नेकपाको राजनीतिक भविष्य 

नेकपाको राजनीतिक भविष्य 


शान्तिमान कार्की

गणतन्त्र आएपछि नेपाली राजनीति आन्तरिक रुपमा उथलपुथलको अवस्थाबाट गुज्रदैछ । वामपन्थी ध्रुवीकरणको लहरले विपक्षी कांग्रेस र अन्य शक्तिहरु कमजोर अवस्थामा रहे पनि सत्तारूढ दल नेकपाको आफ्नै कमजोरी र अनुभवहीनता र जनतासँग आन्दोलन ताका र चुनावी घोषणापत्र मार्फत गरिएको बाचाप्रतिको उदासीनताका कारण जनअसन्तुष्टि लगातार चुलिदैछ, सरकार र सत्तारूढ दलका नेताहरुको विरोधमा विस्तारै सडकमा हलचल हुन थालेको देखिन्छ । 

सत्ताधारी दलका नेताहरु जोडिएका एकपछि अर्को घटनाहरुले विरोधीहरुलाई सडक तताउने मुद्दाहरू उपलब्ध गराउँदै छ । अर्कोतिर स्वयं सत्तारुढ दलका नेताहरूबीच मतान्तर बढ्दै गएको देखिन्छ । सरकारका मंत्री, सांसदहरु, जिल्ला, नगर र गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको भ्रष्टाचारतन्त्रले जनताहरु छोटो समयमा वाक्कदिक्क भएका जस्तै देखिन्छन् ।

सहिद, बेपत्ता, बन्दी, घाइते÷अपाङ्ग ,अयोग्य ,बहिर्गमित जनसेना लगायत नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता, कार्यकर्ता र अहिले सर्बोच्च नेतृत्वलाई स्थापित गर्न निस्वार्थ सहयोग र समर्थन गर्ने लाखांै जनतालाई बिर्सने र लामो संघर्षबाट पार्टीमा स्थापित मुल्य मान्यता र असल परम्पराहरुको धज्जी उडाउँदै पेटिकोटको फेरो समातेर छोरा छोरी, बुहारी, भाइ, भतिजा, साला, सालीलाई पार्टी र राज्यका सुविधाका ओहोदाहरु बाँड्दै हिड्ने सत्तारुढ दलको नेतृत्वको समाजवाद ल्याउने चुनावी उदघोष हावा भरेको बेलुन जस्तै बनिरहदा पार्टी, कार्यकर्ता र जनताको त्याग, बलिदान संघर्षमा बगाएको रगत, आँसु र पसिनाको घोर अबमुल्यन गर्ने नेतृत्व तहका मुठ्ठिभर नेताहरु अहिले देखिएको बढ्दो जनअसन्तोषले आतंकित भएको जस्तो देखिन थालेको छ । 

संसदीय ब्यवस्थामा दलगत प्रतिस्पर्धामा दिइने खोक्रा नारा र सस्तो लोकप्रियताको लागि प्रचारवाजीको पछाडिको नियत फेरि जनतालाई वेवकुफै बनाउने रहेको हुन्छ , भनिन्छ । पार्टीको नीति कार्यक्रम राम्रो नबनाउने र सँगठन संचानलनमा मनपरी गर्ने अनि दान दक्षिणा देखाएर जनताको माझमा भ्रम पारेर राम्रो बन्न खोज्ने कुराले कम्युनिस्ट पार्टी भित्रमा कहाँ नेर युक्तिसँगत स्थान हुन्छ ? हुँदैन । हिजो जनतासँग सियो र धागो समेत सित्तैमा नलेऊ भन्ने क.माओको भनाइलाई जीवन ब्यवहारमा उतार्न लागेका पूर्व माओवादी र पूर्व एमालेका आदर्शमा अघि बढेका हाम्रा कम्युनिष्ट नेताहरुको अकुत सम्पतिको बैधानिक श्रोत के हो ? सर्बहारा बर्गका नेताहरुले कसरी त्यत्रो सम्पति आर्जन गर्न सफल भए ? जो हिजो जेलनेल, भुमिगत राजनीतिमा लागेका कारण हातमुख जोर्न हम्मेहम्मे पर्ने अवस्थामा थिए, तिनै कामरेडहरु रातारात कसरी अरवपती बन्न सफल भए ? पार्टी र कार्यकर्तालाई ढाँट्न र छक्याउन सफल बने पनि एक दिन यसको उचित जवाफ जनतालाई दिनै पर्नेछ ।

