नेपालमा उत्पादित विद्युत भारत र बंगलादेशमा बेच्न सहमति: उर्जा मन्त्री पुन

नेपालमा उत्पादित विद्युत भारत र बंगलादेशमा बेच्न सहमति: उर्जा मन्त्री पुन

दाङ, २२ कात्तिक । ऊर्जा मन्त्री वर्षमान पुनले नेपालमा उत्पादित विद्युत भारतीय बजारमा बेच्न भारत सरकारसँग सहमति भइसकेको बताएका छन् । प्रेस संगठन नेपाल दाङले शुक्रबार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय  बजारमा  नेपालमा उत्पादित विद्युतको व्यापार गरिने बताए ।

नेपालमा खपत भएर बचेको विद्युत भारत र बंगलादेशसम्म लगेर बेच्ने योजनामा सरकारले गृहकार्य गरेको र त्यसका लागि नेपाल, भारत र बंगलादेशबीच तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।विदेशी लगानी नेपालको विद्युत उत्पादनमा ल्याउने गरी सरकारले ७ हजार मेघावाट विद्युत उत्पादनको लाइसेन्स दिएको र तीन वर्षमा तीन हजार,  पाँच वर्षमा पाँच हजार र आगामी १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले काम गरिरहेको बताए । 

बर्तमान सरकारले उर्जा उत्पादनको क्षेत्रमा क्रान्ति नै गरेको दाबी गर्दै ऊर्जा मन्त्री पुनले आगामी वर्ष १ हजार मेघावाट विद्युत केन्द्रीय विद्युत लाइनमा जडान गरिने बताए। अर्को वर्षदेखि देशमा विद्युत खपत गरेर बचेको भारत र बंगलादेशसम्म बेच्न सक्षम हुने उनको दाबी छ ।