अमेरिकी ‘इण्डो प्यासिफिक’ रणनीतिमा प्रधानमन्त्री ओली 

अमेरिकी ‘इण्डो प्यासिफिक’ रणनीतिमा प्रधानमन्त्री ओली 

अर्जुन ज्ञवाली

२३ वर्षपछि संसारकै शक्तिशाली चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले काठमाडौंमात्र होइन, विश्व राजनीतिलाई तरङ्गित बनाएको छ । काठमाडौंबाट राष्ट्रपति सी चिनफिङले पश्चिमाहरुलाई दिएको कडा चेतावनी पश्चिमी राष्ट्रहरुको समाचारको केन्द्र बनेको छ । सत्तारुढ नेकपाको पूर्वएमालेभित्रको एउटा पक्ष र स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको भित्री इच्छा विपरीत बाध्यताबश स्वीकार्नुपर्ने अवस्थामा चिनियाँ राष्ट्रपतिको भ्रमण भएको थियो । यसका आधारहरु खुल्लारुपमा देखिएका छन् । हुन त पूर्व एमालेभित्रको एउटा पक्ष पश्चिमी क्रिश्चियन एनजीओ र आईएनजीओको विशाल सञ्जाल बनाउन सक्रिय रहेको सबैलाई जानकारी भएकै विषय हो ।

नम्बर एक

विगतमा शेरबहादुर देउवा र प्रचण्डको गठबन्धन सरकारको समयमा प्रचण्डले शेरबहादुरलाई सत्ता हस्तान्तरण गर्नुपूर्व बीआरआईको सम्झौता गर्दै थिए । तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महराले आफ्नो चीन भ्रमणका क्रममा यस विषयमा चिनियाँ पक्षसँग सहमति जनाइसकेका थिए । यो सम्झौतालाई रोक्न तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमार्फत् सर्वोच्च अदालतलाई प्रयोग गर्दै सत्ता उल्टाउने प्रयत्न भएको थाहा पाएपछि सुशीला कार्कीलाई सरकारले कार्वाही ग¥यो । अन्ततः प्रचण्डले बीआरआईमा हस्ताक्षर गरे । सुशीला कार्कीको पक्षमा उभिएर केपी ओलीले अभियान नै चलाए ।

नम्बर दुुई

एमाले र माओवादी केन्द्रबीचको चुनावी सहकार्य तथा पार्टी एकीकरणपश्चात् चीनसँगका सम्झौता कार्यान्वयनमा तीब्रता आउने अपेक्षा नेपाली जनता र स्वयम् चिनियाँ सरकारले पनि गरेको थियो । तर, त्यसविपरीत १ डिसेम्बर २०१८ (विसं २०७५) मा चीनसँगका सम्झौतालाई बेवास्ता गर्दै पूर्व नेकपा (एमाले) को एउटा पक्ष र स्वयम् प्रधानमन्त्री केपी ओली एसिया प्यासिफिक पिस समिटको नाममा बदनाम अमेरिकन हतियार माफिया सनम्योङ मुनकी श्रीमती जिसस क्राइष्टकी छोरी भन्दै प्रचारित दक्षिण कोरियाली क्रिश्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फेडरेशनकी प्रमुख सिन ओक जुलाइ नेपालमा बदनाम होली वाइन सम्मेलनको अतिथि बनिन । 
सीआईएको गुरुयोजनामा इण्डोप्यासिफिक रणनीतिअन्तर्गत धार्मिक तथा साँस्कृतिक अतिक्रमणको उद्देश्यसहितको सम्मेलन गरियो । प्रधानमन्त्री केपी ओली र पूर्वएमालेको एक पङ्क्ति र स्वयम् सरकारको संलग्नता चीनलाई रोक्ने इण्डो–अमेरिकी रणनीतिअन्तर्गत गरिएको थियो । जुन कार्यक्रम अत्यन्त बदनाम पनि भयो ।

नम्बर तीन

होली वाइन कार्यक्रमपश्चात् आश्चर्यजनकरुपमा प्रधानमन्त्री केपी ओलीको भित्री पहलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १७ वर्षपछि विदेशमन्त्री स्तरीय अमेरिकाको भ्रमण गरे । अमेरिकी परराष्ट्रमन्त्री माइक पेम्पिओले प्रदीप ज्ञवालीसँगको भेटलाई साझेदारी सम्बन्ध नजिकिएको भने । तत्कालै अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता रोवर्ट पालाकिनोले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेट इण्डो–प्यासिफिक क्षेत्रमा नेपालको केन्द्रीय भूमिकासहितको विषयमा छलफल भएको बताए ।

