सी भ्रमणले सम्भावनाको अथाह ढोका खुल्योः सञ्चारमन्त्री बास्कोटा

सी भ्रमणले सम्भावनाको अथाह ढोका खुल्योः सञ्चारमन्त्री बास्कोटा

काठमाडौ, २९ असोज । चिनियाँ राष्ट्रपति सी जिङ्गपिङ्गको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खोल्नुकासाथै हिजोको सपनाहरु आज योजनामा बदलिन सघाएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन् ।

‘अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन् । जसले अबका केही वर्षहरुभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयमिक सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउनेछ’ चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमणका उपलब्धीबारे पहिलो पल्ट सरकारी धारणा सार्वजनिक गर्दै मन्त्री बास्कोटाले मंगलबार भने ।

भ्रमण पश्चात् नेपालले के कति उपलब्धी हाँसिल गर्यो भन्ने विषयमा सञ्चार केन्द्र नेपालले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री बास्कोटाले २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गरेकोले यो भ्रमण ऐतिहासिक र फलदायी भएको जिकिर गरे । ‘२३ वर्ष अघिको चीन अहिलेको जस्तो थिएन भने नेपालमा पनि अहिलेको राजनीतिक व्यवस्था थिएन’ भन्दै उनले भने, ‘जनमतबाट पाँच वर्षको लागि गठन भएको सरकार रहेको बेला सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धी हाँसिल गरेको छ ।’

कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सीको भ्रमणले नेपाल भित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएको पनि बताए । उनले यो भ्रमणलाई नेपालको संस्थापनले मात्र होइन, आम नागरिक र सबै राजनीतिक दल, सम्पूर्ण जनता र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको दोहोर्याए । ‘हाम्रा विकास निर्माणका योजनाहरुमा, सुख र समृद्धिका अभियानहरुमा हामी साथै रहन्छौं भन्ने दुई देशको राजनीतिक नेतृत्वको बिचमा उच्च हिसाबको विश्वास देखिएको छ, बास्कोटाले भने ।  

आर्थिक विकासतर्फ लक्षित दीर्घकालीन साझेदारीको कुरा भएको छ, जुन नेपाली जनताको आकांक्षा हो । सुख र समृद्धि हासिल गर्ने त्यसमा चिनिया राष्टपतिले हात बढाउने घोषणा हुनु गौरवको कुरा रहेको उनको धारणा थियो ।

चीन र दक्षिण एसियासित अब हिमालयमा मानवीय पुल मात्र नभइ भौतिक पुल समेत स्थापित हुनु सुखद पक्ष रहेको मन्त्री बास्कोटाको भनाई थियो । ‘सडक सञ्जाल, रेलवे, हवाई, संचार उर्जा यी सब कुराले हाम्रो समृद्ध राष्टहरुबाट छिमेकीले पाउने लाभको हिस्सा पनि हामीले पाउने अनुभूति भएको छ । यद्यपी त्यसमा हामी नै निर्णायक र महत्वपूर्ण हुन्छौं’, बास्कोटाको कथन थियो ।

कार्यक्रममा आयोजक सञ्चार केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईले महामहिम राष्ट्रपतिको भ्रमणका उपलब्धि कार्यान्वयनका चरणमा लैजानुपर्ने आवश्यकता रहेको औंल्याए ।