इन्टरनेटले जोडेको 'भर्चुअल' संसार 'डिसकनेक्ट' मा सिनित्तै !

इन्टरनेटले जोडेको 'भर्चुअल' संसार 'डिसकनेक्ट' मा सिनित्तै !

फणीन्द्र फुयाल ज्वाला

२१ औँ सताब्दीको आजको युगमा इन्टरनेट अपरिहार्य बन्दै गएको छ । हातहातमा मोवाइल र प्रत्येक मोवाइल सेटमा इन्टरनेट अहिलेका नेपालीहरुको पहिचान बन्न पुगेको छ । इन्टरनेटको माध्यमबाट विश्वभरका सूचना, सन्देश र मनोरञ्जन क्षणभरमै औँलाको टुप्पादेखि आँखा र कानसम्म पुग्न थालेको वर्तमान सन्दर्भमा इन्टरनेटका माध्यबाट सञ्चालन हुने समाजिक सञ्जालहरु पनि उत्तिकै मात्रामा चलिरहेका छन् । दाल, भात, तरकारी जसरी मानवका लागि अपरिहार्य बस्तु हो त्यस्तै अपरिहार्य बस्तु बन्दैछ इन्टरनेट र समाजिक सञ्जाल ।

कसैका लागि इन्टरनेट खोज, अनुसन्धान, शिकाई, शिक्षण, प्रशिक्षण र अन्वेषणका लागि सहयोगि भूमिका बनिरहरेका छन् भने कसैका लागि पैसा कमाउने माध्यम अनि केहीका लागि समय कटाउने मेलो पनि । सायद कसैले यसैबाट अपराधिक कृयाकलाप पनि त गर्दै होलान ! 

सन् १९९५को सेरोफोरोबाट नेपालमा इन्टरनेट भित्रिएको भएतापनि मुख्यतः यो बैँकिङ प्रणाली सञ्चालन गर्नका लागि प्रयोग हुने गरेको थियो । आजको जस्तो इन्टरनेटप्रधान पत्रकारिता (अनलाइन पत्रकारिता) नेपालमा दुई दशक अघि मात्रै पनि कहाँ थियो र ? नेपालमा इन्टरनेटप्रधान पत्रकारिता सुरु भएको साखाला डेढ दशक मात्रै भएको छ । 

यो आलेखमा इन्टरनेटका मध्यमबाट सामाजिक सञ्जालहरु फेसबुक र युट्यूवमा देखिएका, भोगिएका र भेटिएका समाचारजन्य सामाग्री तथा ती विषयबस्तुहरुका बारे चर्चा गर्ने जमर्को गरिएको छ ।

भ्रामक भिडियो

युट्यूव सञ्चालनका सुरुआती दिनमा गीत संगित र कुनै पनि विषयबस्तुका रोचक, स्वस्थ तथा जनचासोका भिडियोहरु ‘अपलोड’ हुने गर्दथे । सुरुआती दिनमा युट्यूवमा राखिएका श्रव्यदृष्य सूचना तथा सन्देशमुलक हुन्थे । तर आजकल युट्यूवमा सामाग्री ‘अपलोड’ गर्न जोसुकै व्यक्तिको पनि सहज पुहँच भएपछि यसमा ‘अपलोड’ गरिने सामाग्रीहरुमा बिकृति आएको छ ।

युट्यूवमा राखिने सामाग्रीमा सरकार र मिडिया सम्बन्धी कुनै पनि संघ संस्थाको आचार संहिताले नभेट्ने, नछुने र नसमेट्ने भएकैले गर्दा युट्युवमा राखिएका सामाग्रीमा छाडापन, अश्लिल र जनउत्तरदायीमूलक भन्दा बेथिती र बिसंगतीका भिडियोहरु बढी मात्रामा 'अपलोड' हुन थालेको पाइन्छ ।

मानिसमा जानकारी, सूचना र सन्देश प्रवाह गर्ने भन्दा पनि भ्रम सिर्जना गर्ने ‘कन्टेन्ट’हरु बढी मात्रामा युट्यूबर सञ्चालकहरुले ‘अपलोड’ गर्नाले समाजलाई सकारात्मक भन्दा पनि नकारात्मक दिशातिर डोर्याउँदै लगेको त छैन ? भन्ने प्रश्न खडा गरिदिएको छ ।

कमाई खाने भाँडो

समाजिक सञ्जाल युट्यूव कमाइखाने भाँडो बन्दै गएको छ । देश, समाज, टोल र व्यक्तिको कस्तो भिडियोलाई सामाजिक सञ्जालमा पोष्ट गर्ने भन्नेमा समाजिक सञ्जाल, विशेषतः युट्यूूबरहरुमा ज्ञानको अभाव देखिन्छ । कतिपय त अस्वाभाविक, अपाच्य, बिभत्स र उत्तेजक भिडियोहरुसमेत पोष्ट गरेर लाईक, सेयर, सब्सक्राइब, ब्रान्डिङ, बुस्टिङ गरेर 'भिवरसिप' बढाई त्यसैका आधारमा 'डलको खेती' गर्न पल्किएकाहरु पनि छन् ।