चीनले अगाडि सारेको र नेपालले सहभागिता जनाइसकेको बीआरआईविरुद्ध केपी ओलीले बाध्यताले स्वीकार्नु परे पनि आफ्नो अभियान जारी राखे ।

नम्बर चार

चिनियाँ राष्ट्रपतिको भ्रमण यति गर्दा पनि रोक्न नसकिएपछि लगभग चिनियाँ राष्ट्रपतिको भ्रमण हुने निश्चित भइसकेपछि बीआरआईको काउण्टरमा अमेरिकाले हिन्द–प्रशान्त रणनीतिअन्तर्गत जोडिएको मिलिनियम च्यालेञ्ज कर्पोरेशनअन्तर्गतको अमेरिकी सहयोगको परियोजनासम्बन्धी विधेयक यसै संसदीय सत्रमा पारित गराउन आफ्नै दलका सांसद र सभामुख कृष्णबहादुर महराले सहयोग नगरेको भन्दै एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिए ।

महराको कमजोरीलाई नियाल्दै चिनियाँ राष्ट्रपतिको भ्रमणपूर्व नै रोशनीकाण्ड मच्चाइयो । सुवास नेम्वाङ्, अग्नि खरेलजस्ता क्रिश्चियन र सीआईएका निकटहरु केपी ओलीमार्फत् सक्रिय थिए भने इसाई चाल्र्स मेण्डिजका चेला गगन थापा समूह कांग्रेसभित्रबाट सक्रिय थिए । अन्ततः महरालाई पीडित बनाइयो । यसअघि दरबारको सीआईए केन्द्रको निर्देशनमा राजेन्द्र महतो, बृजेशकुमार गुप्ता, हृदयश त्रिपाठी, कोमल ओलीलाई संसदभित्र भित्र्याएका केपी शर्मा ओलीले दरबारकै सीआईए केन्द्रको निर्देशनमा अर्थमन्त्री बनाइएका युवराज खतिवडा र नेपालका लागि अमेरिकी प्रतिनिधिबीच सभामुख महराले संसदबाट पारित गर्न रोकेको एमसीसी सम्झौतामा हस्ताक्षर भयो ।

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सेप्टेम्बर ३० का दिन सार्वजनिक गरे । चीनसँग हुने भनिएको सुपुर्दगी सन्धि अन्तिममा आएर ओलीले नगर्ने घोषणा गरे । यसरी पर्दाभित्रबाट चिनियाँ राष्ट्रपतिको भ्रमण नहोस् भन्ने उद्देश्यले पूर्व नेकपाभित्रको एउटा पक्ष र प्रधानमन्त्री केपी ओली क्रियाशील रहँदारहँदै पनि चिनियाँ राष्ट्रपतिको भ्रमण भयो ।

यसकारण राष्ट्रपति सीले काठमाडौंबाटै पश्चिमाहरुलाई कडा चेतावनी दिनु केपी ओलीलाई पनि दिएको चेतावनी भन्दा अत्युक्ति हुने छैन । जसरी २३ वर्षपहिले शेरबहादुरको नेतृत्वमा इण्डो–अमेरिकी पक्षधर सरकार चीनविरुद्ध क्रियाशील हुँदा तत्कालीन राष्ट्रपति जियाङ जेमिनको भ्रमण भएको थियो ठीक त्यसरी नै केपी ओलीको होली वाइन सरकार इण्डो–क्रिश्चियन रणनीतिमा छलाङ् मार्न खोजेको वर्तमान अवस्थामा चिनियाँ राष्ट्रपतिको भ्रमण भएको घटनाक्रमले सहजै पुष्टि गरेको छ ।

बीआरआई र इण्डो–प्यासिफिक स्ट्राटेजीका विषयमा बहस र धेरै आलेखहरु आइसकेका हुनाले त्यतातिर प्रवेश नगरी केवल प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाभित्र रहेको एउटा पक्ष चीनलाई रोक्न कसरी क्रियाशील रह्यो भन्ने विषयमा मात्र यो आलेख केन्द्रित छ ।

नम्बर पाँच

चिनियाँ राष्ट्रपतिको भ्रमण भइसकेपछि अन्तर्वार्तामार्फत् सभामुख कृष्णबहादुर महराले रोकेको एमसीसी सम्झौता आगामी संसदको अधिवेशनबाट पारित गर्ने छौं भन्दै स्वयम् प्रधानमन्त्रीले अभिव्यक्ति दिएका छन् । यसको सीधा अर्थ चिनियाँ राष्ट्रपतिको भ्रमण सम्पन्न गराउनु बाध्यता रहेको घुमाउरो रुपमा उनले स्वीकारेका छन् ।

