दशैं : मान्छे पिच्छेका फरक कुरा !

दशैं : मान्छे पिच्छेका फरक कुरा !

–    योगेश खपाङ्गी
संसारका सबै जातिका आ–आफ्नै किसिमका चाड÷पर्वहरु हुन्छन् । संसारभर छरिएर रहेका नेपालीभाषी र नेपालीजातिको साझा चाड हो दशैं । तर दशैंको फरक किसिमको सांस्कृतिक महत्व हुँदाहुँदै पनि यो चाड सँधै विवादास्पद हुँदै आएको छ । दशैंलाई नेपालमा बडादशैं पनि भनिन्छ भने भारतका हिन्दुहरुले यसैबेला दशहरा पर्व धुमधामसँग मनाउँछन् । भने यसै बेला उपत्यकाका नेवार समुदायले उस्तै प्रकारको चाड मोहनी नखः मनाउँछन् ।

नेपालीहरुले दशैं मनाइरहेकै समयमा भारतका आदिवासी र मूलवासीहरुले महिषासुर सहादत दिवस पनि मनाउने चलन छ भने भारतका बौद्ध समुदायले यसैलाई अशोक विजया दशमीको रुपमा धुमधामसँग मनाउने गर्दछन् ।

जातै पिच्छे र दशै पिच्छे दशैंका बारेमा थरि–थरिका भनाइ र किंबदन्तीहरु प्रचलनमा रहेको हुँदा दशैंलाई दशैं मात्र भन्ने कि बडादशैं, दशहरा, विजयादशमी, अशोक विजयादशमी वा के भन्ने भन्ने उलझन पैदा भएको छ । त्यसैले यसका बारे घोत्लिनु आवश्यक भएको छ ।

दशैं कि बडादशैं ?
हिन्दुहरु दशैंलाई ‘हिन्दुहरुको मात्र महान चाड’ भन्ने गर्दछन् भने अर्काथरी स्वतन्त्र विचार राख्नेहरु दशैं नेपालीहरुको मौलिक र साझा चाड हो भनि दाबी गर्दछन् । 
बुढापाकाहरु भन्छन् – ‘नेपालीहरुको दशैं पहिला चैतमा थियो । चैतमा खानपान लगायतका कुरामा असुविधा भएपछि यसलाई मौसम अनुकुल पार्दै असोजमा सारिएको हो ।’
चैते दशैं सन्सारभरकै नेपालीहरुले अझै पनि मनाउने चलन छ । जसलाई खास दशैं वा सानो दशैं पनि भन्ने गरिन्छ । त्यसैले असोजमा पर्ने दशैंलाई ठूलो दशैं अर्थात् बडादशैं भनिएको हो ।

दशैं र कृषि :
दशैं मनाउने तरिकाको अध्ययन गर्दा यो चाड कृषि पेशासँग जोडेर पनि हेर्न सकिन्छ । हालसम्म ज्ञात भएसम्म दही–चामल मुछेर निधारमा टिका लगाउने तथा टाउकोमा अन्न उमारेर जमरा लगाउने चलन सन्सारको अन्य कुनै पनि जाति र देशमा फेला परेको छैन । यस अर्थमा दशैं नेपालीहरुको नितान्त मौलिक चाड हो भन्ने कुरामा दम देखिन्छ ।

हाल हिन्दु वा गैरहिन्दुहरुले दशैंमा चामलमा मुछेर लगाइने रातो अबिर वा रंग महिषासुरको रगतको प्रतिक हो भन्ने गरेका छन् । तर आलंकारिक रुपमा यो भनाइ मिल्न गएको भए पनि वास्तवमा यसमा सत्यता फेला पार्न सकिन्न । रातो रंग वा अबिर मुछेर टिका लगाउने चलन धेरै भएको छैन । त्यस अघि सेतै रंगको टिका लगाइन्थ्यो । अझै पनि नेपालका जनजातिहरुले दशैंमा सेतै टिका लगाउने गरेका छन् । हाल केही दशैं विरोधीहरुले बिरोध स्वरुप कालो टिका लगाउने प्रचलन पनि भित्र्याएका छन् । जस्लाई बिरोधको शैली त मान्न सकिएका तर कालो टिका लगाउनु पनि एक किसिमको रंगभेदी काम नै हो भनि मान्नुपर्ने हुन्छ ।

