संसदको प्रतिक्षामा राष्ट्रिय सुरक्षा परिषद विधेयक

संसदको प्रतिक्षामा राष्ट्रिय सुरक्षा परिषद विधेयक

काठमाडौ । विकास गतिविधि, प्रकोपा व्यवस्थापन र समग्र देशको सुरक्षाका लागि सरकारले नेपाली सेनालाई परिचालन गर्न पाउने गरी तयार पारिएको राष्ट्रिय सुरक्षा परिषद् विधेयक प्रतिनिधिसभाबाट पारित हुने प्रतिक्षामा रहेको छ ।

संविधानको धारा २६६ले प्रधानमन्त्रीको नेतृत्वमा एक ७ सदस्यीय राष्ट्रिय सुरक्षा परिषद्को गठन हुने प्रावधानलाई पूरा गर्न संसद सचिवालयमा यो विधेयक मस्यौदागरी दर्ता गरिएको हो ।

रक्षामन्त्री ,गृहमन्त्री ,अर्थमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख सचिव र प्रधानसेनापति रहने गरी बन्ने यो परिषदले सेनाको परिचालन र नियन्त्रण गर्ने छ ।

यसको खण्ड ६को उपदफा २मा “बाह्य आक्रमण र देशभित्र सशस्त्र विद्रोहका कारण आवश्यक परेमा मन्त्रिपरिषद्को निर्णय अनुसार परिषद्ले गरेको सिफारिश बमोजिम नेपाली सेनाको परिचालनको घोषणा राष्ट्रपतिबाट हुनेछ ”

यसैगरी गम्भीर राष्ट्रिय संकट उत्पन्न भए वा तत्काल  परिषद्को बैठक बसी सिफारिश गर्न नसकेको बेला परिषद्का अध्यक्ष (प्रधानमन्त्री)ले नेपाली सेनाको परिचालन गर्न सिफारिश गर्न सक्ने प्रावधान पनि समावेश गरिएको छ ।

यो विधेयकले परिषद्को काम , कर्तव्य र अधिकारको परिभाषा गरेको छ ।