कृष्ण लीला की क्यारेक्टर ढिला ?

कृष्ण लीला की क्यारेक्टर ढिला ?

साइँला भाइ

‘वो करे तो कृष्ण लीला हम करे तो क्यारेक्टर ढीला ।’ यो चल्तीको उखान हो । तर यसको खुद उत्तर हजार जिब्रा भएका शेषनागले पनि दिन सक्तैनन् । कुन कृष्ण लीला हो कुन क्यारेक्टर ढिला हो ? यस्तो लीला र क्यारेक्टर ढीला छुट्याउने मापदण्ड के हो ? यो प्रश्नको समग्र ठोस उत्तर नआउन्जेल यसको बहस पैरवी गर्नु नै वेकार हुन्छ । पहिले लीला र ढीला शब्दको प्रासंगिक परिभाषा आउनु परो अनिमात्र विषय प्रवेश हुनेछ । विषय प्रवेश नभइ यो न्यायिक निरुपण गर्न खोज्नु गोरु पछाडि नारेर गाडा अगाडि कुदाउन खोज्नु जस्तै हो । 

उहिले नै उहिले धेरै नै पहिले सबै यस्ता लीलाहरुले सामाजिक मान्यता पाउने गरेको इतिहास छ । अहिलेको भाकामा क्यारेक्टर ढिला भएपनि त्यसलाई जारी व्यवस्थामार्फत सामाजिक व्यवस्थापन गरिन्थ्यो । परस्त्री सम्बन्ध भएको सामाजिक ठहर वा पञ्चकृत निर्णय भए सामाजिक दण्ड सजाय बमोजिम जारी तिरे पछि खतवात माफि मिनाहा हुन्थ्यो । तर, यता आएपछि भने यो लिलालाई क्यारेक्टर ढिलाकै रुपमा लिने गरिएको छ । र, त्यस्ता पात्रहरुलाइ कालापानी पु¥याउने चलन चलेको छ । यो चलन भने विलकुल प्राकृतिक न्यायको सिद्धान्त विपरित छ । प्राकृतिक विषयवस्तुमा अप्राकृतिक न्याय सिद्धान्त लागु गर्नु बेमुनासिव नै हो । निर्जिव अक्षरहरुको खेतीपाती गरेर जैविक क्रियाकर्ममा बाधा अड्चन हाल्नु सोह्रै आना बेमुनासिव हो । जिव वैज्ञानिक आवश्यकतालाई निषेध गर्नु कति अनुचित हो ?

परम्परागत रुपमा कृष्ण लीलाको त धार्मिक सामाजिक मान्यता छँदै थियो । कृष्ण लीलालाई उच्च मूल्याङ्कन गर्ने गरिन्थ्यो । प्राग ऐतिहासिक सामाजिक सिद्दान्त बमोजिम कृष्ण लीला उच्च कोटीको लीला हो । सायद हजार जिब्रा भएको शेषनागले आजसम्म खण्डन नगरेकोले यो लीला आजसम्म पनि अपरम्पार छ । कृष्ण लीला आजसम्म पनि उत्तिकै सम्मान साथ हेरिन्छ । राम लीला जत्तिकै यो लिला आजपनि प्रशंसित छ । यस्ता लीलाहरु आजपनि मञ्चित हुने गरेका छन् । यि लीलाहरुले रोमाञ्चित पनि गर्ने गरेका छन् । लीला साहित्यको सञ्चार आजको विकसित सूचना प्रविधिमा पनि उत्तिकै लोकप्रिय छ ।

