भारतले नेपालको स्थान खुम्च्याउन लगायो यस्तो आरोप ?

भारतले नेपालको स्थान खुम्च्याउन लगायो यस्तो आरोप ?

काठमाडौ । भारतले नेपाल र बंगलादेशमाथि आतंकवादलाई सघाउन खोजेको आरोप बारे कुटनीतिज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । 

भारतीय नियोगहरूले नेपालस्थित पाकिस्तानी दूतावासले भारत विरोधी गतिविधि गरिरहेको जनाएका छन् । 

जम्मू–कश्मिरसम्बन्धी  अनुच्छेद ३७० हटाए यता बंगलादेशको राजधानी ढाका र  काठमाडौस्थित पाकिस्तानी दूतावासको उपयोग गरी पाकिस्तानी गुप्तचर संस्था आइएसआइले भारत विरोधी गतिविधि गरिरहेको समाचार दैनिक भाष्कर लगायतकाले उल्लेख गरेका छन् ।

ढाका र काठमाडौस्थित दूतावासमा पाकिस्तानका दुई  सैनिक  अधिकारीले कूटनीतिक सम्बन्धको दुरूपयोग गरिरहेको र भारतीय जाली नोटको तस्करीमा समेत संलग्न रहेको आरोप लगाइएको छ ।

भारत विरोधी गतिविधिहरूमा  सक्रिय रहेको भारतका गुप्तचर समूहले पर्याप्त सबूत प्राप्त गरेको छ । 

नेपालमा  भारत विरोधी गतिविधिमा काठमाडौस्थित पाकिस्तानका राजदूत मजहर जावेदको भूमिका शंकास्पद रहेको जनाइएको छ ।

जावेदले  २७ सेप्टेम्बरमा काठमाडौकोे महाराजगञ्जस्थित दूतावासमा नेपालका मानवअधिकारकर्मीहरूको सहभागीतामा बैठक गरेको उल्लेख छ ।  

यसैगरी ढाकास्थित  पाकिस्तानको उच्चायोगमा  रक्षा सलाहकार ब्रिगेडियर कामरान नजीर मलिकले ढाकास्थित जेहादी नेताहरूको गुप्त बैठक गरेको उल्लेख छ ।

भारतले दुबै देशको सीमामा सुरक्षाबल तैनाथ गरी सतर्क रहने आदेश दिएको छ ।

नेपाल र बंगलादेशमाथि यसरी आरोप लगाउनुको पछाडि भारतले कुनै ठूलो कुटनीतिक स्वार्थ पूरा गर्न खोजेको देखिएको विज्ञहरूको बुझाइ रहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भ्रमणबाट नेपाललाई प्राप्त भएको अन्तर्राष्ट्रिय मञ्चको स्थान खुम्च्याउन यो आरोप लगाइएको हुन सक्ने उनीहरूको बुझाइ छ ।