प्रधानमन्त्रीलाई काम होइन आरामको खाँचो

प्रधानमन्त्रीलाई काम होइन आरामको खाँचो

काठमाडौं । स्वास्थ्यमा अचानक देखिएको समस्याका कारण गत मंगलवार अस्पताल भर्ना भएर विहीवार राति डिस्चार्ज हुदै गर्दा प्रधानमन्त्री केपी ओलीले आफू ठीक रहेको प्रतिक्रिया दिए । समर्थकहरुलाई हात हल्लाएर अभिवादन गर्दै गाडी चढेर सरकारी निवास पुगेका प्रधानमन्त्री ओलीले शनिवार पार्टीको सचिवालय वैठकमा आफै आफ्नो स्वास्थ्यबारे व्रिफिङ गरे ।

बाहिर बेजोड इच्छाशक्ति दर्शाउँदै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य समस्यालाई ओझेल पार्ने प्रयास गर्दै आएका छन् । उनका वाणीले उनी तन्दुरुस्त रहेको जनाउँछ, जबकि मेडिकल्ली उनी कडा क्लिनिकल अव्जरभेसनमा बस्नुपर्ने वाध्यात्मक अवस्थामा रहेको तथ्य उनका पछिल्ला स्वास्थ्य रिपोर्टहरुले देखाउँछन । मंगलवार र वुधवार ग्राण्डी अस्पतालमा उनले डायलासिस गराउनु पर्ने जुन अवस्था आई्लाग्यो, त्यो उनको कमजोर स्वास्थ्यको कारण नै थियो ।

१२ वर्षअघि ट्रान्सप्लान्ट गरिएको मृगौलाले काम गर्न छाडेर स्वास्थ्य समस्या नयाँ रुपमा बल्झिएको कुरा स्वयम् ओलीले शनिवारको पार्टी वैठकमा राखेका छन् । वयोवृद्ध उमेरमा रहेका प्रधानमन्त्री ओलीले अब या त नियमित डायलासिस विधि अपनाउनु वा पुनः मृगौला ट्रान्सप्लान्ट गर्नु नै आफ्नो स्वास्थ्य सहज पार्ने उपायहरु हुन । स्वाभाविक छ, यसबेला उनलाई धेरै आरामको जरुरत छ ।

नियमित डायलासिसका लागि अस्पताल धाउन पनि गाह्रो हुने भएकाले सरकारी निवास वालुवाटारमा नै स्वास्थ्य उपचार युनिट खडा गरी डायलासिस तथा अन्य उपचार विधि अपनाउने भन्नेबारे पनि प्रधानमन्त्रीको सचिवालयमा छलफल हुँदै आएका समाचार विवरणहरु सार्वजनिक भइसकेका छन । कुनै न कुनै नयाँ उपचार विधि तत्काल सुरु नगरे प्रधानमन्त्रीको जीवनमा गम्भीर दख्खल पर्ने कुरा अब स्पष्ट भइसकेको छ ।

सत्तारुढ दल नेकपाका एकजना अध्यक्ष, कार्यकारी प्रधानमन्त्री तथा नेपाली जनतालाई धेरै भन्दा धेरै सपना बाँडेर आशा र भरोशाको सञ्चार गराउन सफल ओलीलाई यसरी शरीरले आराम र जिम्मेवारीले बढी सक्रिय हुने दबाब सिर्जना गरिरहेको छ । दुई दिन अस्पताल बसेर डायलासिस गराएर फर्केपछि पनि प्रधानमन्त्रीले आफ्नो कामको रफ्तारमा कुनै कमी लइाएका छैनन्, बरु फटाफट कामका गतिहरु बढाएका छन् ।

आइतवार उनले मन्त्रीपरिषदको वैठक राखेर २० महिना पहिले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले नियुक्त गरेका सात प्रदेशका प्रमुखहरुलाई पदमुक्त गराउने निर्णय गरे । त्रिविविमा उपकुलपति चयनदेखि मेडिकल काउन्सिलमा नेतृत्व चयनसम्मका काम मन्त्रीपरिषद वैठकबाट गराए । सोमवार पनि मन्त्रीपरिषदको वैठक राखेर प्रधानमन्त्री ओलीले आफू क्रियाशील रहेको पुष्टि गरे । उनका यी र यस्ता फटाफट निर्णय लिने शैलीले उनलाई काम गर्ने जाँगर अझै उत्तिकै रहेको पुष्टि गर्छन ।

