काँचो जुनार टिप्दै किसानः ७० प्रतिशत उत्पादन घट्यो

काँचो जुनार टिप्दै किसानः ७० प्रतिशत उत्पादन घट्यो

प्रेम दाहाल

सिन्धुली । नेपालका सुन्तला, जुनार चिनियाँ बजारमा विक्रीका लागि पठाउन नेपाल सरकार र चीन सरकारवीच केही दिनअघि द्विपक्षीय सम्झौता भए पनि नेपालका तर्फबाट जुनार चिनियाँ बजारमा नजाने देखिएको छ ।
सिन्धुलीको बजारमा काँचो जुनार छ्याप्छ्याप्ती आएसँगै किराको प्रकोप पनि त्यत्तिकै बढ्न थालेपछि यो समस्या देखिएको हो ।  जुनार पाक्ने समय आउन करिव २ महिना बाँकी रहँदा किसानहरुले जुनार उत्पादनमा कमी आउने देख्दै काँचो र अमिलो जुनार बजारमा पठाउन थालेका हुन् ।

यस बर्षको जुनार टिप्ने सिजन सुरु भएको छैन, तर बजारभरी काँचा र हरिया जुनार देखिनु दुःखद् हो, सिन्धुली जुनार विकास संघका अध्यक्ष कर्णवहादुर आलेले भने । गत वर्षको तुलनामा यस वर्ष बगैंचामा जुनार झण्डै आधा कम छ, त्यसमा पनि किसानले काँचो जुनार टिपेर बेचिरहेका छन्, यसले सिजनमा अभाव सिर्जना गर्ने  उनको भनाइ रहेको छ । अध्यक्ष मगरका अनुसार भएको जुनारमा विभिन्न रोग देखापरेको छ, बोटमा बग्रेल्ती झर्न थालेका छन् र झरेका भित्र किरै किरा छन् । उनी अगाडि भन्छन्ः सिन्धुलीमा जुनार मात्रै होइन, कागती, निवुवा र सुन्तलामा पनि त्यो समस्याले सताउन थालेको छ । त्यही कारणले पनि यतिवेला सिन्धुलीका जुनार उत्पादक किसानहरु चिन्तित बनेका छन् ।

फुल फुल्ने समयमा खडेरी पर्यो, राम्ररी फुल्न पनि सकेन, बोटमा थोरै दाना लागेको थियो, अहिले त्यही बाँकी रहेको दानामा पनि किराले सतायो, गोलन्जोर ५–का जुनार किसान तिलकवहादुर थापाले भने । सिन्धुलीको कमलामाई नगरपालिका अगाडि भेटिएका थापाले वजारमा बिक्रीका लागि राखिएको निवुवा देखाउँदै भने– त्यो मेरै वगैंचाको निवुवा हो, टिप्ने बेला भएको छैन, तर के गर्ने सिजनसम्म राखियो भने त बोट मात्रै बाँकी रहने भयो, त्यसैले आजै टिपेर वेच्न ल्याइदिएँ । सिजनमा १५ रुपैयाँ प्रतिगोटा बिक्री हुने निवुवा अहिले ५ रुपैयाँमा बेचिदिएको उनले बताए ।

थापाका अनुसार निवुवामा किराको जस्तो प्रकोप देखिएको छ, जुनार त्यो भन्दा धेरै फरक छैन । किराका कारण जुनार उत्पादनमा आधा घटेको र  जुनार सुपरजोन मार्फत गरिएको किरा नियन्त्रणको काम किसानलाई अलमल्याउने मात्रै रहेको उनको भनाइ छ । दानाभित्र स्याउ स्याउँती औंसा किरा, ध्वासे रोग र फल चुस्ने पुतलीको प्रकोपले जुनार उत्पादन सखाप हुन थालेको देखिएको छ ।

गत बर्षको सिजनमा जुनार बिक्री गरि ९ लाख रुपियाँ भन्दा बढी आम्दानी लिएका गोलान्जोर गाँउपालिका–५ चिसापानीका किसान योगेन्द्र थापा यो बर्ष आम्दानी ७० प्रतिशतले घटेपछि निरास बनेका छन् । मेरो मात्रै होइन, यस वर्ष सबै किसानहरु असिना, खडेरी र किराको प्रकोपले पिडित बनेका छन् । ४ लाख ४५ हजारमा अघिल्लो साल बेचिएको एउटा जुनार वगैंचा यस वर्ष १ लाख ३५ हजारमा विक्री भएपछि उत्पादन कस्तो भयो ? उनले दुखेसो पोख्दै भने ।

जुनारको दानामा पुतली बसेर चुस्ने र चुसेको ठाँउमा ढुुसी आएर रुखबाटै दाना झर्ने समस्या देखिएको छ । जुनार किसानले औंसा किरा र कालो ध्वासे रोग झेली रहेको बेला पछिल्लो समयमा आएर थप रोगहरु देखिएको उनले सुनाए ।

