बझाङको कालंगा जलविद्युत आयोजनाको सुरुङमा चार मजदुर फँसे

बझाङको कालंगा जलविद्युत आयोजनाको सुरुङमा चार मजदुर फँसे

बझाङ, १८ कात्तिक ।  जिल्लाको कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा चार जना मजदुर फँसेका छन् । उनिहरु आइतबार दिउँसो ३ बजेदेखि सुरुङ भित्र फसेका हुन् । दसैंतिहारको बिदा पछि काम सुरु गर्नु पूर्व सुरुङ हेर्न भनेर गएका उनीहरु बेहोस भएर सुरुङको बीच भागमा ढलेको बताइएको छ ।

माथिल्लो कालंगागाडको दाडिमगाड भन्ने ठाउँमा रहेको सुरुङ हेर्नका लागि दैलेखको गुराँस गाउँपालिकाका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिकाका महेन्द्र साउद र बझाङको बुङ्गलनगरपालिकाका शेरसिंह धामी र दिलबहादुर रानामगर ट्याक्टरमा सुरुङ भित्र छिरेका थिए ।

सुरुङको मध्यभागतिर पुगे पछि अरु चारजना बेहोस भएर ट्याक्टरबाट खसेको चालक दिलबहादुर राना मगरले बताए । आफुलाई पनि सास फेर्न गाह्रो भए पछि ट्याक्टर चलाएर बाहिर आएको उनले बताएका छन् । सुरुङ भित्र अक्सीजनको अभावका कारण मजदुरहरु बेहोस भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटना लगतै घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन सकेको छैन । अक्सिजनको सिलिन्डर लिएर केही उद्धारकर्ता भित्र पसे पनि उद्धार प्रयास सफल नभएको जनाइएको छ।

उनिहरुको उद्धारको लागि काठमाडौंबाट गोताखोर मगाइएको छ । सशस्त्र प्रहरीको गोताखोर टोली हेलिकप्टर मार्फत आउँदै गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताए । ७५ मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजनाको उक्त सुरुङ तीन सय मिटर लामो छ ।