प्रसव पीडामा रहेकी महिलाको उद्धार

प्रसव पीडामा रहेकी महिलाको उद्धार

सुत्केरी हुन नसकी प्रसव पीडामा रहेकी एक महिलाको उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–७ की कल्धरी विकको नगरप्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरिएको हो ।

सात महीनाको गर्भ रहेकै अवस्थामा महिलाको शनिबार रातिदेखि अत्यधिक रक्तस्राव भएको थियो । जिल्ला अस्पताल बाजुरामा पुगाइएकी उनलाई जिल्ला अस्पताल मार्तडीमा उपचार हुन नसकेपछि नगर प्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरी एम्बुलेन्समार्फत अछाममा रहेको बयालपाटा अस्पतालमा पठाइएको छ । 

विकका श्रीमान् नर विक रोजगारीको सिलसिलामा भारत गएका र घरमा आफन्तजन कोही नहुँदा बयालपाटा अस्पतात पु¥याइएपछि हाल महिला र बच्चाको अवस्था सामान्य रहेको आफन्त डबल विकले बताए। बच्चा जन्मिनका लागि ४० हप्ता अर्थात् २८० दिन पुग्नुपर्ने भए पनि २९ हप्ता तीन दिनको अवधिमा नै महिलालाई सुत्केरी पीडा भएपछि जिल्ला अस्पताल मार्तडी पु¥याइएको थियो । जिल्ला अस्पतालमा ‘सिजेरियन सेक्सन’मा चिकित्सक नभएको र शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने भएकाले बयालपाटा अस्पतालमा ‘रिफर’ गर्नुपरेको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख चिकित्सक रोहित गिरीले जानकारी दिए ।

हप्तामा तीनदेखि चार जना यस्तै प्रकृतिका बिरामीहरु जिल्ला अस्पताल बाजुरामा आउने गरेको गिरीले जानकारी दिए । विगत केही वर्षयता निकसाइमन इन्स्टिच्युट (एनएसआई) बाट दुई जना डाक्टर हुँदा केही सहज भएको थियो । हाल एक जना डाक्टर टीका राईको सरुवा भएको छ भने एक जना तिहार बिदामा हुँदा जिल्लामा शल्यक्रिया गर्न पनि निकै अप्ठेरो भएको छ । 

“विगतमा सुत्केरी महिलाको शल्यक्रिया गर्दा केही समस्या पनि नआएका हैनन्, काम गर्दागर्दै स्थानीयवासीबाट साथ पाइएन । अहिले त हामीसँग जनशक्ति पनि छैन जोखिम मोल्न सकेनौँ म आफैँ गएर बिरामीलाई गाडीमा राखेर राति नै ‘रिफर’ गरेको छु”, डाक्टर रोहितले भने । जनचेतनाको कमी, स्वास्थ्य र पोषणको अभावले यस्ता घटनाहरु बढिरहेको पाइएको छ ।

प्रसव पीडामा छट्पटाइरहेकी विकलाई सहयोग गरी आमा र बच्चा दुवैको ज्यान बचाउन सकिएकामा नगरप्रमुख बडुवालले खुशी व्यक्त गरे । जिल्ला अस्पतालमा यस्ता घटनाहरु बारम्बार आइरहे पनि अस्पतालको क्षमता विस्तार गरी आवश्यक सेवासुविधा पु¥याउन आवश्यक व्यवस्थापनका लागि सम्बद्ध निकायमा आफू लागिपरेको नगरप्रमुख बढुवालले बताए । केही महीनायता सुत्केरी व्यथाकै कारण बाजुरामा दुई महिलाको ज्यान गइसकेको छ ।