रोकिएनन् द्धन्द्ध पीडितका आँसुः चाडपर्ब आउँदा शहिदका घरमा हुन्छ रुवाबासी  

रोकिएनन् द्धन्द्ध पीडितका आँसुः चाडपर्ब आउँदा शहिदका घरमा हुन्छ रुवाबासी  

नवीन रिजाल 

दैलेख, १५ असोज । दशै तिहार जस्ता महत्वपुर्ण चाडबाड आउँदा धेरैको घरमा खसियाली हुने गर्दछ । राम्रो लगाउने र मिठो खाने घरका आफन्तहरुसँग भेटघाट गरेर ठूलावडाको आशिर्वाद थाप्ने दिन नजिकिदै आउँदा दैलेखका द्धन्द्धपीडितहरुका घरमा भने सँधै रुवाबासी चल्ने गर्दछ ।

नारायण नगरपालिका ७ की पबित्रादेवी शर्माको घरमा जनयुद्वमा राज्यपक्षका सेनाबाट पाँच जना शहिद भएका छन् । चाडपर्ब आउनै हुँदैन उनको घरमा रुवाबास सुरु हुन्छ । उनले भनिन्, ‘सबै दशैँ आयो भन्छन्, तर हाम्रा लागि दशा आएजस्तो हुन्छ ।’
चाड पर्बमा घरका बाँकी परिवारहरु शहिदहरुका फोटा हेर्दै रुँने गर्छन । ५२ बर्षिया श्रीमान् कबिराज शर्मालाई सुतिरहेको ओछ्यानबाटै उठाएर सेनाले लग्यो र चौरमा गोली हानेर हत्या गर्यो । दुई छोराहरु नारायण शर्मा र सशीराम शर्मालाई पनि माओबादीको आरोपमा तत्कादिन सरकारले मार्यो । दुईवटा ज्वाईहरु लक्ष्मी अधिकारी र ऋषी गौतमलाई माओबादीकै आरोप लगाएर सेनाले मारेको पबित्रा शर्मा रुँदै ती कहालिलाग्दा दिनको स्मरण गर्छिन् । 

पीडित परिवारका आँसु अझै रोकिएका छैनन् । उनले रँदै भनिन्, ‘चाडपर्व कहिल्यै मान्दैनौँ, आउँछ जान्छ ।’ परिवार र आफन्तहरु जम्मा भएर जव शहिदहरुका फोटोमा माला लगाउँन खोज्छन् तव सुरु हुन्छ रुवाबासी ।  ‘मनमा शान्ती छैन केको रमाउने ? अरुले ढोका ढकढक्याउँदा पनि कोही आयो कि भन्ने आश लाग्छ, रातको सन्नाटामा पनि ढोकातिर कोही आएर बोलाए जस्तै लाग्छ, पबित्रादेवी भन्छिन्, ‘ढोका खोल्छु अन्धकार बाहेक केही नदेखिए पछि निराश हुदै भित्र पस्छु ढोका बन्द गर्छु । मेरा लागि घर सधै मसानघाट जस्तो लाग्छ । पार्टीका मान्छे भेट्न पनि आउँदैनन् ।’ उनले गुनासो गरिन्, ‘हामीसित उनीहरुलाई राम्रोसँग कुरा गर्ने फुर्सद पनि छैन । पीडा हामीसितै छ ।’ तपाँईहरु पीडित हुनुहुन्छ भनेर सहानुभूति सम्म देखाउन नसकेको पवित्रा शर्मा बताउँछिन् । 

नारायण नगरपालिका ३ खुर्सानीबारीका लक्ष्मीप्रसाद अधिकारी तत्कालीन १० वर्षे जनयुद्धका बेला सरकारी पक्षबाट बेपता पारिएका हुन । २०५८ साल फागन २३ गते नेपाल र भारतको सीमाना रुपैडियाबाट हार्डवेयर पसलको सामान लिएर फर्कँदै गर्दा नेपालगञ्जको जमुना चौकीले उनलाई कब्जामा लिएको थियो । आफुहरुलाई मार्नको लागि गोली गठ्ठा ल्याएको भन्दै सोही स्थानमा रहेको सेनाको काली भुमिगढ गुल्मले बेपता पारेको उनलाई बेपत्ता परेको हो ।