कृष्ण लीलाको सम्बन्धमा साम्यवादी राजनीतितक साहित्यमा कठोर व्यवस्था छ । कतिपय संकिर्ण कम्युनिष्ट पार्टीहरु (खासगरी भारतका खास जडसूत्रवादी कम्युनिष्ट पार्टीहरु) मा क्यारेक्टर ढीला हुँदा कान छेड्ने प्रचलन थियो । नेपालमा सवारी चलाउँदा नियम उलंघन गरे वापत सवारी चलाउने परिचय पत्र (लाइसेन्स)मा ट्राफिकले प्वाल पारे जस्तै त्यहाँका कार्यकर्ताको कान छेडिने गरिन्थ्यो । कति पटक क्यारेक्टर ढीला भयो त्यति नै पटक सजायस्वरुप कान छेडिन्थ्यो । ति भारतीय कम्युनिष्ट कार्यकर्ताको कानको प्वाल गनेर कतिपटक क्यारेक्टर ढिला भएको रहेछ भन्ने बुझ्नमा आउँथ्यो । 

हुनतः जतिसुकै कठोर व्यवस्था भएपनि साम्यवादी भाष्यमा बाधा अड्काउ फुकाउमार्फत क्यारेक्टर ढीलालाई पनि सुनपानी छर्किने व्यवस्था छ । यस्तो सुनपानी छर्किएर चोख्याउने उपक्रमलाई साम्यवादी शब्दकोशमा आत्मआलोचना भनिन्छ । जति नै ठूलो महाभारत गल्ति जानेर वा नजानेर गरेको भएपनि आत्मआलोचना गरेपछि खतबात माफि मिनाहा हुन्छ । भारतमा यस्ता क्यारेक्टर ढीलालाइ कानमा प्वाल पारेर माफि मिनाहा दिइन्थ्यो । नेपालकै साम्यवादी आन्दोलनमा कान नछेडे पनि माफी मिनाहा दिने चलन चल्दै आएको इतिहास साक्षी छ ।

नेपाल विविधापूर्ण देश हो । यसर्थ तराइको कृष्ण लीला नेपालका कतिपय स्थानमा क्यारेक्टर ढीला हुन सक्छ । एक प्रदेशमा मनाइने लीला अर्को प्रदेशमा सञ्चारहुँद क्यारेक्टर ढीला हुन्छ । यसर्थ प्रदेश गुना लीला र क्यारेक्टर ढीला अथ्र्याइनु आवश्यक हुन्छ । 

कोशी पूर्व खासगरी लिम्बुवान/खम्बुवानमा कृष्ण लीला त हुँदैन । अन्यत्र व्याख्या गरिने क्यारेक्टर ढिला प्रकरणलाइ पनि सामान्य अर्थमा लिने गरिन्छ । त्यो सामाजिक व्यवस्थामा क्यारेक्टर ढिलाको उस्तो अर्थ हुन्न । केहि समय अगाडिसम्म जारी तिर्ने व्यवस्थामार्फत यसको न्यायिक निरुपण हुन्थ्यो । आजभोली पनि यसलाइ जिव वैज्ञानिक कमजोरी भन्दा बढी ठूलो अर्थमा लिइदैन । यसको उदाहरन, प्रमान महरापूर्वका सभामुखलाइ हेरे काफी हुन्छ । उनको पनि त एकाध लीला क्यारेक्टर ढीला नै भएको सुनिन्छ । उनलाइ कतै क्यारेक्टर ढीलाको अर्थमा लिएको सुनिन्न । 

सात प्रदेशमा करिव–करिव सात प्रकारकै सामाजिक-सांस्कृतिक व्यवस्था छ । ति व्यवस्था अनुसार जिव वैज्ञानिक आवश्यकतालाइ फरक ढंगले हेरिन्छ । यसर्थ तिनै सामाजिक सांस्कृतिक व्यवस्था अनुसार यस्ता लीलालाइ संविधानले दिएको अनुसूचिमा उल्लेखित अधिकार बमोजिम बेग्लाबेग्लै व्याख्या तथा कानूनी व्यवस्था हुनु जरुरी छ । यस्तो भएमात्र सबैलाइ न्यायिक समानता होला । समयबद्ध साप्ताहिकबाट