भ्रामक ‘फेसबुक अकाउन्ट’ बनाएर बिभिन्न नामका 'फेसबुक पेजहरु' सिर्जना गरी ती पेजमार्फत बिभिन्न भिडियोहरु पोष्ट, र सेयर गर्ने प्रचलन पछिल्लो समय फस्टाउँदै र मौलाउँदै गएको छ । भोलि त्यस्ता सामाग्री हेरिएकै कारण समाजमा अप्रिय घटना घट्यो भने, जातीय विभेद सिर्जना भई त्यसले उग्र रुप लियो भने त्यसको उत्तरदायी को हुने ? अपराधिलाई कसरी पक्राउ गर्ने ? उनीहरुमाथि कसरी अनुसन्धान गर्ने ? देशको सार्वभौम, राष्ट्रियता र शान्ति सुरक्षामा खलल पर्ने सामाग्रीहरु अमूक ‘अकाउण्ट’ खडा गरी कसैले ‘पोष्ट’ गरे त्यसलाई कसरी कानूनी दायरमा ल्याउने ? यो प्रश्न यतिबेला गम्भीर रुपमा खडा भएको छ ।

हाउडे भिडियोमा रमाउँदै युवा पुस्ता

कुनै पनि आम सञ्चारमाध्यका दर्शक तथा श्रोताहरु बिबिध प्रकृतिका हुन्छन् । उमेर, बर्ग, लिंग, क्षेत्र, धर्म, पेशा, भूगोल आदिका हिसाबले पाठकहरु भिन्न भिन्न स्वभावका हुन्छन् । त्यसैले भिन्न-भिन्न मानिसको अभिरुची पनि भिन्न हुने नै भयो । 
तर कसैले अस्लिल, उत्तेजक, र जातीय हिँसा भड्काउने खालका सामाग्री मन पराउँछ भन्दैमा त्यस्ता सामाग्रीलाई 'इन्टरनेट'का माध्यमबाट प्रयोग हुने कुनै पनि सामाजिक सञ्जालमा स्थान दिनु हुँदैन । त्यस्ता कुनै पनि सामाग्री जानेर हास् वा नजानेर होस् 'पोष्ट' गर्ने जोसुलाई कारवाहीको दायरामा ल्याउनै पर्छ । 

अहिलेका केही युवा पुस्ता त्यस्तै हाउडे र सस्तो मनोरञ्जनका नाममा उच्छृँखलता र उत्ताउलोपनाका भिडियो तथा सामाग्रीहरुप्रति रुचि राख्ने प्रकारका छन् भन्ने कुराको प्रमाण त्यस्ता सामाग्री पोष्ट भएको केही समयमै त्यसले प्राप्त गर्ने ‘लाइक’हरुबाटै थाहा हुन्छ । युवाले मन पराउँछ, धेरै लाइक आउँछ, धेरै ‘भिवरसिप’ हुन्छ र धेरै डलर खातामा भित्रिन्छ भन्ने गलत मानसिकताले गर्दा युवापुस्ता सामाजिक सञ्जालप्रति यसरी लठ्ठिएको छ जसरी 'ड्रग्स' खाने मानिस 'ड्रग्स'को कुलतमा फसेर यसको नशामा हमेशा झुमिरहेको हुन्छ । 

कति समाजिक छन् सामाजिक सञ्जाल ?

भनिन्छ, धेरै खाएपछि चिनी पनि तीतो हुन्छ ? हरेक कुराको आफ्नै सीमा हुन्छ । सामाजिक सञ्जालका जति फाइदाहरु छन् त्यसका उत्तिकै मात्रमा बेफाइदाहरु पनि छन् ।

सामाजिक सञ्जालको माध्यमबाट आफ्नो व्यपार, व्यबसायको प्रचार प्रसार गर्न सकिन्छ । यसको माध्यबाट आफन्त तथा साथीभाइसँग थोरै पैसामा गफगाफ तथा कुराकानी गर्न सकिन्छ। सूचना, सन्देश र स्वस्थ मनोरञ्जन पनि प्राप्त गर्न सकिन्छ ।

