सीको नेपाल भ्रमण र नेपाल–चीन व्यापार

 सीको नेपाल भ्रमण र नेपाल–चीन व्यापार

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा क्रममा १८ वटा सम्झौता र दुुई वटा लेटर अफ एक्सचेन्ज आदानप्रदान भए । २३ वर्षपछि चिनियाँ पक्षबाट भएको राष्ट्राध्यक्षस्तरको नेपाल भ्रमणलाई चौतर्फी चासो थियो । त्यो चासोलाई सम्बोधन गर्न यी सम्झौता पर्याप्त थिए वा थिएनन् भन्ने विषय सकारात्मक र आलोचनात्मक दुवै पाटाबाट केलाउन सकिन्छ ।

यी आफ्ना दृष्टिकोणमा भर पर्ने विषय भए । केही आलोचनात्मक हुने हो भने ती सम्झौतालाई त्यत्रो ठूलो उपलब्धिका रुपमा अथ्र्याउन नसकिएला । झनै विश्वको शक्तिशाली मुलुकका कार्यकारी राष्ट्रप्रमुख आएर नेपालका विकासमा सघाउने प्रतिवद्धता गर्नु नै महत्वपूर्ण हो । विश्वले देख्ने गरी भएका प्रतिवद्धतालाई ऐतिहासिक मान्नुपर्ने हुन्छ । त्यस अर्थमा राष्ट्रपति सीको भ्रमण महत्वपूर्ण उपलब्धिका रुपमा मान्नुपर्छ ।

भ्रमणलाई विशिष्टरुपमा अथ्र्याउँदै गर्दा यसले ल्याउने परिवर्तनका विषयमा गहिरो गरी बुझ्नुपर्ने हुन्छ । भ्रमणलाई आर्थिक, राजनीतिक, कूटनीतिक, सांस्कृतिक एवं धार्मिक तवरले व्याख्या गर्न सकिन्छ । नेपाल र चीनबीच इतिहास केलाउने हो भने यी सबै विषयमा उत्तिकै दूरगामी महत्व र विशेषताका छन् । सबै पाटापक्षले महत्वपूर्ण अर्थ राख्छन् । भौगोलिक सिमाना जोडिएको र नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने जनताको रहनसहन र भेषभूषा चिनियाँसँग मिल्लोजुल्दो भएकाले पनि सांस्कृतिक पाटो अत्यन्त महत्वपूर्ण छ ।

त्यसैगरी विश्वकै सबैभन्दा ठूलो संख्यामा बौद्ध धर्मावलीम्बी भएको चीन र सो धर्मका प्रवद्र्धक गौतम बुद्धको जन्मस्थल भएको नेपालबीचको धार्मिक सम्बन्ध सदियौ वर्ष पुुरानो छ । बौद्ध धर्म विश्वमै विस्तार हुनुका साथै नेपाल र चीनको सम्बन्धलाई जनस्तरमा जोड्ने मनोवैज्ञानिक पाटो भएको छ ।

त्यसैगरी भूमण्डलीकृत विश्वका कुनै पनि देश राजनीतिक रुपमा अलग हुन सक्दैन । एक देशको राजनीतिले अर्को देशलाई कुनै न कुनै रुपमा प्रभावित तुल्याउँछ । राजनीतिलाई व्यवस्थित गर्ने अर्को पक्ष भनेको कूटनीतिक आजको विश्वमा झनै महत्वपूर्ण बन्दै गएको छ । राजनीतिले सबै क्षेत्रमा प्रतिनिधित्व गर्ने भएकाले राजनीतिक सम्बन्ध महत्वपूर्ण हो ।

आजको विश्वलाई थप गतिशील र एवं फलदायी तुल्याउने मुुख्य कडी भनेको अर्थतन्त्र हो । आर्थिक पाटो नसुध्रिकन विश्वका कुनै पनि देशका जनता खुशी रहन सक्दैनन् भन्ने यथार्थ आजको विश्वले प्रस्तुत गरिसकेको छ । जुन कुनै देश आर्थिक विकासका लागि मरिमेटेर लागेको हामीले देख्न सक्छौं । त्यसैले देश र जनताको विकास वा खुशी आर्थिक क्रियाकलापसँग गाँसिएको छ । यो विश्व यथार्थबाट नेपाल अछुतो रहन सक्दैन । 

