कात्तिक २२ देखि जनकपुरमा 'लिटरेचर फेस्टिभल'

कात्तिक २२ देखि जनकपुरमा 'लिटरेचर फेस्टिभल'

काठमाडौं, १७ कात्तिक । आईएमई नेपाल लिटरेचर फेस्टिबलको जनकपुर संस्करण हुने भएको छ । महोत्सव यही कात्तिक २२, २३ र २४ गते हुने तय भएको छ ।

महोत्सवका निर्देशक अजित बरालले नेपाल लिटरेचर फेस्टिबल सुरू गरेको केही वर्षदेखि नै आफूहरूलाई अन्य ठाउँमा पनि महोत्सव लैजान अनुरोध आउन थालेको बताए । ‘महोत्सवले हाम्रो सार्वजनिक वृत्त फराकिलो बनाउने, साहित्यको प्रवर्द्धन गर्ने भएकाले महोत्सवका स्थानीय संस्करण विभिन्न ठाउँमा आयोजना गर्नुपर्छ भन्ने लागेको हो,’ बरालले भने, ‘तर विभिन्न कारणले त्यसो गर्न सकेका थिएनौं । अहिले आएर फेस्टिबलको जनकपुर संस्करण आयोजना गर्न पाउँदा औधी खुशी लागेको छ ।’

नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक तथा फेस्टिबलको जनकपुर संस्करणका स्थानीय आयोजक मनीष झाले जनकपुरको साहित्यिक इतिहास पुरानै भए पनि यसलाई जनकपुरको आध्यात्मिक पाटोले छोप्दै आएको बताए । तीन दिन चल्ने फेस्टिबल जानकी मन्दिर, विवाह मण्डप, गङ्गासागर, गोपाल धर्मशाला र जनकपुर रेलवे स्टेसनमा सञ्चालन हुनेछ । फेस्टिबलमा १२ वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछन् ।