कालंगा हाइड्रोको सुरूङभित्र फसेका चारै जना मृत फेला 

कालंगा हाइड्रोको सुरूङभित्र फसेका चारै जना मृत फेला 

बझाङ, १९ कात्तिक । जिल्लाको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चारै जना मृत अवस्थामा भेटिएका छन् 
 । 
आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी कार्य सुरु गरिएको थियो ।  सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वमा आएको चार जनाको उद्धार टोलीले सुरु भित्र फसेका तीन जना मजदुरको शव सोमबार बेलुका ७ बजे निकालेको थियो । थप एक जनाको शव मंगलबार दिउँसो साढे एक बजे निकालिएको आश्रीत नम्बर एक गुल्म बझाङका सशस्त्र प्रहरी नायब उपरीक्षक९डीएसपी० गणेश शाहले जानकारी दिए । 

आइतबार सुरुङभित्र पसेका दैलेख जिल्लाको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव सोमबार निकालिएको थियो । बझाङ जिल्ला बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिंह धामीको शव मंगलबार दिउँसो निकालिएको उद्धार टोलीका प्रमुख तथा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक भवराज कटुवालले बताए ।
धामीको शव सुरुङको मुखबाट १३ सय मिटर पर फेला परेको उनको भनाइ छ । अन्य तीन जनाको शव भने १२ सय मिटर पर फेला परेको थियो । सुरुङभित्र झण्डै तीन सय मिटर पर मास्क मात्रै लगाएर जान सकिने भए पनि त्योभन्दा पर भने अक्सिजनसहित जान पर्ने कटुवालले बताए। सुरुङभित्र अक्सिजन नभएका कारण उनीहरुको निसास्सिएर  मृत्यु भएको उनको भनाई छ । 

आफूहरुलाई पनि उद्धार गर्दा  निकै समस्या भएको बताउँदै सुरुङभित्र जाँदा आँखा पोल्ने, रिगँटा चल्ने र आफूसँग भएको अक्सिजन छिटोछिटो सकिने समस्या भएको उनले बताए । 

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली खटिएको थियो । सुरुङ भत्र भने सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक विरेन्द्र बम, हवल्दार शिवहरि अधिकारी र सहायक हवल्दार ललित खाम्चा गएका थिए ।

मृतक चारै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बझाङ ल्याउने तयारी भएको जनाइएको छ ।