मंसिर १४ को उपचुनावका लागि आजदेखि आचारसंहिता जारी 

मंसिर १४ को उपचुनावका लागि आजदेखि आचारसंहिता जारी 

काठमाण्डौ, ८ कात्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपचुनावका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि चुनाव नसकिएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो ।

मङ्सिर १४ गते सम्पन्न हुने उपचुनावबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि चुनाव हुँदैछ ।

यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो । आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

निर्वाचन आचारसंहितामा चुनाव नसकिएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ । राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारीलाई यो आचारसंहितालले समेटेको छ ।