तर पनि प्रश्न फेरि पनि स्वाभाविक रुपमा उही उठिरहेको छ, के यो प्रधानमन्त्रीले यसरी धपेडीमा रहेर काम गर्ने बेला हो त ? देशका कार्यकारी सरकार प्रमुखलाई मनमा काम गर्ने र गरिरहने हुटहुटी हुनुलाई अस्वाभाविक मान्न सकिन्न । त्यसमा पनि बिक्रम सम्वत ३० को दशकको रक्तरंजित झापा विद्रोहको जगबाट उदाएर दुई तिहाईको बहुमतका साथ सिंहदरवारमा पुगेका ओलीलाई अहिले कामको चटारो र हतारो हुनु झन स्वाभाविक छ । जनतालाई बाडेका सपना र आफ्नो संघर्षकालीन जीवनमा बुनेका परिवर्तनका हर अजेण्डा पूरा गर्ने यो नै अन्तिम स्वर्ण कालखण्ड रहेको तथ्य पनि ओली जत्तिका कडा स्मरण शक्ति भएका नेतालाई पक्कै छ । 

त्यसैले पनि उनी आफैमाथि दिनदिनै प्रतिकुल रुपमा हाबी हुदै गएको स्वास्थ्यलाई समेत नजरअन्दाज गर्दै काममा नै आफूलाई व्यस्त राखिरहेका छन् । काम गर्ने प्रधानमन्त्रीको इच्छाशक्ति प्रशंसनीय हुँदाहँुदै पनि उनको कमजोर शरीरलाई आराम र सुविस्ता चाहिएको पनि उत्तिकै अकाट्य सत्य हो ।

त्यसकारण अब प्रधानमन्त्रीलाई कामको बोझबाट क्रमशः छुट्कारा दिने वा सक्रिय दैनिकीबाट निश्चित जिम्मेवारीमा मात्रै सीमित गर्नेतर्फ प्रथमतः स्वयम् ओलीले र पार्टी नेतृत्व समेत समुचित निर्णय लिन बेला आएको छ । देशको वर्तमान परिवर्तनमा आफ्नै खालको संघर्ष, योगदान र नेतृत्व दिएका ओलीले अझै धेरै कामकाजी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष बन्न देखाएको इच्छाप्रति नतमस्तक हुँदाहुँदै पनि उनको शरीरले प्राकृतिक रुपमा खोजेको बिश्रामका लागि ओली स्वयम् र पार्टीले उचित निर्णय लिनु अब निर्विकल्प प्रायः छ । यो ओली नेतृत्वको सरकारप्रतिको वितृष्णा होइन कि प्रधानमन्त्रीले देखेको देशको मुहार फेर्ने तृष्णाको निरन्तरता र सफलताका लागि अवलम्वन गर्नुपर्ने नयाँ बाटो हो ।

सम्भव भएसम्म स्वदेशमा नै नभए विदेशमा नै गएर भए पनि उनले पहिले आफ्नो जीवन बचाउनु पर्छ । पार्टीको जिम्मेवारी अन्य सहकर्मीहरुलाई हस्तान्तरण गरेर उनले आराम लिन सक्दा पार्टी र सरकारको साख पनि जनता सामु मर्ने छैन भने दिन दिनको धपेडीबाट प्रधानमन्त्रीको ज्यानलाई पनि केही राहत हुनेछ । र, अन्ततोगत्वा ओलीका हर सपना पूरा गर्ने वातावरण झन सहज हुन जान्छ ।

प्रधानमन्त्रीको पनि पञ्चतत्वले बनेको मानव जीवन नै हो । त्यसमा पनि प्रत्यारोपित मृगौलाको सहारामा बाँचेको उनको शरीरले पार्टीलाई दुई तिहाई बहुमतको सरकार सञ्चालनको बिन्दुमा पु¥याएको पनि दुई साल हुन लागिसकेको छ । वाम एकताको नयाँ युग, वाम सत्ताको नयाँ उदाहरण ओलीकै नेतृत्वमा देशले पाइसकेको छ । आम जनताले अनुभूत गर्ने बग्रेल्ती कामहरु भइनसकेका भए पनि बितेका सरकारहरु भन्दा वर्तमान ओली सरकार तुलनात्मक रुपमा जनप्रेमी र कामकाजी बन्दै गएको धरातलीय यथार्थ हो ।

यस पृष्ठभूमिमा पार्टी अध्यक्ष तथा सरकार प्रमुखको दोहोरो कार्यकारी जिम्मेवारीको अब पनि भारी बोकाउनु उनको बिरामी शरीरमाथिको एक प्रकारको अन्याय र ज्यादत्ति नै हुन जान्छ । प्रधानमन्त्री ओलीका आफन्त, हितैषी तथा समर्थकहरुले अब उनको काँधबाट भार कम गराउन नै सुझाउनु र उत्प्रेरित गर्नु नै उनीप्रतिको सच्चा माया र सम्मान हुनेछ । तर के प्रधानमन्त्री ओली आफ्नो ज्यानलाई आराम दिन स्वयम् सहमत होलान त ? मुख्य निर्णय भने स्वयम् उनकै हातमा छ । (समयबद्ध साप्ताहिकबाट)