भारतको दशहरा र नेपालको दशैंमा फरक :
भारतका हिन्दुहरुले यसै समयमा मानाउने गरेको चाडलाई दशहरा भन्ने गर्दछन् । खासगरि भारतको बंगाल प्रान्तमा दशहरामा दुर्गापुजा धुमधामसँग गरिन्छ । दशमीको दिन नदीमा दुर्गाको मुर्ति बिसर्जन गरेपछि उनिहरुको दशहरा सकिन्छ । त्यसैगरि बंगाल सहित अरु भारतीय प्रान्तमा दशमीको दिन रावण पुत्ला दहन गरिसकेपछि भारतीय हिन्दूहरुको दशहरा चाड समाप्त हुन्छ । तर नेपालमा चैं खासगरि दशैं भनेकै दशमी पछिको दिनलाई मानिन्छ । नेपालीहरुले दशमीदेखि पुर्णिमासम्म मान्यजनहरुबाट टिका, जमरा र आशिर्वाद ग्रहण गर्ने गर्दछन् । जुन काम भारतीय नेपालीभाषी बाहेक अरुले गर्दैनन् ।

महिषासुर वध र दुर्गा पुजा :
अज्ञातकाल (आर्यहरुको भारतवर्ष आगमनको समय, अनुमानित पाँच हजार वर्ष पहिले) मा महिषासुर नामक प्रतापी राजाले शासन गर्दथे । उनि भैंसी चढेर हिंड्थे । भैंसी चढेर हिँड्नु भारतवर्षको बाध्यात्मक चलन थियो । त्यसबेला सम्म भारतीय उपमहाद्वीपमा घोडा भित्रिसकेको थिएन त्यसैले यहाँ भैंसीको सवारी गरिन्थ्यो । अझै पनि भियतनाम, थाइनेन्ड, इन्डोनेशिया लगायतका दक्षिण पूर्वी एसियाका देशहरुमा राँगा–भैंसीको सवारी गर्ने चलन छ । त्यसका अलावा गाडामा बाँधेर गोरु पनि सवारीको रुपमा चलाउने चलन छ । किरातेश्वर महादेश भनि चिनाइएका गैर आर्य देवता महादेवको पनि सवारी गोरु नै छ । 
घोडा त आर्यहरुले युरेशियाको फाँटबाट निक्कै पछि भारतवर्षमा भित्र्याएका हुन् । घोडाको उत्पत्ति पनि युरेशिया नै हो । घोडा फुर्तिलो हुन्छ, त्यसैले आर्यहरु बसाँइ सराइ गर्दैै न्यानो र उर्वर भूमी खोज्दै भारतीय उपमहाद्वीपमा छिर्दा घोडाकै सवारी गरेर आए । यताको ढिलो चालको हात्ती, राँगा–भैंसीभन्दा घोडा युद्धमा बहुउपयोगी हुने गर्दथ्यो । त्यसैले आर्यहरुले जमिनी युद्धमा अनार्यहरुलाई हराए ।

महिषासुरको राज्यको राजधानी भारतको हालको मैसुर थियो । महिष जोड असुर जोड्दा मैसुर नै हुन आउँछ, त्यसैले मैसुरलाई महिषासुरको राजधानी भन्दा शंका गर्नुपर्ने ठाउँ त्यति देखिदैन । 
महिषासुरको राज्यमा सुख, सुविधा र हर्षोल्लास थियो । त्यसैले युरोपको कृष्ण सागर (ब्लाक सि) को छेउछाउबाट आएका आर्य जातिले महिषासुरको राज्यमा शरण लिए । आर्यहरु र अनार्यहरु एकआपसमा सँधै यु्द्ध गर्थे । पशु, भूमि, स्त्री र शक्तिको लडाई नै थियो देवासुर संग्राम । आर्यहरु आफुलाई जातिगत रुपमा उत्कृष्ण भन्ठान्थे, त्यसैले आफुलाई देवता अर्थात् देव भन्ने गर्दथे । 
पछि गएर शरणार्थी भइ आएका आर्यहरुले महिषासुरको राज्य आर्यहरुले हत्याउने चाहे । तर त्यसमा प्रतापी राज महिषासुर त्यसका बाधक बने । उनि कालो रंगको निरोगी र निक्कै बलिष्ठ शरीर भएका व्यक्ति थिए । युद्धकौशल पनि उनिमा त्यत्तिकै थियो । जोसुकैले उनको अगाडीबाट प्रहार गर्नु असम्भव थियो । 

