शेयरबजारलाई दशैँ लाग्यो, नेप्से सूचकसँगै करोबार रकम पनि घट्यो

शेयरबजारलाई दशैँ लाग्यो, नेप्से सूचकसँगै करोबार रकम पनि घट्यो

दुई दिन लगातार दोहोरो अंकले बढेको नेप्से बुधबार भने ४.९८ अंकले घटेर ११४०.७१ बिन्दुमा आइपुगेको छ।  

बुधबार १६१ कम्पनीका ७ लाख ८५ हजार ७४० कित्ता शेयर किनबेच भएर २० करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भयो। बुधबार खरीद बिक्री भएको शेयरको भुक्तानी लगानीकर्ताले दशैंपछि मात्र पाउने हुँदा कारोबार रकममा ठूलो अन्तरले घटेको हो।

बुधबार कारोबारमा आएका ११ उपसमुहको सूचकमध्ये अन्य र म्युचुअल फण्डको मात्रै सूचक सकारात्मक बन्दा बाँकी ९ समुहको सूचक भने ओरालो लागेको छ। यस दिन अन्य उपसमुहको सूचकमा सबैभन्दा धेरै ६.०४ अंकले सुधार भएको छ। यस्तै म्युचुअल फण्डको सूचक पनि ०.०५ अंकले बढेको छ। 

त्यसैगरी जीवन बीमाको सूचक सबै भन्दा धेरै ५४ अंकले ओरालो लागेको छ। यस्तै होटल्सको ४९.८८, निर्जीवनको ४८.८२, उत्पादन तथा प्रशोधन १७.४१, हाइड्रोपावरको ७.२४, विकास बैंक ६.३४ र वाणिज्य बैंकको सूचक ४.५७ अंकले घट्यो।

बुधबार नेपाल हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ६.३८ प्रतिशतले बढेको छ। यस्तै आँखु खोला जलविद्युतको ५.६६, युनाइटेड फाइनान्सको ५.१५ र सिन्धु विकास बैंकको शेयरमूल्य ३.३१ प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सबै भन्दा धेरै ५.३६ प्रतिशतले घटेको छ।