अमेरिकी षडयन्त्रकारीलाई छिर्न नदिएपछिको तुस हो आतंकवादी प्रतिवेदन

अमेरिकी षडयन्त्रकारीलाई छिर्न नदिएपछिको तुस हो आतंकवादी प्रतिवेदन

काठमाडौ । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका अधिकारीहरूले अमेरिकी षडयन्त्रकारी छिर्न नपाएकाले उसले विमानस्थलको सुरक्षा व्यवस्था कमजोर भएको आरोप लगाएको बताएका छन् ।

अमेरिकाको विदेश विभागले त्रिभुवन विमानस्थलको कमजोर सुरक्षा व्यवस्थाका कारण इन्डियन मुजाहिदीनले नेपाललाई आफ्नो अड्डा बनाएको आरोपसहितको आंतकवादसम्बन्धी प्रतिवेदन २०१८ सार्वजनिक भएकोमा आपात्ति जनाउँदै नेपाल सरकारको गृहमन्त्रालय विरोध जनाएको छ ।

यसैक्रममा त्रिुभवन विमानस्थलका अधिकारीहले नाम नखुलाउने शर्तमा भने अमेरिकी राहदानीमा आएका तिब्बती विरोधी गतिविधिमा संलग्न लगायतका संदिग्ध व्यक्तिहरूलाई राजधानी प्रवेश गर्न नदिइ फिर्ता पठाएको विरोधमा अमेरिकीहरूले यस्तो आरोप लगाएको हुन सक्ने बताएका छन् ।

विद्यमान सरकारले एक चीन नीतिको मान्यतालाई कडाइका साथ पालना गरेकाले अमेरिकी नियोगका अधिकारीहरू क्रुद्ध भएका छन् । त्रिभुवन विमानस्थलबाट केही महिना अघि तिब्बत विरोधी अभियानमा संलग्न व्यक्ति नेपाल छिर्न नपाएपछि नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरू रिसाएको समाचारहरू सार्वजनिक भएका थिए ।

अमेरिकी अधिकारीहरूले परराष्ट्रका अधिकारीहरूले भेटेर विमानस्थलबाट छिर्न नदिएको विषय लगायत अमेरिकी हितमा आफ्नो कुटनीतिक पहल अगाडि बढाएका थिए ।

उनीहरूले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका बेला तिब्बत विरोधी अभियान चर्काउन ठूलै कसरत गरेकोमा त्यसो सफल हुन नसकेकोमा यस्तो चालबाजी गरेको हुन सक्ने ती अधिकारीहरूको बुझाइ छ ।

गृहमन्त्रालयका अधिकारीहरूका अनुसार त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था दुरूस्त रहेको छ । कुनै पनि देश विरोध नेपालमा हुने गतिविधि हुन नदिने र त्यस्ता गतिविधि गराउन सक्ने संदिग्ध व्यक्तिको आगमनमा पहिचान गर्न सक्ने र फिर्ता पठाउन सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको उनीहरूले जनाएका छन् ।