महरालाई जेल चलानको आदेश, डिल्लीबजार कारागार चलान

महरालाई जेल चलानको आदेश, डिल्लीबजार कारागार चलान

बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षको लागि जेल चलान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको हो।


हिरासतमा रहँदा महरालाई थापाथलि स्थित नर्भिक अस्पताल बसिरहेका थिए तर अब भने अस्पताल पठाउने कि थुनामै राख्ने भन्ने डिल्लीबजार कारागारले नै यकिन गर्नेछ ।


तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको पाण्डेको इजलासले निष्कर्ष निकालेको हो । 
प्रहरीले बुझाएको प्रतिवेदनपश्चात सरकारी वकिल कार्यालयले उनलाई जबरजस्ती करणी अभियोगमा बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो।

महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि बहस सुरू भएको थियो। महराको बयान गत शुक्रबार सकिएको थियो। बयानमा उनले पीडितको घर नजिकै पुगेको तर पीडितलाई भने नभेटेको बताएका थिए। 

यसरी यस मुद्दाका पीडक कृष्ण बहादुर महराको इन्कारी बयान र पीडित भनिएको रोसनीको होस्टायलले समेत महराको जेलयात्रालाई रोक्न सकेन । 

यद्यपी काठमाडौं जिल्ला अदालतको यो फैसला भने होइन, यो आदेश मात्र हो । थुनछेक बहसको क्रममा तत्काल प्राप्त प्रमाणहरुलाई मध्यनजर गर्दै कसूरको मात्राअनुसार ३ बर्ष वा सो भन्दा बढी सजाय हुनसक्ने मुद्दाहरुलाई कसूरको गांभीर्यतालाई दृष्टिगत गर्दै आदेश जारी हुने चलन रहेको छ । 

शुरु जिल्लाको आदेश उपर प्रतिवादी (महरा)ले ‘बेरितको आदेश वदर गरी पाऊँ’ भनी उच्च अदालत पाटनमा अ.ब. १७ को निवेदन गर्न सक्ने अवस्था विद्यमान नै छ । महरा उपर ५ बर्ष भन्दा बढी कैद सयाज हुन सक्ने मागदावी लिई मुद्दा दायर भएकोले उनी जेलभित्रवाट मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश भएको हो ।