खोज/अनुसन्धानकर्ताहरु भन्छन् – महिषासुरले महिला र बालकसँग युद्ध नगर्ने प्रतिज्ञा गरेका थिए । त्यसैले चतुर आर्यहरुले महिषासुरको वध गरि राज्य हत्याउने दुर्गा नामकी वेश्यालाई प्रयोग गरे । शुरुमा दुर्गाले महिषासुर माथि जाइलाग्न अस्विकार गरिन् । तर यदि उनले महिषासुरको वध गरेमा प्रत्येक वर्ष उनको पुजा गर्ने आश्वासन पाएपछि आर्यहरुको कुरामा उनि राजी भइन् । 

त्यसपछि उनि महिषासुरको दरवारमा काम गर्नेको रुपमा भित्रिइन् । दरवारमा भित्रिएर विश्वास जितिसके पछि उनले हतियार सहित आफ्ना सहयोगीहरु दरवार छिराइन् अनि नौ दिनको प्रयत्न पछि उनले महिषासुरको वध गरिन् । महिषासुर आफु मर्न तयार भए तर उनले स्त्री माथि हात नउठाउने आफ्नो प्रतिज्ञा तोडेनन् बरु उनि दुर्गाको हातबाट मृत्यु वरण गरे । 
दुर्गाले महिषासुरको वधगरे पछि आर्यहरुले राजकाज हातमा लिए र भोलीपल्टको दिनलाई विजय उत्सवको रुपमा मनाए । जुन दिन दशमीको दिन थियो, त्यसैलाई विजया दशमीको रुपमा मनाउने चलन आएको हो भन्ने गरिन्छ ।

विजय पछि दुर्गालाई आर्यहरुले बिर्सिए :
महिषासुर वध पछि दुर्गाको वर्षेपिच्छे पुजा गर्ने वचन आर्यहरुले दिएका थिए । तर विजयउन्मादमा दुर्गालाई पनि आर्यहरुले धोका दिए । वेश्याको पुजा के गर्नु भनेर आर्यहरुले उनको पुजा गर्न नै शुरु गरेनन् । तर धेरै पछि भारतमा अंग्रेजको शासनकाल सुरु भएपछि बंगालका एक राजाले दुर्गा पुजालाई एउटा राष्ट्रिय उत्सवको रुपमा मनाउने प्रचलन चलाए । त्यसैले आज पनि भारतका अरु प्रान्तमा भन्दा बंगालमा दुर्गा पुजा धुमधामसँग गर्ने चलन छ ।

उल्लेखनीय कुरा चैं के छ भने आजसम्म जसलाई हिन्दुहरुले दुर्गा माता भनि पुजा गर्दछन्, तिनैको मुर्ति बनाउन प्रयोग गरिने माटोमा बेश्यालयको अलिकति माटो मिसाउने चलन बंगालमा छ ।

विजया दशमी कि अशोक विजया दशमी :
हिन्दुहरुले विजया दशमीलाई रामले रावण माथि विजय गरेको दिन पनि भनि रावणको पुत्ला दहन गर्ने गर्दछन् । खोज अनुसन्धान अनुसार राम र रावण नामको कुनै व्यक्ति इतिहासको कुनै पनि कालखण्डमा फेला पर्दैन । बरु रामलाई नायक बनाइ लेखिएको कृति रामायण फगत एक काल्पनिक कथा हो भनि भारतीय लेखक/अनुसन्धानकर्ताले भनेका छन् । रामायण दोस्रो शताब्दीका शुंग साम्राज्यका संस्थापक तथा प्रथम राज पुश्यमित्र शुंगले आफ्ना दरवारिया पण्डितहरुलाई लेख्न लगाएका थिए । पुश्यमित्र शुंग मौर्य साम्राज्यका सेनापति थिए । १८५ ई.पु.मा अन्तिम मौर्य सम्राट बृहदथको धोकापूर्वक हत्या गरेपछि उनले शुंग साम्राज्यको बिस्तार गरे । जुन दिन उनले चक्रवर्ती सम्राट अशोकका सन्तान बृहदथको हत्या गरे त्यो दिन पनि संयोगवस महिषासुरको हत्या भएकै दिन नवमीको दिन थियो । त्यसदिनको भोलिपल्ट पुष्यमित्रले आमजनतालाई विजया दशमीको रुपमा धुमधामसँग मनाउन उर्दी जारी गरे । तर त्यो दिनलाई मूलवासी जातीय समुदाय तथा बौद्ध धर्म मान्नेहरु अशोक विजया दशमीको रुपमा मनाउँछन् ।

