सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः ११ जनाको ज्यान गयो 

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः ११ जनाको ज्यान गयो 

सिन्धुपाल्चोक, २४ असोज । जिल्लाको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । 
सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खस्दा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पचासभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताए ।

सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुनसक्ने देखिन्छ । दुर्घटनामा परेका प्राय सबै घाइते भएको हुनसक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ।

पाँच जनाकोे सनाखत

प्रदेश नं ३का सामाजिक विकासमन्त्री युवराज दुलाल उक्त बस दुर्घटनास्थलमा पुगेका छन् । हेलिकप्टर लिएर घटनास्थल आइपुगेका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए । उक्त दुर्घटनामा मृत्यु भएका ११ मध्ये पाँच जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन्। रासस