जुवा खालबाट समातिएका प्रम ओलीका वरिष्ठ सुरक्षा अधिकारी राजेन्द्र शाही सैनिक प्रहरीको जिम्मामा

जुवा खालबाट समातिएका प्रम ओलीका वरिष्ठ सुरक्षा अधिकारी राजेन्द्र शाही सैनिक प्रहरीको जिम्मामा

काठमाण्डौ, १६ कात्तिक । जुवा खेलिरहेका बेला शुक्रबार बेलुकी काठमा‌ण्डौको टोखा नगरपालिका १० बाट पक्राउ परेका मेजर राजेन्द्र शाहीलाई थप कारबाहीका लागि सैनिक प्रहरीको जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी तथा नेपाली सेनाका मेजर हुन् । उनलाई कारबाही गर्न प्रहरीले नेपाली सेनालाई बुझाएको छ ।

कर्तव्य ज्यान, लागू औषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अरु अभियोग लागेका सैनिकलाई सेनाले नै छानबिन र कारबाही गर्ने कानुनी व्यवस्था भएकाले शाहीलाई सैनिक प्रहरीको जिम्मा लगाइएको र अरुलाई भने हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

प्रहरीले टोखा नगरपालिका १० मा सोमबहादुर दर्लामी मगरको घरमा जुवा खेलिरहेका बेला मेजर शाहीसहित घरधनी मगर, जीत गुरुङ, निराजन राणा, बुद्धिलाल मगर, किरणजंग शाह, धर्मराज शाह र काजी गुरुङलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ र ४ बुक तास पनि बरामद गरेको छ ।