क्षमताभन्दा बढी भारका सवारी साधन गुड्न थाले

क्षमताभन्दा बढी भारका सवारी साधन गुड्न थाले

–ज्ञानेन्द्र न्यौपाने

बेत्रावती, कालिकास्थान धुञ्चे स्याफ्रुबेँसी खण्डमा सडकको क्षमताभन्दा बढी सामान राखी  मालवाहक ट्रक गुढाउने गरेका कारण रसुवा क्षेत्रको पासाङल्हामु राजमार्ग जीर्ण बन्दै गएको छ ।

बीस टनभन्दा बढी भार बोक्ने १२ चक्के ट्रक बढी मात्रामा गुडाउने गरेका कारण राम्चेदेखि ग्राङ, मूलखर्क, फुलखर्क बाकेझुण्डा, व्रावलभिर, खोपाङ सानु भार्खुलगायत अधिकांश सडक सतहका भागमा बढी खाल्टाखुल्टी पर्नाका साथै छेउका भागसमेत दबिँदै जान थालेको स्थानीयवासीले बताएका छन् ।

सडकको अवस्था जीर्ण हुँदै गएको र राजमार्ग सुधारका लागि प्राप्त बजेट तथा आफ्नो कार्यालयमा रहेका स्रोतसाधनको अधिकतम प्रयोग भइरहेको बताउँदै रसुवा क्षेत्रको राजमार्ग हेर्ने सडक प्राविधिक इन्जिनीयर सरोज कडरियाले सडकको भार बहन क्षमता १५ टनभन्दा बढीको नभएको उनले बताए । बढी भार बोक्ने मालवाहक ट्रक कन्टेनर रोक्न सक्ने सडक कार्यालयको मात्र क्षमता नभएको इन्जिनीयर कडरियाले जानकारी दिए ।

बर्सातका कारण गत साउन–भदौको समयमा नेपाल–चीनबीचको व्यापार–व्यवसाय अभिवृद्वि गर्ने पासाङल्हामु राजमार्गको स्याफ्रुदेखि राम्चेसम्मका असहज स्थानमा डिभिजन सडक कार्यालय नुवाकोट र गोसाइँकुण्ड गाउँपालिका रसुवाको सहकार्यमा ग्राभेल राखी सडक सतह मिलाउन रोलार मेशिनसमेत प्रयोग गर्ने कार्य योजनाअनुरूप सडक विभागको हेभी इक्विपमेन्ट विभागसँग रोलार माग भइसकेको इन्जिनीयर कडरियाले बताए ।

ग्राभेल बिच्छ्याई रोलारले सडक सतह पेलेपछि धुलो उडे पनि सवारी साधन गुडाउन कालोपत्र सरहको सहज हुने चालकहरूले बताएका छन् । यस वर्षभरि वर्षा हुँदा सडक सतहमा राखिएको माटोसमेत बगाई सडक सतह कतै होचो कतै अग्लो भएको र बर्सात हटेको एक महिनाभन्दा बढी समय बितेपछि मात्र ग्राभेलको प्रक्रिया अगाडि बढेको जनाइएको छ ।

सडक सतह नमिल्दा यात्रा असहज र कहिले कुना कहिले छेउतर्फ ढलमल तरिकाले गुड्दा एकातिर दुर्घटना हुन्छ कि भन्ने डर, अर्कोतर्फ बसको सिटमा बसे पनि दिनभर उफ्रिएको भरमा गन्तव्य पुग्दा बेलुका बढी थकान हुने गरेको यात्रुहरूबाट गुनासो बढेको पाइएको छ ।   

पासाङल्हामु राजमार्गको बेत्रावतीदेखि स्याउबारी डाँडासम्म सहज भए पनि स्याउबारी, राम्चे, धुञ्चेको व्रावलभिर तथा खोपाङभिर बढी जोखिम  बन्दै गएको छ । बर्खायामको हिलो र पहिरो व्यवस्थापनका लागि  नेपाली सेना लगायतका सुरक्षा निकायले योगदान गरेका छन् । -RSS