प्रदेश प्रमुख परिवर्तन 'बेमौसमी बाजा'

 प्रदेश प्रमुख परिवर्तन 'बेमौसमी बाजा'

देशका विद्यमान साझा समस्याका विरुद्ध लड्न सहमतीय राजनीति गर्नुपर्ने बेलामा प्रदेश प्रमुखलाई हठात् हटाउने कार्य केपी ओली नेतृत्वको सरकारले ग¥यो । यदि उनीहरुलाई हटाउनै पर्ने सोंच थियो भने सरकार बन्ने वित्तिकै हटाएको भए हुन्थ्यो । उनीहरुले प्रदेश सरकारलाई कुनै बाधा÷व्यवधान नगरेको अवस्थामा हटाउँदा यसले राम्रो सन्देश दिएन । 

प्रदेश प्रमुख पद कार्यकारी नभएर आलंकारिक हो । यसबाट स्वेच्छिक रुपमा केही गर्नै मिल्दैन । संघीय शासन स्थापना गर्दा वा प्रदेश सरकारका कामलाई कुनै बाधा व्यवधान भएको भए हटाउनै पर्ने थियो । सातै वटै प्रदेशबाट त्यस्तो भएको थिएन । प्रदेश प्रमुख परिवर्तन बेमौसमी बाजा जस्तै बनेको छ । 

नेपाली कांग्रेसको नेतृत्वको सरकारले प्रदेश प्रमुख तोकेकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले किन राख्ने भन्ने तर्क भन्दा यसमा अरु कुनै कारण देखिदैंन । राज्यबाट हेर्दा एउटाले जागिर खाइरहेको ठाउँमा त्यसलाई हटाएर अर्काेलाई नियुक्ति दिनुुभन्दा तात्विक अर्थ छैन । पहिला जागिर खाइरहेकाले जे काम गर्थे त्यही काम अब जानेले पनि गर्ने हो । एउटा पार्टीले आफ्ना सात जना नेता÷कार्यकर्ताको व्यवस्थापनको दृष्टिले हेरेको भए त्यो सही नै होला । राज्य र जनताको कोणबाट हेर्दा यसले सकारात्मक सन्देश दिएको छैन । प्रदेश प्रमुख पाँच वर्ष रहने संवैधानिक प्रावधान छ । अहिले बनेका प्रदेश प्रमुख बाँकी अवधिका लागि या पाँच वर्षका लागि ? यद्यपि यो बहस प्राविधिक मात्र हो ।  

नेकपाको नेतृत्वमा सरकार छ । केन्द्र मात्र होइन प्रदेश र स्थानीय तहमा समेत यसको प्रभावकारी उपस्थिति छ । जनअपेक्षा अनुसार सरकारले काम गरेको छैन । शान्ति सुरक्षा लगायत थाती रहेका कतिपय महत्वपूर्ण विषय टुंगो लगाउनुपर्ने छ । देशको परराष्ट्रसहितका दूरगामी महत्व राख्ने विषयमा एउटा निश्कर्षमा पुुग्नैपर्छ । समाजवाद उन्मुख संविधान बनेको छ । नेपाली कांग्रेसको उदारीकरण र निजीकरणका नाममा अस्तव्यस्त अर्थनीतिलाई विस्थापन गरेर समाजवादको दिशामा देशलाई लैजानुपर्ने चुनौती छ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जनताको नैसर्गिक अधिकार अर्थात् यसलाई आधारभूत विषयका रुपमा स्थापित गर्नुपर्नेछ । सारमा भन्दा कम्युनिस्टको नेतृत्वको दुुई तिहाइ सरकारको नेतृत्वको अनुुभूत जनतालाई गराउनुपर्ने छ । 

तर, फेरि पनि उही, भिन्नमत वा अलग पार्टीलाई हटाउने, निषेध गर्ने कुराले देशलाई द्वन्द्व, किचलोतिर नै लैजान्छ । पात्र परिवर्तनभन्दा पनि जनताले खोजेको जीवनमा परिवर्तन हो । समयबद्ध साप्ताहिकबाट