मोहोरा बनाइएका महरा

मोहोरा बनाइएका महरा

सूर्य खड्का

प्रधानमन्त्री केपी ओलीले कात्तिक २ गते  प्रकाशित एउटा छापा अन्तर्वार्तामा एमसीसी अर्थात मिलेनियम च्यालेन्ज कर्पोरेशन संसदबाट अनुमोदन नगरेर तत्कालीन सभामुख कृष्णबहादुर महराले गल्ती गरेको स्पष्ट पारेका छन ।

प्रधानमन्त्रीले अन्तर्वार्तामा स्पष्ट शव्दमा भनेका छन, ‘त्यसमा तत्कालीन सभामुखजी (कृष्ण बहादुर महरा)ले अलि बेठीक काम गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरुका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो ।’ हाल महरा सभामुखबाट निवर्तमान भइसकेपछि अब अर्को संसदबाट त्यसलाई पारित गर्ने योजना पनि प्रधानमन्त्री ओलीले अन्तर्वार्ताकै दौरान सुनाएका छन् । उनको कथन छ, ‘आउँदो अधिवेशनबाट त्यो (एमसीसी) पारित हुन्छ ।’ 

असोज १२ गते एउटा यौन दूराचारको नाटकीय घटनामा आरोपित तत्कालीन सभामुख कृष्णबहादुर महरालाई राजनैतिक र रणनीतिक ग्राण्ड डिजाइन अनुसार नै फसाइएको थियो भन्ने कुरा सिद्ध गर्न प्रधानमन्त्रीको उपरोक्त कथन काफी छ । लोक जान्दछ, अमेरिकाको इन्डो–प्यासिफिक रणनीति दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा हैकम जमाउने एक शान्तिपूर्ण अस्त्र हो । एमसीसी इन्डो–प्यासिफिक रणनीतिकै एक हिस्सा वा रुप हो । अनि त्यसलाई नेपालको संसदबाट वैधानिकता दिन अमेरिकी शक्ति समूह सक्रिय थियो, त्यो पनि नेपालका कार्यकारी प्रधानमन्त्री मार्फत नै । 

सरकार प्रमुख ओली नै इन्डो–प्यासिफिक रणनीति अन्तर्गत आएको एमसीसी संसदबाट पारित गराउन लागी पर्नु अनि तत्कालीन सभामुख महरा त्यसलाई संसदबाट पारित गराउन वाधक बन्नुको साँगोपाँग परिणाम महरा स्वयम् नाटकीय यौन प्रकरणमा मुछिएका हुन् भन्ने तथ्य अब दिनको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । प्रधानमन्त्रीको आगामी संसदबाट एमसीसी पारित गराई छाड्ने अडानले उनको एमसीसीप्रतिको झुकाव र समर्थन मात्रै प्रष्ट्याउँदैन, उनको तत्कालीन सभामुख महराविरुद्धको द्वेष र तुषलाई  पनि उदाङ्ग पार्दछ । बनमा बाघ कराउनु र खोरबाट बाख्रो हराउनुको संयोग मात्र थिएन महरा प्रकरण भन्ने तथ्य यसैबाट पुष्टि हुन्छ ।

त्यसअघि सत्तारुढ नेकपाको संसदीय दलको वैठकमा एमसीसी प्रस्ताव पारित नगराएकोमा संसद असफल भएको भन्दै सभामुखको आलोचना गरेका प्रधानमन्त्री ओलीले अहिले अन्तर्वार्ताहरुमार्फत् नै महराविरुद्ध खनिन थाल्नुले प्रधानमन्त्री अमेरिकी कित्तामा ढल्किएको मात्रै होइन, दृढ भएर उभिएको सिद्ध हुन्छ । यसले  प्रत्यक्ष रुपमा नै महरा चिनियाँ पक्षमा उभिनु उनका लागि अभिशाप भएको दर्शाउँछ ।

उसै पनि महरा चीन निकट नेता हुन । उनलाई चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण पक्का भइसकेपछिको परिवेशमा हिरासतसम्म पु¥याएर महरा फँसाउन सक्रिय गिरोहले उसको शक्ति मात्रै देखाएन, लाक्षणिक रुपमा चिनियाँ समर्थकहरुको हालत महराको जस्तो हुन्छ भन्ने सन्देश पनि प्रवाह गर्न सफल भयो । 

