सौदामिनीको ‘ह्वेर माउनटेन्स स्टूड टल’ मा जनयुद्धका बाछिटा

सौदामिनीको ‘ह्वेर माउनटेन्स स्टूड टल’ मा जनयुद्धका बाछिटा

काठमाडौं, १ कात्तिक । साहित्यकार सौदामिनी शर्माद्वारा लिखित अंग्रेजी उपन्यास ‘ह्वेर माउनटेन्स स्टूड टल’ को लोकार्पण भएको छ । 

शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबीच मोडर्न कलेजका संस्थापक बाबुकाजी कस्पालले उपन्यासको लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पण गर्दै कस्पालले कर्मबिना लक्ष्ये प्राप्त नहुने भन्दै उपन्यासले मानव जीवनमा लक्ष्ये कसरी प्राप्त गर्न सकिन्छ भन्ने शिक्षा प्रदान गर्ने बताए । उपन्यासले दिएको सन्देश समाजले ग्रहण गर्न सक्नुपर्ने भन्दै कस्पालले यस पुस्तकको सही मूल्याङ्कन समाजले नैं गर्ने बताए ।

बुक्स राइटिङ नेपाल प्रा.लि.का प्रमुख विनोद कुलुङले आफुले सबै लेखकका कथा र भोगाईहरुलाई प्रकाशनको माध्यमबाट सेवा प्रदान गर्दे आम पाठकका बिचमा पुर्याउने कार्य गरेको बताए ।

उपन्यासकार सौदामिनी शर्माले पुस्तक सन् २०१७ मै लेखिएको भएतापनि प्रकाशकको खोजिमा उपन्यास बजारमा ल्याउन दुई वर्ष ढिला भएको बताइन् । नेपालको १० वर्षे गृहयुद्ध र त्यसले तहसनहस पारेका घटनाहरुलाई उपन्यासको मूल विषय बनाएको लेखक शर्माले बताइन् । उनले भनिन्, ‘सन् २०९० को दशकमा भएको गृहयुद्धले पहाडी भेग, गाउँ, बस्ती, पुल र भवनहरु भत्किए, बम पड्किए, धेरै बालबच्चा टुहुरा भए, मानिसहरु बाध्यताबस सहर पस्नुपर्ने भयो त्यही यथार्थलाई समेटेर उपन्यास तयार भएको छ ।’

उनले तत्कालिन नेकपा (माओवादी)ले गरेको जनयुद्धका ध्वंसका पाटाहरुलाई उपन्यासको मूल विषयबस्तु बनाएता पनि माओवादीको युद्धकै कारण देशमा राजतन्त्रको अन्त्य, संघीयता, धर्मनिरपेक्षता, नयाँ संविधान र नयाँ नेपाल निर्माणको पाटो र बाटो भने उपन्यासमा नसमेटिएको र आफुले गृहयुद्धलाई यो पक्षबाट नहेरेको बताइन् ।

घरमा आफ्नी आमाले बिभिन्न पुस्तक जम्मा पार्ने गरेको र तिनै पुस्तक पढेर आफुलाई उपन्यास लेख्ने प्रेरणा मिलेको उनले बताइन् । आगामी दिनमा पनि साहित्यिक क्षेत्रमा लागि रहने उनको योजना छ ।  

उपन्यास आफुले ६ महिनाको अवधिमा तयार पारेको शर्माले बताइन् ।

पुस्तकको मूल्य ३ सय ७५ रुपैयाँ तोकिएको छ ।