शेयर बजार घट्यो , साढे १७ करोडमा कारोबार सिमित

शेयर बजार घट्यो , साढे १७ करोडमा कारोबार सिमित

साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६.८८ अंकले घटेर ११३९.२९ बिन्दुमा आइपुगेको छ।  गत हप्ताको अन्तिम दिन बिहीबार ३.१७ अंकले घटेको नेप्सेमा साताको पहिलो कारोबार दिन आइतबार थप गिरावट देखिएको छ भने कारोबार रकम समेत ७ करोड ८८ लाख रुपैयाँले घटेर साढे १७ करोड रुपैयाँमा सिमित भएको छ। 

शेयर बजारमा देखिएका विद्यमान चुनौतिहरुसामु सरकार खरो रुपमा उत्रन नसक्दा लगानीकर्ताहरु शेयरबजार प्रति विश्वस्त हुन नसकी शेयर बजार घट्न पुगेको लगानीकर्ताहरु बताउँछन् । ‘‘शेयरबजारमा मुख्य कुरो भनेको नै लगानीकर्ताको आत्मबल भएको र आत्मबल उचो राख्न सरकारले उचित कदम चाल्न नसकेको प्रष्टै देखिन्छ ।’’ ब्रोकर कम्पनीमा निरास देखिएका एक  लगानीकर्ताले बताए ।  त्यसैले राम्रो मुनाफा आर्जन गर्दै आएका कम्पनीहरुकै शेयरको समेत मूल्य घटेको देखिन्छ । अझै घट्नेपो हो कि भन्ने मानसिकता हावी हुुँदा कारोबार रकम समेत प्रभावित बनेको हो ।  

कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक समेत नकारात्मक देखिएको हो। यस दिन कारोबारमा आएकामध्ये ३९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९० वटा कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै २० वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

आइतबार १६१ वटा कम्पनीको ७ लाख ८४ हजार कित्ता शेयर १७ करोड ५५ लाख रुपैयाँमा खरीद बिक्री भयो ।

आइतबारको कारोबारमा प्रभु बैंकको सबैभन्दा धेरै १ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने देव विकास बैंकको संस्थापक शेयरको पनि १ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै मेगा बैंकको ७९ लाख ४९ हजार नबिल बैंकको ६० लाख ७२ हजार नेपाल बैंकको ५१ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अन्य ५ कम्पनीको ४० लाख रुपैयाँको हाराहारीमा शेयर कारोबार भएको छ।