञ्जमा नेपाली चलचित्रको स्वर्णिम महोत्सव

वीरगञ्जमा नेपाली चलचित्रको स्वर्णिम महोत्सव
वीरगञ्जमा नेपाली चलचित्रको स्वर्णिम महोत्सव

वीरगञ्ज, २२ कात्तिक । सीमावर्ती सहर वीरगन्जमा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवमा नेपाली र भारतीय कलाकार सहभागी भएका छन्। नेपाली चलचित्र निर्माण हुन थालेको ५३ वर्ष पूरा भएको अवसरमा प्रदेश नम्बर २ मा विशेष कार्यक्रम आयोजना भएको हो ।

महोत्सवमा नेपाल र विदेशका कलाकारको सहभागिता रहने बताइएको छ ।

महोत्सवको माध्यमबाट वीरगन्ज र प्रदेश नम्बर २ मा पर्यटनको सम्भाव्यता उजागर हुने विश्वास लिइएको आयोजकहरूले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार महोत्सवको उद्घाटन गरिन्। उनले समाजका विकृति तथा विसङ्गति अन्त्य गर्न चलचित्र क्षेत्रले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिन्।

सो अवसरमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वदेशी चलचित्रभन्दा विदेशी चलचित्रप्रति आकर्षण र अपेक्षा बढी राख्ने गरिएको भन्दै नेपाली चलचित्रमा लगानी बढाउन आवश्यक रहेको बताए । 
वीरगन्जका सडकमा र कार्यक्रमस्थलनजिकै नेपाली तथा विदेशी कलाकारका पोस्टरहरू आकर्षक रूपमा सजाइएको छ। महोत्सवस्थलमा स्थानीय संस्कृति र परिवेश झल्किनेगरी बयलगाडा, रिक्सा , टाँगा, टेम्पो आदि विभिन्न सामग्री राखिएको छ ।

आयोजकहरूले यसलाई तराई, पहाड र हिमालको उत्सव भनेका छन्। नेपाल चलचित्र निर्माता सङ्घका उपाध्यक्ष एवम् महोत्सव तयारी समितिका संयोजक विमल पौडेलका अनुसार नेपालका सबै भेगका संस्कृति जोड्ने र राष्ट्रिय एकता कायम गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।

वीरगन्ज महानगरका प्रमुख विजय सरावगीले महोत्सवले तराई (मधेश) को कला, भाषा र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग गर्ने र नेपाली चलचित्रमा प्रायस् नसमेटिने स्थानीय कलाकारको कलाले पनि प्राथमिकता पाउने विश्वास व्यक्त गरेका छन्।

महोत्सवको पहिलो दिन भारतीय अभिनेता गोविन्दा विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए। बीबीसीबाट