बाबुरामले लेखेः सरकारको इँजार फुस्क्यो है !

बाबुरामले  लेखेः सरकारको इँजार फुस्क्यो है !

काठमाडौं, २१ कात्तिक । तत्कालिन नेकपा (माओवादी) पार्टीमा छँदा भारत परस्त भनेर आलोचित समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यतिबेला भारतले नेपाली भूभाग माथि हैकमवाद लादेकोमा बिरोध जनाएका छन् । उनले कालापानी, लिपूलेक क्षेत्र नेपालको भएको तथ्य प्रस्तुत गरेका छन् । 

नयाँ नक्सा सार्वजनिक गर्ने भारतको कदम स्वाभिमानी नेपालीलाई सह्य नहुने डा. भट्टराईले उल्लेख गर्दै नेपाल सरकारको कदमको पनि आलोचना गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, लिम्पियाधुराबाट निस्कने महाकाली नदी नेपालको पश्चिमी सीमा भएको सुगौलीसन्धीबाट स्थापित ध्रुवसत्य हो,’ ‘त्यसभन्दा पूर्वका कालापानी, लिपूलेक क्षेत्र स्वतः नेपालका अविभाज्य भूभाग हुन् ।

भट्टराईले राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएर गल्ती गरेको पनि उल्लेख गरेका छन् । ‘परन्तु आफुलाई बढी ‘राष्ट्रवादी’ ठान्ने राजा महेन्द्रले त्यहाँ भारतीय सैनिक राख्न दिएदेखि उठेको विवाद हल गर्न बनेको संयन्त्रले काम पूरा नगर्दै भारत सरकारले एकपक्षीय रूपमा सो क्षेत्र समेटेर नक्सा जारी गर्नु कुनै पनि स्वाभिमानी नेपालीलाई सह्य हुनसक्दैन,’ उनले भनेका छन् ।

भट्टराईले नेपालप्रति आवश्यक उदारता नदेखाएको निष्कर्षसहित भनेका छन्, ‘ठूलो आकारको छिमेकी देश हुनाले उसले नै यस मामिलामा बढी उदारता देखाउनुपर्ने हो । वार्ताद्वारा सत्यतथ्यका आधारमा शीघ्र यो समस्या हल होस् ।’

भारतीय कदमपछि नेपाल सरकारले जारी गरेको बेनामे पत्रको पनि उनले आलोचना गरेका छन् ।

‘चरम ‘राष्ट्रवाद’को डंका पिटेर दुईतिहाई पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ?,’ भट्टराईले प्रश्न गर्दै भनेका छन्, ‘के त्यो हस्ताक्षर हो ? हात (वा आँतरु) किन काँपेको होला? अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !’