चिनिया राष्ट्रपति सी साँझ पाँच बजे आइपुग्ने, गाडीको आवागमन प्रभावित हुने

चिनिया राष्ट्रपति सी साँझ पाँच बजे आइपुग्ने, गाडीको आवागमन प्रभावित हुने

काठमाण्डौ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज काठमाण्डौ आइपुग्दा गाडीको आवागमन प्रभावित हुने भएको छ ।

ट्राफिक प्रहरीले शनिबार र आइतबार ठूला गाडी चक्रपथभित्र प्रवेश गर्न रोक लगाएको छ । अरु गाडीलाई पनि सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
‘अति विशिष्ट व्यक्तिको सवारी हुने रुट भएर सकेसम्म नहिँड्न अनुरोध गरेका छौँ’, ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले बताए ।

चिनियाँ राष्ट्रपतिको सवारीको बेला भने त्यो रुट भएर चल्ने कुनै पनि गाडी चल्न नपाउने उनले बताए । सवारीको केही घण्टा अघिदेखि नै सडक खाली हुने उहाँको भनाइ छ । सवारीको बेला सडकको दुवै किनारामा पैदल हिँड्न र उभिन समेत रोक लगाउने प्रहरीको तयारी छ ।

चिनियाँ राष्ट्रपति सी दिउँसो ४ः३० बजेदेखि ५ः०० बजेभित्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । त्यहाँबाट उनी तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोड हुँदै सोल्टी होटल पुग्नेछन् ।

ट्राफिक प्रहरी महाशाखाले शनिबार र आइतबार अति आवश्यक कामका लागि मात्रै गाडी चलाउन पनि आग्रह गरेको छ । गाडी डाइभर्सन गर्ने ठाउँहरु एकिन नगरिए पनि भीभीआईपीको सवारी भएको समयमा ट्राफिक प्रहरीले आवश्यकताअनुसार डाइभर्सन गर्ने महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए । महाशाखाले पुराना गाडी नचलाउन र अनावश्यक हर्न पनि नबजाउन चालकलाई अनुरोध गरेको छ ।

त्यहाँ केहीबेर आराम गरेपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानेछन् शीतल निवासमा बेलुकी ६ः३० बजे भेटघाटको समय तय भएको छ । त्यसपछि उनी सोल्टी होटल फिर्ता हुनेछन् । त्यहाँ प्रमुख विपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ ।