गण्डकीमा एक महिनामा १८ हजार बढी पर्यटक

 गण्डकीमा एक महिनामा १८ हजार बढी पर्यटक

कास्की, ३० असोज । गण्डकी प्रदेशमा एक महिनाको अवधिमा १८ हजारभन्दा बढी पर्यटक आएका छन् । प्रदेश सरकार आन्तरिक पर्यटन वर्ष सफल पार्न प्रचारप्रसारसँगै तयारीमा लागिरहेको बेला गण्डकीमा सेप्टेम्बरमा मात्र १८ हजार पर्यटक भित्रिएका हुन् ।

सरकारले प्रचारप्रसारलाई तीव्रता दिँदा आन्तरिक तथा बाह्यक पर्यटक आगमन बढ्दै गएको छ । गत अगस्टमा १६ हजार पर्यटक भित्रिएकोमा सेप्टेम्बरमा उक्त सङ्ख्या १८ हजार ३५१ पुगेको छ ।
गण्डकी प्रदेशमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयले जनाएका छन् । ती संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष, २०२१ लाई पूर्वाधार वर्ष र २०२२ लाई बृहत् अन्तर्रा्ष्ट्रियस्तरको गण्डकी पर्यटन भ्रमण वर्ष मनाउँदै २० लाख पर्यटक भित्राउने लक्ष्य लिँदै गर्दा पर्यटकको संख्यामा दिन प्रतिदिन वृद्धि भएको जनाइएको छ ।

मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कीर्तनराज पौडेलले गत वर्षदेखि नै पर्यटकको आगमन बढेको जानकारी गराए । पोखरा विमानस्थल, तनहुँको आबुखैरेनी, स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीमा राखिएको अन्तर्रा्ष्ट्रिय पर्यटकको अभिलेख अनुसार मन्त्रालय र पर्यटन बोर्डले गरेको तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

पोखरामा बढी पर्यटकीय क्षेत्र भएको र प्रदेश सरकारले अभियानमूलक प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरेकाले विदेशी पर्यटकको आगमन बढेको पौडेलले जनाए । प्रेस विज्ञप्तिअनुसार सात हजार २१७ भारतीय र तेस्रो मुलुकबाट ११ हजार १३४ गरी जम्मा १८ हजार ३५१ पर्यटक भित्रिएका हुन् । यो गत महिनाको तुलनामा दुई हजार ४८९ जना अर्थात् १५.७ प्रतिशतले बढी हो ।

पर्यटन आगमनको दुई महिनाको अवस्था हेर्दा सहजै लक्ष्यमा पुग्न सकिने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको भनाइ छ तर नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले विदेशी पर्यटकको सङ्ख्या सन्तोषजनक रहे पनि अझै प्रभावकारी कार्यक्रम गर्नुपर्ने बताए ।