आर्थिक, जनसंख्या, सामरिक शक्ति र भौगोलिक हिसाबले शक्तिशाली मानिएको चीनको शक्तिशाली नेतृत्व नेपाल आउँदा नेपालले आर्थिक पाटोबाट विश्लेषण गर्नैपर्छ । राज्यस्तरमा यस भ्रमणलाई विशेषगरी आर्थिक पाटोबाटै केलाउने एउटा महत्वपूर्ण पाटो भए पनि जनस्तर र स्वतन्त्र तवरले विश्लेषण पनि गर्न आवश्यक छ । २३ वर्षपछि भएको यो स्तरको भ्रमणलाई झ्वाट्ट हेर्ने भन्दा पनि यसबीचमा भएका विश्व परिवर्तनलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस अवधिमा नेपालमा धेरै राजनीतिक परिवर्तन भएका छन् भने आर्थिक पाटाहरु र जनताको जीवनस्तरमा उल्लेख्य परिवर्तन आएको छ । नेपाली जनताको क्रय शक्ति वृद्धि भएको छ । त्यस्तै चिनियाँ भूगोलमा ठूलो परिवर्तन आएको छ । यस अवधिमा चिनियाँले ठूलो फड्को मारेका छन् । 

यो भ्रमणका अवसरमा व्यापार र लगानीका लागि सहजीकरण गर्ने भने पनि नेपालको आर्थिक क्रियाकलापलार्ई माथि उठाउने कुन कुन विषयमा सम्झौता भए त तोकिएर ठम्याउन सकिने अवस्था छैन । पूर्वाधार विकासका ठूला विषयमा विचारविमर्श भए र उपलब्धि पनि हासिल होला तर नेपाल र नेपली उत्पादन वृद्धि गर्ने तथा आफ्ना दुई छिमेकीसँग चुलिँदै गएको व्यापारघाटालाई न्यून गर्ने विषयमा कति प्रगति भयो भन्ने पाटो नेपालका लागि महत्वपूर्ण हो । विगत वर्षमा नेपाल र चीनबीच भएका व्यापारिक कारोबारलाई केलाउँदा निराशा मात्रै हात पर्छ । आशा गर्ने आर्थिक सूूत्र खासै पाइँदैन । भएका सम्झौताले राजनीतिक पाटोमा ठूलो अर्थ राख्लान तर आर्थिक हिसावले ठूलो अर्थ राख्न सक्ने ल्यागत राख्दैन ।

नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो मुलुक चीन हो । अहिले भन्दा पनि केही वर्षपछि पर्याप्त पूर्वाधार विकास भएपछि झनै टाउको दुखाईको विषय बन्ने स्पष्ट छ । पछिल्लो समयको आँकडा विश्लेषण गर्ने हो भने प्रति दिन चीनसँगको व्यापार घाटा चुलिँदो छ । सरकारी तथ्यांक विश्लेषण गर्ने हो भने गत आर्थिक वर्षमा २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ । निर्यात भने २ अर्ब १० करोड रुपैयाँ मात्रै भएको छ । यो अत्यन्त भयावह अवस्था हो । यो अवस्था रोकिने अवस्था देखिँदैन ।

चीनसँग चालु आर्थिक वर्षको पहिलो दुई महिनाको व्यापार घाटा ४० अर्ब २७ करोड रुपैयाँ पुगेको छ । २०७६ र ७७ को पहिलो दुई महिनामा ४० अर्ब ५६ करोड रुपैयाँको आयात भएको छ भने निर्यात २९ करोड रुपैयाँको मात्रै छ । यो तथ्यांकले कुन ग्राफमा दुई देशबीचको व्यापारघाटा चुलिँदै छ भन्ने प्रस्ट संकेत गर्छ । पूर्वाधार पूर्वाधार भन्ने एकोहोरो नारा निरन्तर लाग्ने गरेको तर उत्पादन प्रणाली बसाउने विषयमा खास बहस गरेको पाइएको छैन । पूर्वाधार विकास र नाका खोल्दा पनि ठूला देशको मास उत्पादनले साना देशको उत्पादनलाई निरिह बनाउने नै हो ।

त्यसकारण पाँच वर्षका आर्थिक  तथ्यांक हेर्दा चीन र नेपालबीचको आयात र निर्यातको खाडल चुलिएको चुलिएइ छ । अहिले चीनबाट माछामासु, कच्चा प्रदार्थ, कस्मेटिक, चकलेट, फलफूल, फूल, तरकारी, इलेक्ट्रोनिक्स, फर्निचर, लत्ताकपडा तथा जुत्ता, मेसिनरीलगायत वस्तुहरू मात्रै आएका छन् । अन्तरदेशीय सडक सञ्जाल विकास हुने र नेपालको उत्पादन प्रणालीमा कुनै परिवर्तन नआउने हो भने नेपालको अवस्था कस्तो होला कल्पना गर्न सक्ने अवस्थामा रहँदैन, समयमै चेतना हुनुपर्छ । त्यसकारण उच्चस्तरको भ्रमणबाट मख्खिने मात्र होइन, आफ्नो क्षमता अभिवृद्धि गर्न सकिएन त्यसले निम्त्याउने समस्या झनै विकराल हुनेछ । समयबद्ध साप्ताहिकबाट