साना छोराहरुले बुवा पसलको सामान लिन बजार जानुभएको छ, मिठाइँ ल्याउनु हुन्छ, अनि मज्जाले खानु पर्छ भनेर बुवा आउने बाटो हेरेर दुई दशक बिताइसकेका छन् ।  छोरा प्रकाश अधिकारी २ वर्षको हुँदा उसले भनेको कुरा अहिलेपनि सम्झना आउँदा मनमा भक्कानो छुटेर आउने गरेको लक्ष्मी अधिकारीकी श्रीमती भविसरा अधिकारी बताउँछिन् ।

सुरुसुरुमा त बुवा आउने बाटो हेरिरहन्थ्यौँ’ १७ बर्षै छोरा प्रकाश अधिकारी भन्छन्, ‘कहिले बुवा झुलुक्क झुल्किहाल्नु हुन्छकी झिनो आश अझै रहिरहेको छ ।’ बुवाको बेपत्तापछि उनको परिवारमा संघर्षपूर्ण जीवन सुरु भयो । अहिले प्रकाशको बुबा बेपत्ता भएको १७ वर्ष बितिसको छ । अझै पनि उनले बुबा आउने आश मारेका छैनन् । बेपत्ता परिवारको नाममा उनको परिवारलाई सरकारले राहत त दिएको छ । तर उनी राहत भन्दा पनि बुबाको लाश कि सास भेटिएको भए चित्त बुझ्ने बताउँछन् ।
‘न्यायको नाउँमा सरकारले राहत त दिलायो’, उनी भन्छन्, बुबाको कि सास कि लाश दिएको भए हाम्रो पीडा अलि कम हुन्थ्यो, बुवा भएको भए आज हामी राम्रोसँग पढ्न लेख्न पाउँने थियौँ ।’

राहतको पैसाले आफ्नो पीडामा केही मल्हम लगाएको भए पनि आफुहरुको पीडा कम गर्न राज्यले बेपताहरुको अबस्था स्पष्ट पारेको भए झन राम्रो हुने थियो भन्ने सुझाव उनले दिएका छन् । द्धन्द्धको समयमा भएका घटनाको एकीन  तथ्यांक संकलन गरी पीडितलाई जानकारी दिने भन्दै सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ जारी गरेपनि  उक्त आयोग द्धन्द्धको घाउ निको हुने गरी समाधान गर्न नसकेको द्धान्द्ध पीडितहरुको गुनासो छ । 

नारायण नगरपालिका ३ की रत्नाकुमारी रेग्मीको पीडा पनि यस्तै छ ।  श्रीमान माओवादीमा लागेकै आरोपमा तत्कालिन शाही नेपाली सेनाले उनलाई दिएको दुःख सम्झेर अहिलेपनि उनी आँखाबाट आँशु झर्ने गर्छिन् । २०६२ साल भदौं २० गते नेपाली महिलाहरुको पर्व हरितालिका तीज थियो । काँडाचौरमा महिलाहरु आफ्ना पतिको लामो आयुको लागि ब्रत बसेझँै रेग्मी पनि ब्रत बसेकी थिइन् । माओवादीले भदौ १७ गते नै युद्धबिरामको घाुषणा गरिसकेको थियो । तत्कालिन नेपाली सेनाले परिचालन गरेको टाइगर ग्रुपका भिजलान्त भनिने समूहले रेग्मीका श्रीमान् उदयराम रेग्मी सहित अन्य २ जनालाई कालिमाटी भन्ने स्थानमा गोली हानि हत्या गर्यो । उता श्रीमानको हत्या गर्र्यो भने यता रेग्मीलाई अनाहकमै घरबाट बोलाएर चरम यातना दियो । जसका कारण उनी ३ बर्षसम्म उपचारका लागि काठमाण्डौंमा यातना पीडितको लागि रहेको कार्यालयमा बस्नुपर्र्यो । अहिलेपनि त्यो घटना सम्झिँदा र चाडवाडको कुरा सम्झिँदा उहाँको आँखाबाट आँशु झर्छन् ।