नाकाजोलीका किसान अर्जुन कोइराला रोग किराको प्रकोपले २९ रोपनी जमिनमा लगाएको एक हजार छ सय बोट रहेको जुनारको बगैंचामा ७० प्रतिशतले उत्पादन घटेको बताउँछन् । उनका अनुसार
एकातिर रोगको प्रकोप छ भने अर्कातिर हरियो जुनार बजारमा लैजाँदा नेपालको मौलिक फलका रुपमा चिनिएको जुनार आम उपभोक्ताले काँचैमा खाँदा नकारात्मक प्रभाव पर्ने उनको भनाइ रहेको छ । सिन्धुलीका अगुवा जुनार किसानका रुपमा चिनिएका कोइराला जुनारको सिजन मंसिरको पहिलो सातादेखि पुस महिनाभरि रहेको किसानले बताएका छन् । यतिखेर जुनार क्षेत्र हरियो बन्ने गर्दछ ।

शिक्षक तथा तीनकन्याका किसान लोकबहादुर आले मगरको गुनासो पनि कोइरालाको भन्दा कम छैन । गएको सिजनमा जुनार बिक्री गरी नौ लाख रुपिया आम्दानी लिएका उनले जुनार बिक्रीको सिजन सुरु हुने बेलामा अनेक प्रकारका रोगको सामना गर्नु परेको बताए । मगरका अनुसार तीनकन्याका सबै किसानको मुख्य आम्दानीको स्रोत भएको बताउँदै आम्दानी भित्र्याउने बेलामा रोग किराले सखापै बनाउने भयो । उनले भने–विभिन्न रोगको प्रकोपले मेरो बगैचामा रहेको जुनारका पाँच सय भन्दाबढी बोट प्रभावित पारेको छ ।

उनका अनुसार जुनारको चिचिला लाग्ने बेलामा खडेरीले उत्पादन प्रभावित गर्यो । त्यसपछि कालो ध्वासे रोग, किरा र पुतलीको प्रकोपले जुनार उत्पादन आधा घटेको छ । तीनकन्यामा मात्रै जुनार उत्पादन ६० प्रतिशतले घट्ने अनुमान किसानहरुको छ । स्मरणीय छ, आले मगर प्रधानमन्त्री कृषि आधुनिकिकरण जुनार सुपरजोनका तर्फबाट रोगकिरा नियन्त्रणका लागि विषादी छिट्ने टोलीका लिडरसमेत हुन् । तर अहिले उनकैं बगैंचा प्रभावित बनेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमका अनुसार फल चुस्ने पुतली (सुई किरा) का कारण कुनै बगैचामा आधा फल झरेको पाइएको छ । फल चुस्ने पुतली नयाँ समस्याका रुपमा थपिएको जानकारी दिदै सुपर जोन कार्यक्रमका प्रमुख देवराज अधिकारीले ओसिलो बगैंचामा बढी उक्त पुतलीको प्रकोप देखिएको बताए ।

जुनार उत्पादन बढी हुने क्षेत्र किराँते, तमौरे, फेदाहा, खनियाखर्क र जलकन्या लगायतका ठाँउमा उक्त पुतलीको प्रकोप बढी पाइएको उनले जानकारी दिए । औंसा किरा नियन्त्रणका लागि क्षेत्रगत किरा नियन्त्रण कार्यक्रममा जुनार क्षेत्रका ७० प्रतिशत बगैंचा समेटिएका र प्रोटिन बेट नामक बिषादी छर्कदा प्रभाव सकारात्मक पाइएको उनले बताए । उनले भने, औंसा किराबाट जुनार गत बर्ष ४० प्रतिशत क्षति थियो भने यो बर्ष उक्त बिषादी छर्कदा १०÷ १२ प्रतिशतमा झरेको छ । शूून्य नै पार्न चाहि सकिदैन । औंसा किरा नियन्त्रणका लागि प्रोटिन बेट बिषादी खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिईएको जोन सञ्चालक समितिले जनाएको छ । तर त्यसको प्रभावकारिता भने कालो ध्वासे ढुसी रोग सिजनको नियमित रोग भएको जानकारी दिदै सुपरजोन प्रमुख अधिकारीले भने– लाई, कत्ले किरा, सुस्ने किराका कारण जुनारमा यो रोग लाग्दछ । यसलाई सुरुमै नियन्त्रण गर्न सके रोगबाट बचाउन सकिन्छ । यो रोगले जुनारको उत्पादन नघटाई गुणस्तर भने घटाउने उनको भनाइ छ ।

प्राविधिक रुपमा किसानलाई बिषादी छर्किन र सजगता अपनाउन सुझाएको जुनार सुपर जोन प्रमुख अधिकारीको भनाइ छ । जुनार सुपर जोनले जुनार खेतीको आफ्नो कार्य क्षेत्र रहेको एक हजार हेक्टर मध्ये एक सय हेक्टरमा लगाईएको जुनार खेतीमा कालो ध्वासे ढुसी रोगबाट प्रभावित भएको जनाएको छ ।

सिन्धुली जिल्लामा अहिलेसम्म एक हजार ३२५ हेक्टर जमिनमा जुनार खेती हुदै आएको र त्यसमध्ये ६२७ हेक्टरमा गरिएको जुनार खेतीले फल दिदै आएको छ । जिल्लामा गत बर्ष आठ हजार पाँच सय मेट्रिक टन जुनार उत्पादन भएकोमा यो वर्ष निकै कम हुने सिन्धुली जुनार विकास संघले अनुमान गरेको छ ।