पत्रकारितामा भाषाको बहशः ‘तिमी’ कि ‘तपाईँ’ ?

पत्रकारितामा भाषाको बहशः ‘तिमी’ कि ‘तपाईँ’ ?

फणीन्द्र फुयाल ज्वाला 

यतिबेला नेपालको पत्रकारिता क्षेत्रमा एउटा बहस सुरु भएको छ । त्यो बहस हो समाचारमा कसैलाई सम्बोधन गर्दा तँ, तिमी, तपाई, हजूर, मौसुफ के प्रयोग गर्ने ?

समाचारमा समाजका कुन तह, तप्का र ओहदाका मानिसलाई कस्तो भाषा प्रयोग गरेर सम्बोधन गर्ने भन्ने कुनै निश्चित नियम छैन । बरु बिभिन्न समाचार संस्था र समाचार एजेन्सीले आफ्नो शैली पुस्थितका ‘स्टाइल बुक’ तयार पारेका हुन्छन् जस अनुसार ती संस्थाबाट सम्प्रेषण भएका समाचार पठाक, दर्शक तथा श्रोताबीच पुग्ने गर्छ ।

पत्रकारितामा सकेसम्म समाजका हरेक वर्ग, तह, तप्का र ओहदाका व्यक्तिहरुलाई सामान आदरार्थि शव्द प्रयोग गर्दा राम्रो हुन्छ । किनकि पत्रकार सन्देश सम्बाहक मात्र हो त्यस बाहेक ऊ केही होइन । कसैमाथि भाषिक विभेद गर्ने अधिकार पत्रकारलाई छैन । ऊ कानून भन्दा माथि पनि छैन । कार्यपालिक, न्यायपालिका र व्यवस्थापिकाले गर्ने कार्यको उसले निगरानी र पहरेदारी गर्नुपर्छ तर सही वा गलत, न्याय वा अन्याय त्यसको अन्तिम फैसला गर्ने काम भने पत्रकारको होइन ।

त्यसैले कुनैपनि समाचार संस्थामा आवद्ध पत्रकारले प्रयोग गर्ने भाषामा समानता भने हुनै पर्छ । उच्च ओहदामा पुगेको व्यक्तिलाई उच्च आदरार्थी,  तल्लो ओहदा र कुनै पनि ओहदामा नरहेको व्यक्तिलाई तल्लो स्तरको सम्बोधन गर्ने काम पत्रकार र पत्रकारिता भाषामा हुनुहुदैन ।  

के हो भाषा ?
मानव मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो । भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरुको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति हुन्छ ।

प्रायः भाषालाई लिखित रुपमा व्यक्त गर्नका लागि लिपिहरुको सहायता लिनु पर्छ । भाषा र लिपि, भाव व्यक्तिकरणका लागि दुई विभिन्न माध्यम हुन् । कुनै एउटा भाषालाई कयौँ लिपिहरुमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरुलाई एउटै लिपिमा पनि लेख्न सकिन्छ ।

पत्रकारिता भाषा:

भाषा आधारभूत सञ्चार माध्यम हो । छापा र विद्युतीय भन्ने प्राविधिक वर्गीकरण मात्र हो । चाहे लेखियोस् वा बोलियोस्, सञ्चारको वास्तविक माध्यम त भाषा नै हो ।

पत्रकारिता भाषा सिधा, सरल र सहज हुनुपर्छ । पत्रकारिता भाषाको मूल उद्देश्य भाषाज्ञानको प्रदर्शन गर्ने नभई खबर, सूचना वा सन्देश धेरै भन्दा धेरै मानिसको कान वा आँखासम्म पु¥याउने नै हो । यसकारण पत्रकारिता र साहित्यको भाषा फरक फरक हुन्छ । त्यहि भएर पत्रकारितालाई हतारको साहित्य पनि भन्ने गरिन्छ । समाचार हतारमा लेखिने साहित्य भएकाले यसमा भाषिक त्रुटि हुन सक्छन् । पत्रकारिताको मूल उद्देश्य त छोटो समयमा धेरै भन्दा धेरै सूचना र सन्देश प्रवाह गर्ने हो न कि साहित्यको जस्तो कल्पना ! हतारमा लेखिने पत्रकारिता भाषामा भाषिक र व्याकरणीक सुद्धासुद्धी सतप्रतिशत गर्न सकियो भने त त्यो झन ‘सुन माथि सुगन्ध’ नै भैहाल्यो ।

यसरी उठ्यो बहस:

भाषाको बारेमा ठूलो बहस जारी छ । भाषा जोगाउन र एकरुपता ल्याउन सरकारले भाषा आयोग नै गठन गरेको छ । भाषामा प्रयोग भइरहेका आयातित शव्दहरुले मौलिकता नै लोप हुने हो कि भन्नेमा भाषाविद्हरु चिन्तित छन् । नेपाली भाषामा ठेटपना हराउँदै गएको र हाइब्रिड भाषाले पत्रकारितामा मान्यता पाउँदै गएको छ । वर्तमान नेपाली साहित्यमा पनि आख्यानकारहरुले प्रयोग गर्ने भाषा पनि उरन्ठेउलो, उत्ताउलो हुँदै गएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित प्रज्ञा प्रतिष्ठनको एक कार्यक्रममा पत्रकारहरुले समाचारमा सबैलाई ‘तिमी’ भनेर सम्बोधन गरेको भन्दै उनीहरुले आफ्ना बा-आमालाई पनि तिमी नै भन्छन् होला भन्ने आशयको अभिव्यक्ति दिए । प्रधानमन्त्रीको यो अभिव्यक्तिका बारेमा पत्रकारिता क्षेत्रमा निकै छलफल, बहश भयो र यो बहस अझै टुंगिएको छैन । 

पत्रकारिता क्षेत्रका अग्रज, बिद्वानहरु, तथा आमसञ्चार तथा पत्रकारिताका केही प्राध्यापकहरुले समेत यस बारेमा बिभिन्न सञ्चारमाध्यमा यसबारे विचारविमर्श गरेका छन् । केहीले तर्क गरेका छन्– राज्यका प्रमुख पाँच ओहदामा बस्ने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखका समाचारमा 'तपाईँ भन्ने आदरार्थी शव्दको प्रयोग गर्दा राम्रो हुन्छ । केही बिद्वानहरु भन्छन्, पत्रकारको आँखामा सबै समान भएकाले सबैलाई कि ‘तिमी’, कि ‘तपाईँ’ सम्बोधन गर्नुपर्छ । केही अग्रज पत्रकारहरु देशको २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा पत्रकारले पनि तोकतन्त्र र समानताका लागि धेरै ठूलो योगदान गरेका हुनाले कसैलाई ‘तिमी’ र कसैलाई ‘तपाई’, ‘हजूर’ र ‘मौसूफ’ प्रयोग गर्न नहुने तर्क गर्छन् । 

तर नेपालका चारवटा सरकारी संस्थाहरु रेडियो नेपाल, नेपाल टेलिभिजन, रासस, र गोरखापत्र संस्थानका प्रकाशनहरुले भने सबैलाई समान आदरार्थी शव्द ‘तपाईँ’ प्रयोग गर्ने गरेको पाइन्छ । 

त्यसो तः नेपाली मिडियाको नियमक निकाय प्रेस काउन्सिल नेपालले पनि समाचारमा ‘तिमी’ वा ‘तपाईँ’ के प्रयोग गर्ने भन्ने ठोस नियम बनाएर कार्यान्वयन गर्नका लागि कुनै पनि सञ्चारमामध्यमलाई निर्देशन दिएको छैन । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिलले आपसरी छलफलमा निर्माण गर्ने पत्रकार आचारसंहितामा पनि समाचारमा के कस्तो आदरार्थी भाषा प्रयोग गर्ने भन्ने ठोस रुपमा उल्लेख भएको पाईँदैन । 

रहलपहल:

हरेक सामाजिक विज्ञानमा शैद्धान्तिक कुरा जे जस्तो भए पनि व्यवहारिक पाटा र पक्ष भने फरक हुन्छन् । शिद्धान्तले मात्रै व्यवहार चल्दैन । व्यवहारमा समाजका मूल्य, मान्यता, रिती, थिती, सामाजिक धारणा र मनोविज्ञानको पनि अध्ययन गर्न जरुरी हुन्छ । हरेक ‘सोसल साइन्स’को सिद्धान्तको पछाडी ‘नर्मेटिभ साइन्स’ पनि रहेको हुन्छ ।

त्यसैले यदि देशका पाँच प्रमुख ओहदामा बसेका व्यक्तित्वहरुलाई ‘तपाई’ भन्ने आदरार्थि शव्द प्रयोग गर्ने र बाँकीलाई ‘तिमी’ भन्ने हो भने यसले पनि समस्या निम्त्याउन सक्छ । एउटै कार्यक्रममा राष्ट्रपति, सभामुख, प्रधानमन्त्री र अन्य मन्त्रीहरु उपस्तिथ भए र उनीहरु सबैले मन्तव्य राखे भने पत्रकारले एउटै समाचारमा कसैलाई ‘तिमी’ र कसैलाई ‘तपाईँ भनि सम्बोधन गर्न मिल्छ ? समाचारमा पत्रकारले यस्तो भाषिक विभेद गर्यो भने त झन जग हँसाई हुन्छ, पत्रकारिता भाँडमा जान्छ ।

त्यसैले पत्रकारिता भाषमा ‘तिमी’ र ‘तपाईँ मध्ये के प्रयोग गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नु त ठिकै हो तर त्यसको निर्णय गर्ने अधिकार भने सम्बम्न्धित पत्रकार वा सञ्चारगृहमै दिँदा वेश होला । पत्रकारितामा देखिएका यी र यस्ता अन्य ‘इस्यू’लाई परिपक्व हुनका लागि र ‘बोल्ड डिसिजन’ गर्नका लागि यस्ता बहस र छलफल भने पर्याप्त रुपमा हुन जरुरी छ । समयबद्ध साप्ताहिकबाट