के हो अशोक विजया दशमी ?
कलिंगको युद्दपछि सम्राट अशोकले विधिवत् रुपमा बौद्ध धम्म अपनाउने निर्णय गरे । एक दिन उनले न्यग्रोध श्रामणेर तथा भिक्खुसंघलाई भोजनको निम्ता गरे । त्यसपछि श्रामणेर आफ्ना आचार्य भंते उपगुप्त तथा बत्तीस भिक्खु सहित राजमहल गए । त्यो अवसरमा त्यहाँ राजपरिवारका सदस्य पनि उपस्थित थिए । भिक्खुहरुको भोजन पश्चात भंते मोग्गलिपुत्त तिस्स ने धम्मदेशना दिए । त्यसै दिन सम्राट अशोकले करुणा, मैत्री, मुदिता तथा शान्तिद्वारा धम्म–विजय प्राप्त गर्ने र अस्त्र–शस्त्र त्यागने प्रतिक्षा गरे । जुन दिन अशोकले विधिवत् रुपमा बौद्ध धम्मको दिक्षा लिए, त्यो दिन अश्विन शुक्ल दशमीको ऐतिहासिक दिन थियो । युद्धबाट वाक्क भएका जनता समेत शान्ति छाउने कुरामा आशावादी बने । त्यस दिनलाई भारतभरका बौद्धहरुले अशोक विजया दशमीको रुपमा हर्षोल्लासपूर्वक मनाउन सुरु गरे । 
‘अशोककाली दीपदानोत्सव जो दीवाली बन गया’का लेखक आचार्य जुगल किशोर बौद्ध आफ्नो पुस्तकमा दाशी गर्छन् – ‘‘बौद्धको यसै ‘अशोक विजया दशमी’ पर्वलाई हिन्दु धर्मावलम्बीले अपनाएर यसलाई दशहरा नाम दिए । एक प्रकारले बौद्धको यो पर्वको अपहरण गरियो ।’’
 

चिनिया नयाँ वर्षसँग मिल्छ नेपाली दशैंको चरित्र :
संस्कृतिको सवालमा छिमेकी देश चीन पनि समृद्ध मानिन्छ । चिनियाहरुको सबैभन्दा ठूलो चाड नयाँ वर्ष हो । यो चाड बसन्त ऋतुको आगमनको बेला पर्ने गर्दछ । यसबेला सन्सारभरका चिनियाहरु घर फकिन्छन् । यो समयमा घर फर्किने चिनियाको लर्कोलाई सन्सारकै सबैभन्दा ठूलो ‘माइग्रेशन’ भन्ने गरिएको छ । जस्को झल्को हाम्रो नेपाली चाड दशैंमा देख्न सकिन्छ ।

चिनिया नयाँ वर्ष लागेसँगै घर–घर र टोल–टोलमा ड्रागन नचाउँदै आउने चलन छ । अनि ड्रागन नचाउने टोलीलाई हामीले तिहारमा कोशेली दिए झैं केही नगद र फलफूल कोशेली दिने चलन हुन्छ । नयाँ वर्षको दिन हरेक चिनियाहरु आफ्ना मान्यजनका जाने गर्दछन् । मान्यजनले रातो खाममा केही पैसा र सुन्तला कोशेली दिने गर्दछन् । यसबखत चिनियाहरु नयाँ लुगा लगाएर पटाका पडकाउने गर्दछन् । 
तुलनात्मक रुपमा नेपाल भारत र चीनको सांस्कृतिक फ्युजन भएको देश हो । दशैंमा पनि भारत र चीनको फ्युजन देख्न सकिन्छ । यस अर्थमा दशैंलाई नेपालीहरुको मौलिक चाडको रुपमा व्याख्या गर्दा अन्यथा हुँदैन ।