विश्वका चर्चित ‘सेक्स स्क्याण्डल'

 विश्वका चर्चित ‘सेक्स स्क्याण्डल'

फणीन्द्र फुयाल 'ज्वाला'

सभामुख कृष्णबहादुर महराको यौन प्रकरणको विषय उठाएर पद नै गुमिसकेको छ । कानुनी र नैतिक रुपमा उनले अहिले यसको सामना गरिरहेका छन् । राजकीय रुपमा उच्च तहमा पुगेका नेताको यो स्तरको कार्वाही नेपालमा पहिलो मानिएको छ । 

यौन प्रकरणका बारेमा नेपाली कांग्रेसका सभापतिका बारेमा समेत बेलाबेलामा मिडिया र अन्य क्षेत्रमा बहस उठ्ने गरेको हो । नेपाली कांग्रेसका पूर्व सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, जो अविवाहित थिए, यौनको विषयलाई सामान्य रुपमा लिन्थे । उनले आफू अविवाहित भए पनि कुमार नभएको दलिल सार्वजनिक रुपमा पेश गर्थे । उनको बारेमा धेरै केटीको नामै जोडिएर आएका हुन । पूर्व सञ्चारमन्त्री तथा एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका चरित्रका बारेमा एउटा केटीले बारबार उठाइरहेकी छिन । मिडियामा आएका विषयलाई चर्चा गर्ने हो भने लामै फेहरिस्त हुनसक्छ । 

यो विषय नेपालमा मात्र होइन विश्वभरि नै छ । ‘सेक्स स्क्याण्डल’ का कारण सार्वजनिक जीवन बिताउनेहरु धेरै नै विवादित भएका छन् । प्रतिस्ठा गुमेको छ । 

अमेरिकाका चर्चित सेक्स स्क्याण्डल

सन् १७७६ देखि अहिले पदमा आसिन राष्टपति, मन्त्री, सांसद गरी पाँच दर्जन भन्दा बढी उच्च पदस्थ राजनीतिक नेता, संवैधानिक पदमा रहेकाहरु सेक्स स्क्याण्डलमा परेको पाइन्छ । तीमध्ये अधिकांश पदमा रहेका बेला नै आरोपित भएका छन् । कतिबेला यो आरोपलाई ती पदाधिकारीहरुले अस्वीकार गरेको वा माफी मागेको पाइन्छ । कतिपय समयमा यो स्क्यान्डलका कारण राजीनामा गरी, पराजीत भई वा चुनावमा फेरि नउठ्ने निर्णयका आधारमा पद गुमाउनु परेको छ । सन् १७७६ देखि १८९९सम्म ११ जना यो आरोपबाट आरोपित रहेका छन् ।

अमेरिकी विवाहित अर्थमन्त्री  एलेग्जेन्डर हमिल्टनको विवाहित मारिया रेनल्डससँगको सम्बन्ध, राष्ट्रपति थमस जेफर्सन र एन्डरु ज्याक्समाथिको सेक्स स्क्यान्डल विशेष चाख लाग्दो छ । साथै यो अवधिमा पेटीकोट अफेयर पनि विशेष रुपले चर्चित र त्यसपछि सेक्स स्क्यान्डलको अर्को बुझाइ पेटीकोट अफेयरको रुपमा भएको पाइन्छ । अर्थमन्त्री एलेग्जेन्डरले आफ्नो सम्बन्ध लुकाउन मारियाका पतिले ब्ल्याकमेल गरे पनि  रकम दिन बाध्य भए तर सन् १७९७ मा पत्रकार जेम्स क्यालेन्डरले यो मामिला सार्वजनिक गरेपछि पद गुमाउनु परेको थियो । उनले त्यसपछि सार्वजनिक रुपमा माफी मागेका थिए । 

राष्ट्रपति जेफर्सनमाथि उनका दासी सेली हेमिंग्सका सन्तानको पिता भएको आरोप लागेको थियो । यो विषय विवादित बनेको थियो । तर २००० जनवरीमा थमस जेफर्सन फाउन्डेशनले डीएनए परीक्षणबाट उनीहरु उनका सन्तान भएको दर्र्र्र्शाएको जनायो । एन्डरु ज्याक्स फ्लोरिडाको गभर्नर हुँदै राष्ट्रपति भएका थिए । उनले सन् १७९१ मा राचेल डोनेल्सन ज्याक्सनसँग विवाह गरे । तर उनको पूर्वपतिले सम्बन्ध विच्छेदको कागजी कारबाही पूरा नगरेकाले उनको त्यो विवाह खारेज भएपछि १७९४मा फेरि विवाह गर्नु परेको थियो ।
सिनेटर  रिचार्ड मेन्टर जोन्सन, जोन हेनरी इटन, जेम्स हेनरी हर्मन्ड,डेनियल वेबस्टर, जेम्स बुचानन, ग्रोभर क्लिभल्यान्ड, विलियम क्याम्पबेल प्रिस्टन ब्रेकन्रिज र जर्जक्यू क्यानन रहेका छन् ।

सन् १९०० देखि १९६९ सम्म आठ जना आरोपित भएका छन् । चार राष्टपति र सर्वोच्च अदालतका न्यायाधीशलगायत आरोपित भए । उडो विल्सन, वारेन हर्डिग, जोन एफ केनेडी र लिन्डन बी जोन्सन र न्यायाधीश विलियम ओ डगलस रहेका छन् । न्यायधीशविरुद्ध पर्याप्त प्रमाणको आधारमा महाअभियोग लगाइएको थिएन । केनेडी र जोन्सनमाथि धेरै महिलासँगको सम्बन्धबारे आरोप लगाइएको थियो ।
सन् १९७० देखि १९७९ बीच नौ जना सांसदहरु रहेका छन् ।

१९८० देखि १९८९ बीच ११ जना सांसदहरुमाथि आरोप लागेको थियो । डोनाल्ड बुज लुकेन्समाथि १६ वर्षे केटीसँगको यौन सम्बन्धका कारण ३० दिनको जेल र पाँच सय अमेरिकी डलर जरिवाना गरिएको थियो ।

सन् १९९० देखि १९९९ सम्म एक न्यायधीश गरी सर्वाधिक चर्चित राष्टपति बिल क्लिन्टनमाथि लगाइएको आरोपहरु छन् । बिल क्लिन्टनले मोनिका लेविन्स्कीसँग मुख मैथुनको आरोप अस्वीकार गरे पनि उनको विरुद्ध महाभियोग लगाइयो, त्यस मतदानमा आवश्यक दुई तिहाइको संख्या नपुगेर असफल भएको थियो । यो महाभियोग असफल हुनुमा उनकी पत्नी हिलारी क्लिन्टनको साथ महत्वपूर्ण रह्यो । क्लिन्टनमाथि अर्को आरोप जुआनिटा ब्रोडडिकको तर्फबाट पनि लगाइएको थियो ।

सन् २००० देखि २००९ सम्म १७ जना सांसदहरुमाथि यो आरोप लागेको पाइएको छ । अनि सन् २०१० को यो दशकमा वर्तमान राष्टपति डोनाल्ड टम्प र सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुन अघि लगाइएको आरोप गरी १७ जनामाथि आरोप लगाइएको पाइएको छ । ट्रम्पमाथि १३ जना महिलाले आरोप लगाएका छन् । राजनीतिक नेता तथा उच्च पदस्थ अधिकारीहरुमाथि यौनसम्बन्धी आरोपको विषयमा  पर्याप्त प्रमाण र विद्यमान कानुनका अधिनमा रही कानुनी उपचार खोजिएको पाइएको छ । डेमोक्रेटस र रिपब्लिकन दुबै पार्टीका सांसद र राष्ट्रपतिहरु यो आरोपबाट आरोपित भएका छन् । कतिपयले पद गुमाएका छन्  । 

बेलायतका घटना

बेलायतमा राजनीतिक स्क्यान्डलहरु १८९० देखि देखापरेको भए पनि १९६० को दशकमा यौनसम्बन्धी राजनीतिक स्क्यान्डल प्रकाशमा आएको पाइन्छ । १९६३ मा युद्ध मन्त्री जोन परफुमोको सम्बन्ध क्रिस्टिन किलर नामक वेश्यासँग रहेको पाइयो । १९७० को दशमा १९७३ मा अर्ल जेलको र लर्ड लम्पाटनमाथि वेश्यागमनको आरोप लाग्यो । यसको १० वर्षपछि सेसिल पार्किन्सनको सेक्रेटरीसँग सम्बन्ध रहेको पाइयो । बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको रक्षामन्त्री माइकले हेस्लाइनलाई वेस्टल्यान्ड अफेयरका कारण राजीनामा दिनु परेको थियो । १९९० को दशकमा डेभिड मेलर, स्किडगीगेट र जेम्स हेज लगायतका नेताहरुमा यस्तो आरोप लागेको पाइन्छ ।

सन् २००० यता सन् २००२ मा इडविना क्युरीले जोन मेजर प्रधानमन्त्री बन्न अघि १९९४ मा सम्बन्ध भएको खुलासा गरेकी थिइन् । तुलनात्मक रुपमा अमेरिकी राजनीतिज्ञहरुको तुलनामा यौनसम्बन्धी दुराचारको आरोप कम खेपेका छन् ।

कतिपय सन्दर्भमा यस्ता आरोपहरु राजनीतिक उच्च पदाधिकारीहरुसँग खोजिएको लाभ प्राप्त हुन नसकेपछि राजनीतिक लाभहानीको विषयले सार्वजनिक हुने गरेको देखिन्छ । तर आरोपहरुको समाधान राजनीतिक र कानुनी आधारमा गरिएको पाइन्छ । सर्वाधिक चर्चित बिल क्लिन्टनको सन्दर्भमा अमेरिकी राष्ट्रपतिमाथिको महाभियोग पारित नहुनुको पछाडि राजनीतिक विषय महत्वपूर्ण मानिएको छ । कानुनी र राजनीतिक प्रक्रियाका आधारमा निर्णय हुनु अघि यस्ता विषय सञ्चार माध्यमको विषय बन्ने गरेको पाइन्छ । बिल क्लिन्टनका बेला सञ्चार माध्यमको प्रस्तुतिले त्यही जनाउँछ । 

भारतमा पनि चर्चित स्क्याण्डल

भारतीय राजनीतिक क्षेत्र पनि यस्तो  स्क्यान्डलबाट  चोखिएको छैन् । कतिपय नेताको निधनपछि निस्केका पुस्तकहरुमा विवाहेतर सम्बन्धहरुको खुलासा गरिएको पाइन्छ । तर महत्वपूर्ण स्क्यान्डलामा फसेकाहरुमा मध्यप्रदेशका वित्तमन्त्री राघवजी लक्ष्मी सावला सन् २०१३ मा आरोपित भए । ७९ वर्षका उमेरमा आरोपित भएपछि राजीनामा दिए ।  राजस्थानका पूर्व मन्त्री बाबुलाल नागर सन् २०१३, राज्यसभा सासद अभिषेक मनु सिंघवी सन् २०१२ मा आरोपित भएपछि कांग्रेस प्रवक्ताबाट राजीनामा दिए । हरियाणाका पूर्वमन्त्री गोपाल कन्डा सन् २०१२ मा आरोपित र पद गुमाए । राजस्थानका संसाधन मन्त्री महिपाल मदेरना सन २०११मा आरोपित भए र पद  गुमाए । उत्तर प्रदेशका मुख्यमन्त्री नारायण दत्त तिवारी आन्ध्रप्रदेशका गर्भनर रहेका बेला आरोप हुँदा सन् २००९ मा पद गुमाए ।

भाजपाका महासचिव सन् २००५ मा आरोपित भए र पद गुमाए । उत्तर प्रदेशका पर्व मन्त्री अमरमणि तिवारी, उत्तराखण्डका मन्त्री हरक सिंह रावत, साधु यादव, महाराष्टका पूर्वमुख्यमन्त्री गोपीनाथ मुन्डे लगायतका रहेका छन् ।

र, अन्त्यमा

सभामुख कृष्ण बहादुर महरामाथि लागेको आरोपको निक्र्यौल पनि उपयुक्त विधिबाट गर्नु उपयुक्त हुने देखिन्छ । कानुनी प्रक्रिया अनुसार हुने विषय आफ्नै विवादमा घेरिएकी पीडितले उजुरी दिएबाट देखिएको छ । कानुनी प्रक्रियाबाट पनि बिल क्लिन्टनले सफाइ पाएका थिए ।