नुवाकोट गोल्डकपमा आर्थिक घोटालाः अझै १७ लाख बक्यौता 

नुवाकोट गोल्डकपमा आर्थिक घोटालाः अझै १७ लाख बक्यौता 

नुवाकोट, ४ कात्तिक । जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटवल संघले संयुत्त रुपमा आयोजना गरेको नुवाकोट गोल्डकपको आयव्यय झन्डै डेढ वर्ष बित्दासमेत अझै सार्वजनिक हुन सकेको छैन ।
२०७५ साल जेठ १७ देखि २६ गतेसम्म सम्पन्न प्रथम नुवाकोट गोल्डकप र गत जेठ २२ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको हिसाब किताब अझै सार्वजनिक हुन नसक्दा पछिल्लो समय जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघ आलोचित बन्न पुगेको छ ।

आखिर कति भयो गोल्डकपको आम्दानी ?

नुवाकोट फुटवल संघका अनुसार पहिलो गोल्डकपमा आयोजकले टिकट बिक्रीबाट १२ लाख ८५ हजार रुपैयाँ उठाएको थियो । तर प्रतियोगिताका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर प्रधान गोल्डकपको आम्दानी कति भयो भन्ने विषयमा आफै बेखबर रहेको बताउँछन् ।

त्यस्तै आर्थिक समितिका संयोजक समेत रहेका नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारलाई आम्दानि बारे प्रश्न गर्दा जिल्ला खेलकुद विकास समितिका संयोजकलाई सोध्नु भनेर पन्छिने गरेका छन् । त्यस्तै एन्फाका केन्द्रीय सदस्य पुर्णमान चित्रकार पनि त्यसैगरी पन्छिने गर्छन् ।

तर नुवाकोट गोल्डकपको खातामा भने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रधान, एन्फाका केन्द्रस्य सदस्य पुर्णमान चित्रकार र नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारको हस्ताक्षर चल्ने गरेको छ । आफ्नो खातामा जम्मा भएको रकम र निकालिएकोे रकमको बारेमा उनीहरु नै बेखबर बन्नु आफैमा रहस्यमय छ । यस विषयले गोल्डकपको हिसाबकिताब कसले सञ्चालन ग¥यो भन्ने प्रश्न समेत उब्जिएको छ ।

पहिलो गोल्डकपमा दर्शकका लागि बनाइएको प्याराफिट दोस्रो गोल्डकपमा आएर दुई गुना बढी बनाइएको थियो । जस अनुसार पहिलो गोल्डकपमा टिकट बिक्रीबापत १२ लाख ८५ हजार रुपैयाँ संकलन भएपनि दोस्रो गोल्डकपमा आएर टिकट बिक्रीबाट जम्मा ७ लाख मात्र आएको आयोजकले जनाएको छ । 

होटलहरुमा करिब १७ लाख भन्दा बढी तिर्न बाँकी

प्रतियोगिताको अवधिभर बट्टारका विभिन्न होटलमा खेलाडी र पाहुना राखेबापत करिव १७ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको होटल सञ्चालकहरुले बताएका छन् । प्राप्त जानकारी अनुसार नुवाकोट ११ का फुटवल प्रशिक्षकसमेत रहेका देवनारायण चित्रकारको होटलमा पहिलो गोल्डकपको ६ लाख रुपैयाँ, होटल रन्जितको ४ लाख रुपैयाँ, होटल स्क्वायर र सन्ध्या होटल एक÷एक लाख रुपैयाँ, दियालो गेस्ट हाउसको ७० हजार रुपैयाँ र मैदानसँगै रहेको माइलादाइको रेष्टुरेन्टको गरि १७ लाख रुपैयाँभन्दा बढी रहेको नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायीले पैसा तत्काल नदिए पत्रकार सम्मेलन गरेर जानकारी गराउने चेतावनी समेत दिएका छन् । 

त्यस्तै प्रिन्ज आर्ट बट्टारमा समेत ३ लाख रुपैयाँ  तिर्न बाँकी रहेको तथ्य फेला परेको छ ।  यस्तै मैदानमा काम गर्नै कामदारहरु माईला कुमाल र श्याम कुमालले समेत अझै पारिश्रमिक नपाएको बताएका छन । पारिश्रमिक माग्दा सधैँ छैन भन्ने जवाफ आउँने गरेको माईला कुमालले बताए । त्यस्तै मैदानमा रङरोगन गरेको पैसा समेत आयोजकले नदिएको बताइएको छ ।