रेग्मी अहिले दैलेखमा रहेको मानवअधिकारका लागि द्धन्द्धपीडित एकल महिला समूहको जिल्ला अध्यक्ष भएर काम गरिरहेकी छिन् । आफ्ना पतीलाई अनाहकमा मार्नेहरुलाई अहिलेसम्म कारवाही नभएको उनको गुनासो छ । उनी भन्छिन्, ‘राज्यले अहिले सम्म पनि द्धन्द्धपीडित को हो भनेर पहिचान दिन सकेको छैन ।’ राज्यको व्यवस्था परिवर्तनमा पुर्याएको योगदानको उच्च कदर गरि पीडितको अर्थपुर्ण आत्मसम्मानसहित सबै प्रकृतिका द्धन्द्धपीडितलाई पहिचानका लागी परिचय पत्र दिनु पर्ने उनको माग छ । त्यसैगरी राज्यले द्धन्द्ध पीडितका सन्तानलाई पठन पाठनदेखि सम्पुर्ण जीवन निर्बाहका लागि उचित ब्यबस्था गर्नु पर्ने उनी माग गर्छिन् ।

तत्कालिन समयमा शाही नेपाली सेनाले भैरबी गाउँपालिका ५ का डित्ली प्रसाद रिजाललाई काँशिकाँधको टाकुरी गाउँमा गएका बेला सेनाले चलाएको टाइगर ग्रुपले पछाडीबाट गोली हानी हत्या गरिदियो ।
आर्थिक अबस्था अत्यन्तै कमजोर भएका यी शहिद परिवारसँग आफ्नो आम्दानिको श्रोत केही छैन । उनीहरु अहिले निकै समस्यामा छन् । जीवन निर्बाह गर्न  धौ धौ भएको छ । उनकी धर्मपत्नी पुर्णकला जैसीको यही गुनासो छ । भन्छिन्, ‘गाउँको घरमा बसेकालाई अनाकमै माओबादी भन्दै सेनाले मारिदियो ।’ श्रीमान् गुमाएकी पुर्णकलाका ५ छोराछोरी छन् । अहिले उनीहरुको पठन पाठनमा समस्या उत्पन्न भएको छ । सरकारले आफ्ना छोराछोरीको ग्यारेन्टी लिनुपर्ने उनी माग गर्छिन् ।

माथिका त केही प्रतिनिधि पात्र मात्र हुन् । सशस्त्र द्वन्द्वको समयमा दैलेखमा राज्य  र विद्रोही दुबै पक्षबाट ३ सय ४० जना शहिद भएका छन् । १६ जना बेपता ,एक सय ३८ जना घाइते , ६ सय ३८ जना बिस्थापित, ६ सय ३० जनाको सम्पति लुटिएको विवरण बिगतमा आफु स्थानीय शान्ति समितिको कार्यलय सचिव हुदाँ रेर्कड गरिएको सन्तोषी प्याकुरेलले बताइन् ।

अहिले शान्ति समिति भंग भइसकेको छ । त्यतिबेला अधिकाँश पीडितहरु समितिले मागेको प्रमाणपत्र पेस गर्न नसकेर राहत पाउन सकेका थिएनन् भने  घाईते र अपांगता भएकाहरुले समेत राम्रोसँग उपचार गर्न पाएका छैनन् । दैलेख सबै भन्दा बढी द्वन्द्व प्रभाबित जिल्ला भएको र सरकारले पीडितहरुका लागि सम्वेदनशीलता नदेखाएको दन्द्वपीडित परिवारको गुनासो छ ।