यसबाट प्रश्नचिन्ह खडा छ– नाकावन्दी र विम्स्टेकको सैन्य अभ्यासविरुद्ध खरो उत्रिएका केपी ओली पश्चिमाहरुसँग किन नतमस्तक हुन बाध्य छन् ? पहिला वाहिर चर्चामा आए जस्तै कतै २०५० जेठ ३ गते नियोजित रुपमा हत्या गराइएका तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको हत्यामा इण्डो–अमेरिकी र नेपाली सेनाका तत्कालीन सेनापति गडुल शमशेर जबराको मिशनसँगको साइनो त जोडिएको होइन ? भारतको अमानवीय नाकाबन्दीको विरोध गर्दै जाँदा प्रधानमन्त्री ओली अमेरिकी रणनीतिको फन्दामा फसेका त होइनन् ? इतिहास केलाउँदा क्षणिक आवेगमा मात्र अमेरिकी रणनीतिमा जोडिएको मान्न सकिदैंन ।

चिनियाँ राष्ट्रपतिको भ्रमणसँगै राजनीतिक ध्रुवीकरण

राष्ट्रपति सीको भ्रमणपछि नेपाली राजनीतिमा तीब्र रुपमा ध्रुवीकरण भएको छ । बीआरआईविरुद्ध डा. बाबुराम भट्टराई, शशांक कोइराला, डा. रामशरण महतसहित कतिपय नेकपाका नेताहरुले समेत बोलिसकेका छन् । २०१७ सालपछि राजा महेन्द्रले कोदारी राजमार्ग खोल्दा ऋषिकेश शाहदेखि वीपी कोइरालासम्मले त्यसका विरुद्ध वक्तव्य जारी गरेका थिए । ठीक त्यसरी नै अहिले पनि राजनीतिक ध्रुवीकरण बढेको छ ।

घुमाउरो रुपमा तथाकथित मधेसको आवरणका क्षेत्रीयतावादी र जातिवादीहरुसँग भेट अस्वीकारे गरेका चिनियाँ राष्ट्रपतिले नेकपा सचिवालय सदस्य र नेका सभापति शेरबहादुर देउवासँग भेट गरेर एउटा सन्देश दिएका छन् । साना दलहरुमा सीपी मैनालीले नेतृत्व गरेको नेकपा (माले) र नागरिक समूहबाट राष्ट्रप्रेमी प्रजातान्त्रिक प्रगतिशील समूहबाहेक चिनियाँ राष्ट्रपतिको भ्रमणको स्वागत वक्तव्य कसैबाट पनि आएन । मोहनविक्रम सिंह, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायतका अन्य साना वामपन्थी भन्नेहरुको केन्द्र कहाँ हो भन्ने प्रश्न उब्जिएको छ । 

ध्रुवीकरणमा नेकपा

सत्तारुढ नेकपाभित्र स्पष्टरुपमा ध्रुवीकरण भएको छ । पूर्वमाओवादीभित्रको सानो हिस्सा इण्डो अमेरिकी पक्षमा उभिए पनि यसको मूल हिस्सा तमाम कमजोरीका बाबजुद अमेरिकी रणनीतिको विपक्षमा उभिएको छ, पूर्वएमालेभित्रको मूल नेतृत्वसहितको एउटा पक्ष होली वाइनदेखि एमसीसी सम्झौतासम्म निर्वस्त्र हुँदै गइरहेको छ । यसको परिणाम ‘एक्सपोज’ भएको हुनाले पश्चिमाहरुलाई खेल्न असहज हुनेछ । स्वयम् पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नराम्ररी चुकेका छन् । 

यसकारण नेकपाभित्रका साम्राज्यवादविरोधी देशभक्तहरुले धैर्यतापूर्वक आफ्ना कदमहरु चाल्नु पर्दछ र पूर्व समूहको मान्यता वा भावनाका आधारमा नभएर अजेण्डाका आधारमा होली वाइन ‘इण्डो–प्यासिफिक’ ‘इण्डो सीआईए’ कार्ययोजनालाई असफल पार्दै जानु पर्दछ । त्यसले राजनीतिक ध्रुवीकरणलाई अझ तीब्र बनाउनेछ । परिणामतः पूर्वएमाले पङ्क्तिभित्रको एउटा हिस्साको एनजीओ मिशनरी क्रमशः किनारामा लाग्ने निश्चित छ ।
चिनियाँ राष्ट्रपतिले काठमाडौंबाट पश्चिमाहरुलाई दिएको कडा चेतावनी स्वयम् नेकपाको एउटा हिस्सालाई समेत हो, जुन पश्चिमा एनजीओ सञ्जालसँग लामो समयदेखि जोडिएको छ । समयबद्ध साप्ताहिकबाट