समाजवादी पार्टीको भनाइप्रति तीब्र आलोचना, राजपाका नेता कार्यकर्ताले गरे बुद्ध एयरको अफिसमा तालाबन्दी

समाजवादी पार्टीको भनाइप्रति तीब्र आलोचना, राजपाका नेता कार्यकर्ताले गरे बुद्ध एयरको अफिसमा तालाबन्दी

सप्तरी, २९ असोज । पक्राउ पर्नु एक दिन अघिसम्म पार्टीको प्रदेश समिति सदस्य रहेकी महिला नेतृ सुनिता साह आफ्नो पार्टीको सदस्य नरहेको भन्दै समाजवादी पार्टी सप्तरीले जारी गरेको बिज्ञप्तीलाई लिएर चर्काे आलोचना भइरहेको छ । 

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूूर्व सन्ध्यामा पक्राउ पर्ने अघिल्लो दिनसम्म नेतृ साह समाजवादी पार्टीको हरेक कार्यक्रममा सहभागी भएकी थिइन्, तर चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला बिरोध प्रर्दशन गर्न सक्ने भन्दै पक्राउ परेको भोलि पल्ट समाजवादी पार्टी सप्तरीले साह पार्टीको साधारण सदस्य समेत नरहेको बताएको थियो ।

पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले विज्ञप्ति जारी गर्दै साहको आफ्नो पार्टीसँग कुनै आवद्धता नरहेको भन्दै विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा विरोध गर्ने आशंकामा सप्तरीबाट पक्राउ गरेकी साह पार्टीको कुनै जिम्मेवारीमा नरहेको जनाएको छ । समाजवादी पार्टीले बिज्ञप्ति जारी गरेकै दिनदेखि त्यसको चौतर्फी रुपमा आलोचना भइरहेको छ । 
    
सामाजिक संजालदेखि बिभिन्न सञ्चारमाध्यमहरुमा समाजवादी पार्टीले दोहोरो चरित्र प्रस्तुत गरेको भन्दै हिजोसम्म पार्टीको नेतृ भएरसँगै हिडेकी साह पक्राउ परेको भोलि पल्टै पार्टी साधारण सदस्य समेत नरहेको भन्दै जारी भएको बिज्ञप्ति सर्वसाधारणलाई झुक्याउने खेल मात्र भएको टिप्पणी समेत भइरहेको छ । 
    
पक्राउ पर्नु अघिसम्म पार्टीले साहलाई न त कुनै कार्वाही गरेको छ, न उनी अर्काे पार्टीमै प्रबेश गरेको छ, स्थानीयबासीहरु भन्छन्–“पक्राउ परेकै कारणले आफ्नो पार्टीको सदस्य नभएको भन्नु समाजवादीको दोहोरो चरित्र हो ।” यो अरु केही नभई चीनको अगाडि आफूू र आफ्नो पार्टीको अगाडि चीन समर्थक रहेको प्रमाणित गर्न मात्र यस्तो कुरा आएको स्थानीयहरुको भनाइ छ । 

अर्काे रहस्य के छ  भन्ने अन्तर पार्टी महिला संजाल सप्तरीकी अध्यक्ष समेत रहेकी साह समाजवादी पार्टीकै तर्फबाट प्रतिनिधित्व गरिरहेकी छिन् । 

अभद्र व्यवहारको मुद्दा परेको भन्दै असोज २४ गते सप्तरी प्रहरीले साहलाई राजविराज नगरपालिका–६ खर्सालटोलस्थित आफ्नै निवासबाटै पक्राउ गरी आवश्यक अनुसन्धान र कार्वाहीका लागि महानगरीय प्रहरी वृत्त कमलपोखरी पठाएको सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । 

साह विरुद्ध महानगरीय प्रहरीवृत्तमा अभद्र व्यवहारको मुद्दा परेकोले पक्राउ गरी काठमाडौं पठाइएको प्रहरी उपरिक्षक प्रसाईको भनाइ छ । 

यसैबीच महिला नेतृ सुनिता साहलाई पक्राउ गरेको भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर कुमार यादव ‘केसी’ले आपत्ति जनाउँदै तत्काल रिहाई गर्न माग गरेको छ ।

राजपाका नेता कार्यकर्ताले गरे बुद्ध एयरको अफिसमा तालाबन्दी

राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले आज प्रदेश २ को राजधानी जनकपुरस्थित बुद्ध एयरको सिटी कार्यालयमा तालाबन्दी गरेका छन् । 

बिमान ढिलो आएको आक्रोशमा जनकपुरस्थित बुद्ध एयरको सिटी अफिसमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएका पार्टीका नेता तथा प्रतिनिधिसभाका सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपा नेता तथा कार्यकर्ताले बुद्ध एयरको सिटी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बुद्ध एयर र प्रहरी बिरुद्ध बिहानैदेखि जनकपुरमा प्रदर्शन गरिरहेका राजपाका नेता कार्यकर्ताहरुले बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि प्रहरीले रोकेका थिए । 

प्रहरीले रोकेपछि राजपा प्रदेशसभा सदस्य तथा प्रमुख सचेतक परमेश्वर साह, जनकपुर उपमहानगरपालिकी उपप्रमुख रिता झा, प्रदेशसभा सदस्य सुरिता साह, पूर्वसांसद दिनेश साह लगायतका नेता कार्यकर्ताहरु कार्यालय अगाडि धर्नामा थिए । त्यसपछि प्रहरीले तालाबन्दी गर्न दिएका हुन् ।