फौजी किराको फैलावट : निराश छन् किसान

फौजी किराको फैलावट : निराश छन् किसान

धानबाली भित्र्याउने तरखरमा रहेका थुप्रै किसान यतिबेला निराश छन् । दुःख गरेर लगाएको धानबाली भित्र्याउने बेलामा फौजी किराले नष्ट बनाएपछि किसानहरु भोलिका दिनमा के खाएर बाँच्ने भन्ने चिन्तामा छन् । किसानलाई यति ठूलो विपत्ति आइलाग्दा पनि हाम्रा सरकारी निकाय क्षतिको अनुमानित तथ्याङ्क भट्याएर बसेका छन् । व्यवस्था परिवर्तन भए पनि हाम्रा निकायहरुको काम गर्ने शैलीमा परिवर्तन हुन नसकेको र  तिनको भूमिकालाई यो सन्दर्भ निकम्मा सावित गरिदिएको छ ।

बाली भित्र्याएर वर्षभरि खान पुग्ने अन्न भण्डारण गर्ने तथा बाँकी अन्न बिक्री गरेर बाली लगाउँदा भएको खर्च उठाई दैनिक जीविका सहज बनाउने आशामा रहेका मूलतः मध्यम र साना किसान यतिबेला फौजी किराको आक्रमणबाट सबैभन्दा बढी पीडित छन् । सरकार र सम्बन्धित निकायले समयमै ध्यान दिन र फौजी किरा नियन्त्रणका लागि पहल नगर्ने हो भने कालान्तरमा यो समस्याले विकराल रुप लिन सक्छ ।

अन्न किसानका लागि मात्र होइन, सबैका लागि आवश्यक पर्छ । अहिले किसानलाई मात्र मर्का परेजस्तो देखिए पनि फौजी किराको आक्रमणले निम्त्याएको यो समस्या सामूहिक समस्या हो । केही वर्ष अघि अफ्रिकी देशहरुमा यस्तै प्रकारको किराको आक्रमणले त्यहाँको सामाजिक जीवनमात्र होइन, राजीतिलाई नै अस्तव्यस्त बनाएको र कतिपय देशमा आन्तरिक द्वन्द्वको विजारोपण गरेको थियो । तीमध्ये कयौं देशहरु अझै पनि सामान्य अवस्थामा फर्किनै सङ्घर्ष गरिरहेका छन् ।

राजनीतिक रुपमा सङ्क्रमणकालबाट मुक्त नभइसकेको हाम्रोजस्तो देशमा फौजी किराको आक्रमणले ल्याउन सक्ने सम्भावित राजनीतिक र सामाजिक समस्याका बारेमा सरकार र राजनीतिक नेतृत्वले अफ्रिकी देशहरुमा भएका घटनाबाट चनाखो हुन र पाठ सिक्न नसक्ने हो भने दुर्घटना त्यति टाढा छैन । फौजी किराको आक्रमण यतिबेला धानबालीमा मात्र देखिए पनि बेलैमा यसको नियन्त्रण गर्न र किसानका समस्या समाधान गर्न नसके आगामी दिनमा यसले सरकार र परिवर्तनका विरुद्ध नै मानव फौज निर्माण गर्न सक्छ । फौजी किरा नियन्त्रणका लागि सबै तहका सरकार गम्भीर रहेको अनुभूति किसानलाई गराउन सक्नु र मर्कामा परेका किसानलाई उचित राहतको व्यवस्था गर्नुको विकल्प छैन ।

तर, देशको राजनीतिक–सामाजिक जीवनमा दूरगामी असर पु¥याउने यस्तो संवेदनशील विषयमा क्षतिको अनुमानित तथ्याङ्क प्रस्तुत गरेर दिन कटाउने र मानो पचाउने परम्पराकै निरन्तरताबाट हाम्रो कर्मचारीतन्त्र मुक्त हुन नसक्नु र राजनीतिक नेतृत्व पनि त्यसभन्दा माथि उठ्न नसक्नु दुःखलाग्दो विषय हो । मुखमा आएको हजारौं बिघामा लगाइएको धानबाली फौजी किराको आक्रमणबाट नष्ट भइसक्दा र त्यो क्रम गुणात्मक रुपले बढिरहँदा पनि सरकारले त्यसप्रति प्रभावकारी काम गर्न सकेको छैन । समस्याबारे किसानहरु चिच्याइरहँदा पनि सरकार कानमा तेल हालेर बसेजस्तो देखिएको छ । फौजी किराको आक्रमणबाट आक्रान्त किसान सरकारी उदासिनताबाट झनै पीडित देखिएका छन् । समयबद्ध साप्ताहिकबाट