 यसरी हाम्रो पार्टीको नेतृत्व तहलाई हेर्दा यो सर्बहारा वर्ग त हँुदै होइन, राष्ट्रिय पुजीवादी पनि होइन केवल दलाल तथ नोकरशाही पँुजीवादी वर्गका प्रतिनिधहरु जस्तै देखिन्छन् । त्यसकारण यो सरकार कस्तो र कसको हो ? जनतामाझ गम्भीर आशंका पैदा भएको छ । यो दुई तिहाइभन्दा बढीको सरकार हाम्रो हो भनेर जनताले रक्षा नगरेको अवस्थामा नेकपा नेतृत्वको सरकारले पाँच बर्ष निरन्तरता दिन असम्भव हुने अवस्था सम्मुखमा छ । पार्टीको नेतृत्वले खासगरी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले मौसमी भाषण र घोषणा गर्नु भन्दा पार्टीमा भित्र्याएको गुटगत स्वार्थमा लागेर पार्टीमा बिगार गरेका कामहरुलाई सच्याएर आफ्नै तहका नेताहरु र कार्यकर्ताहरु हुँदै देश र जनतालाई भरोसा र विश्वास दिलाउन अझै ढिला भएको छैन । 

कम बोल धेरै गर, राम्रो गर, श्रम गर्न पहिलो र सुविधा लिन अन्तिम बन भन्ने हो चि मिन्हको प्रसिद्व कथन अरुलाई सुनाउने हैन नेताहरुले आफुबाट ब्यवहारमा थालनी गरेमा बिगतका कमजोरीलाई सच्याउन सकिने छ । नेकपाको नेतृत्वको कृयाकलापले यसको गन्तव्यलाई निर्धारित गर्नेछ, ब्यवहारमा प्रयोग हुने प्रक्रियाले यसको भविष्यलाई प्रभावित पार्नेछ । अहिले पार्टीभित्र माथिदेखि तलसम्म देखिएका आर्थिक, सामाजिक र सास्कृतिक भ्रष्टीकरणको मुख्य र निर्णायक कारण भनेको नेकपाको केन्द्रीय तहको हेडक्वाटरदेखि सुरु भएको बैचारिक राजनीतिक विचलनको परिणाम हो । यसो भन्न आनाकानी गर्नु भनेको यो पार्टीलाई अझै बर्बाद हुन दिनु हो, जुन बर्बादी अत्यन्तै भयानक, अकल्पनीय र अविश्वसनीय हुनेवाला छ । तसर्थ चाकडीदार, चाटुकार र गुटवाजहरुको घेराबन्दी तोडेर क.ओली र क.प्रचण्डले आफ्नो हिजोको आदर्श, मुल्य र मान्यतालाई पुनस्र्थापना गर्न आफैप्रति कठोर बन्दै आत्मसमीक्षा गरेर कमसेकम न्युनतम रुपमा एमाले र माओबादी पार्टीबीच सहकार्य र एकता प्रक्रिया सम्पन्न गर्दा गरिएको घोषणाप्रति ऐतिहासिक समर्थन जनाउने परिवर्तनकारी न्यायप्रेमी जनताहरुको मनोभावलाई सच्चा हृदयले आत्मसात गर्ने संकल्पबद्व भएको ब्यबहारमै देखाउनु पर्दछ । 

यसमा अलमल र जालझेल गरेमा आम जनताले खबरदारी गरिरहेका छन, राजनीतिसँग खेलबाड नगर अन्यथा भस्म खरानी पार्नेछ भन्ने लेनिनको उक्तिलाई फेरि एक पटक पुनस्मरण नगर्ने हो भने चटकेहरुको चमत्कारले सधै काम दिदैन । अस्तु ।
 

२०७६।६।२३ कनपा ४ मल्लगाउँ, सिन्धुली