चाहे इन्डो–प्यासिफिक रणनीति होस वा एमसीसी यसै मुद्धाले राजनीतिक, कानुनी र नैतिक रुपले परिवन्दमा पारिएका महरा एक प्रतिनिधि पात्र मात्रै हुन् । अबका दिनमा जो कोही नेकपा नेता वा माननीय वा कुनै तहको प्रतिनिधि यो मुद्धामा प्रधानमन्त्रीको अडान र रटान विरुद्ध उभिन्छ भने उसको हालत महराकै जस्तो हुने कुरामा सायदै कसैको बिमति होला । नेकपाका अर्का अध्यक्ष प्रचण्डले समेत इन्डो–प्यासिफिक रणनीतिको समर्थनमा नेपाल रहँदैन भन्ने सार्वजनिक अभिव्यक्ति दिएका कारण प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति पार्टीका समकक्षी प्रचण्डलाई पनि खुल्ला चुनौति हो । 

यसले इन्डो–प्यासिफिक वा एमसीसीलाई हेर्ने र ग्रहण गर्ने मामलामा सत्तारुढ नेकपा नै दुईधार रहेको खुलस्त पारेको छ । संसदमा एमसीसीका विषयमा बोल्ने देव गुरुङ, पम्फा भुसाल वा जनार्दन शर्माहरुदेखि इन्डो–प्यासिफिकका विपक्षमा सार्वजनिक रुपमा बोल्ने अध्यक्ष प्रचण्डहरु वा पदमुक्त भएका सभामुख महरा र प्रधानमन्त्री ओली तथा उनको भनाइ र अडानको प्रतिरक्षा गर्नेहरु दुई कित्तामा बाँडिएका छन् ।

यसले सत्तारुढ नेकपाभित्र मात्रै होइन अन्य वाम घटकहरुमा पनि ध्रुवीकरण बढाएको छ । नेकपा मसालका सदावहार महामन्त्री मोहन विक्रम सिंहदेखि अर्धभुमिगत रहेको नेकपा विप्लवसम्मले इन्डो–प्यासिफिक रणनीति तथा धार्मिक राजनीतिप्रति गरेको कटाक्षले नेपाली वामहरु इन्डो–प्यासिफिक वा एमसीसीकै कारण नयाँ कित्ताबन्दीमा लागेको प्रष्ट्याउँछ । 

इन्डो–प्यासिफिक वा एमसीसी विश्व शक्ति राष्ट्र बन्नै लागेको साम्यवादी देश चीनले अघि सारेको विश्व जोड्ने महात्वाकाँक्षी परियोजना बीआरआईलाई काउन्टर दिन अमेरिकी र पश्चिमाहरुले अघि सारेको विकास सहयोग आवरणको चीन विरोधी अभियान हो भन्ने स्पष्ट छ । बीआरआईमा पहिलो हस्ताक्षर गर्ने महराले एमसीसीलाई संसदको बिजनेश बनाउन रोक्नु उनको चिनियाँ समर्थन मात्रै होइन, देशभक्तिपूर्ण अडानको नमुना पनि हो । तर अफसोच, देशभक्तिको अडान लिँदा भीमसेन थापा पनि दण्डित भएको इतिहासको आलोकमा महरा पनि सुरक्षित हुन सकेनन् ।

महरालाई मोहोरा बनाएर अब अमेरिकी र पश्चिमाहरुको शक्तिले गरेको टेष्टमा उनीहरु एकहदसम्म सफल भइसकेका छन । उनीहरुको स्वार्थ पूर्तिमा आफ्ना सभामुखलाई बली चढाएर उनीहरुको अडानको पक्षपोषण गर्ने सरकार प्रमुख ओलीको अडान झन बीआरआईलाई उल्झाउने र एमसीसीलाई उक्साउने मामलामा सहयोगी बन्दै जानु सबै देशभक्तहरुका लागि चिन्ताको विषय हो । यहाँ कोही म¥यो भन्दा पनि काल पल्कियो भन्ने चिन्ता मात्रै होइन चिन्तन गर्न सचेत नेपाली चनाखो हुन कम्तीमा अब ढिलो गर्नु हँुदैन । महरा प्रकरणबाट सबैले सबक सिक्न अनिवार्य छ । समयबद्ध साप्ताहिकबाट