सीमा भन्दा नाघेर यसको बढि प्रयोग तथा दुरुपयोग भयो भने मानिस सामाजिक भन्दा पनि असामाजिक बन्दै जान्छ । हरेक कुरा इन्टरनेट र सामाजिक सञ्जालबाटै गर्न र भन्न थालियो भने यसले शारिरीक श्रममार्फत गर्नुपर्ने कार्यहरु गर्न सक्दैन । आजकल हामी समाजमा कसैले राम्रो काम गरेको छ भने उसलाई बधाई तथा शुभकामना, कसैको निधन भएको छ भने श्रद्धाञ्जली र कसैको जन्म दिन परेको छ भने फेसबुक, इन्स्टाग्राम, ट्वीटर, इमेल, र च्याटबाटै शुभकामनाका सन्देशहरु पठाउने गर्छौँ । 

मानिस यो धर्तिको एक उत्कृष्ठ सामाजिक प्राणी हो । ऊ चेतनशील छ । मासिन जन्मजात नै राजनीतिक प्राणी हो भनेर २५ सय वर्ष अघि नैं ग्रिसका महान दार्शनीक एरिस्टोटलले नै भनिसकेका छन्। त्यसैले समाज निर्माणका हरेक पाटा र पक्षमा मानिसको भौतिक उपस्थिती अनिवार्य छ । इन्टरनेट र यसको माध्यमबाट सञ्चालन हुजे सामाजिक सञ्जाल त एक बनावटी विश्व ‘भर्चुअल वल्र्ड’ हो । ‘भर्चुअल वल्र्ड’ को कुनै भर हुँदैन । यो एक दिन सिसैसिसाको घर जस्तै झर्याम्म फुटेर चकनाचर हुन सक्छ । त्यसैले बनावटी विश्व हैन, वास्तविक र भौतिक संसार नैं भरपर्दो हुन्छ । इन्टरनेटले जोडिएको संसार र समाज त इन्टरनेट ‘डिसकनेक्ट’ हुँदाबित्तिक्कै सिनित्तै ! 

युट्यूवका ‘अस्लिल’ गीत हटाउँदै सरकार

पछिल्लो समय सरकार युट्यूूवमा ‘पोष्ट’ हुने सामाग्रीप्रति सचेत र चनाखो हुन थालेको देखिएको छ । सरकारले तिहारको सन्दर्भ पारेर दुुर्गेश थापाले गएको गीत ‘ह्प्पी तिहार चिसो बियर...’ र अर्का र्याप गायक भिटेनको 'अश्लील' भनिएको गीत युट्यूूवबाट हटाउन लगायो ।

यस कार्यलाई कतिपयले सरकार निरंकुश हुँदै गएको भन्ने आशय पोखेका छन् भने कतिपयले सरकारलाई दुुईतिहाइको दम्भ बढेको संज्ञा पनि दिए । खयर, जसले जे भनेपनि गीतमा अश्लील र फोहोर शव्द प्रयोग गर्न पाइन्छ कि पाइँदैन ? नेपाली कला, संस्कृती र चाडपर्वलाई बियरको झोलले पखाल्न मिल्छ कि मिल्दैन ? यसको उत्तर र मूूल्यांकन भने विज्ञ पाठक र सचेत नेपालीहरुबाट हुन जरुरी छ । के नेपाली समाज र नेपाली युवा पुस्ता यस्तै गीत रुचाउँने तहसम्म पुगेकै हो त ? यसबारे गहन अनुसन्धान हुन जरुरी छ । 

रहलपहल

इन्टरनेट र सामाजिक सञ्जालले मासिलाई एकलकाँटे बनाउँदै लगेको छ । एउटै कोठामा बसेका घरका सदस्यहरुबीच पनि बोलचाल बन्द हुँदैछ । हातमा एक–एक सेट मोवाइल बोकेर कुना पसेका छन् पढेलेखेका हरु । सबैका आ–आफ्नै धुन छन् । उता बुढापाकाहरु भने इन्टरनेटको जञ्जालयूक्त सञ्जाल चलाउँन नजान्दा घरभित्रै एक्लो महशुस गरिरहेका छन् । घरमा पाहुना आए पनि कसैलाई उनीहरुसँग बोल्ने फुर्सद छैन । पाहुना अपमानित महसुश गरेर बस्नु परिरहेको छ !

जव इन्टरनेट 'डिसकनेक्ट' हुन्छ, तव मानिस भ्रमबाट झल्यास्स ब्यूझिन्छ । र आँखा मिच्दै भौतिक संसारलाई हेर्न थाल्छ । तर त्यति बेला ऊ बनावटी संसार ‘भर्चुवल वल्र्ड’ बाट भ्रममुक्त हुन ढिला भैइसकेको हुनेछ । किनकी ऊ बास्तविक संसारका मानवबाट मानवीयता हराएको प्राणीमा परिणत भएको कोटामा परेको हुनेछ । त्यसैले प्रविधिले मानिसलाई चलाउने होइन, मानिसले चाहिँ प्रविधि चलाउने बानिको विकास गर्न ढिला हुन लागेको पो होकि ? (समयबद्ध साप्ताहिकबाट)