दशैँको बेला विक्षिप्त शेयर बजार

दशैँको बेला विक्षिप्त शेयर बजार

दशैंको माहौलले देशभर ढपक्क ढाकिरहँदा अर्थतन्त्रको ऐना मानिएको शेयर बजार विक्षिप्त अवस्थामा पुगेको छ । दशैंको मुखमा शेयरबजार दैनिक  ओरालो लाग्न थालेपछि आम सर्वसाधरण लगानीकर्तामा चरम निराशा छाएको छ । धितोपत्र बोर्डमा सुचिकृत कम्पनीहरुले धमाधम लाभांष घोषणा गर्दैगर्दा र कतिपय कम्पनीले साधारणसभा सम्पन्न गर्दैगर्दा शेयरको भाउ घटेर न्युन हुँदा शेयर बेचेर दशैंखर्च जोहो गर्नुपर्ने लगानीकर्तालाई नखाउँत दिनभरीको शिकार खाउँत कान्छाबाउको अनुहार जस्तै भएको छ । शेयर नबेचि बसुँ दशैं खर्च जोहो गर्नुपर्ने बेचुँ घेरै घाटा खाएर कसरी ? आम सर्वसाधारण लगानीकर्ताको अवस्था अहिले यी र यस्तै अवस्थवाट गुज्रिएको अवस्था छ ।

साधारण लगानीकर्ता शेयरबजारबाट त्रसित भैरहँदा सम्बन्धित निकाय धितोपत्र बोर्ड, अर्थ मन्त्रालय भने मौन रहेको देखिन्छ । दिनहुँ दोहोरो अंकले शेयरबजार परिसूचक नेप्से घटिरहँदा र लगानीकर्ताले अरबौं गुमाइरहँदा विशेषगरी नेपाल सरकारका अर्थमन्त्री र नियामक निकाय कानमा तेल हालेर बसेको सर्वसाधरण लगानीकर्तालाई भान भइरहेको छ । उनीहरु कोहीपनि केही नभएजस्तो भान गरी वसिरहेको जस्तो लाग्छ । लगानीकर्ता विक्षिप्त अवस्थामा रहँदा ढाडस दिने कोही नहुँदा छिट्टै शेयर बजार बौरिएला भन्ने छाँट देखिँदैन । 

शेयरबजारमा लगानीकर्ताहरुले थाम्नै नसकिने गरी घाटा खान थालेपछि प्यानिक सेलिङ्ग प्रेसरले ठूलो अन्तरले दैनिक घटिरहेको छ  । पुँजी बजार धरायसी हुनै लाग्दा, जनताको अरबौं रुपैयाँ स्वाहा हुँदा चासो नदिनेहो भने बजारप्रति विश्वास गुम्न जानेर अकल्पनीय क्षति हुनसक्ने विश्लेषकहरुले बताएका छन् । बजारमा प्यानिक सेलिङ देखिन थालेकोले अहिल्यै झनै घटेर अत्यन्त न्यून विन्दुमा नआउन भन्न सकिँदैन । घरखेत बेचेर भएपनि शेयर बजारमा उज्जवल भविश्य देखेर लगानी बढाएका लगानी अहिले घर न घाटका भएका छन् । अर्थमन्त्रीको शेयरमा लगानी गर्ने उपर्युक्त बेला भएको भनाईसँगै दुईदिन उर्लिएकोे शेयर बजार फेरी खहरे खोलाझै सुक्न पुगेको देखिन्छ ।  

शेयरको भाउ निक्कै सस्तो भैसकेको र सवैजसो सुचिकृत कम्पनीहरुले राम्रै नाफा गरिरहेको वित्तिय विवरण प्रकाशित भैरहेको अवस्थामा सामान्यतया शेयरबजार बढ्नुपर्ने हो तर दिनप्रतिदिन दोहोरो अंकले घट्न थालेपछि बढ्ने आशामा सस्तोमा शेयर उठाइयो भनेर खुसी भएका भुरा लगानीकर्ता भोलिपल्टै ठूलो मूल्य अन्तरले घटेपछि थप लगानीगर्न तयार भएका छैनन् । दिनदिन घट्न थालेपछि कमाउँला भनेर लगानीगर्ने रितोहात लाग्नेभएपनि निराशा बनेका हुन् । त्यसैले यतिबेला आम लगानीकर्ताको मनोबल निकै गिरेको अवस्था छ । 

पछिल्लो चार महिनादेखि लगातार शेयर बजार घट्दो क्रममा छ र सुधारका अनेकन कामहरु अघि बढ्न सकिरहेको छैन, बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनुपर्ने, ब्रोकर कमिसन घटाउने लगायतका थुप्रैकामहरु  अहिले थाती रहेको अवस्था छ । यद्यपी धितोपत्र बोर्डले ब्रोकरहरुलाई मार्जिन कारोबार तत्काल लागू गर्न आदेश दिएको छ । तर घट्दो बजारमा मार्जिन कारोबार गर्न कोही तयार छैनन्, ‘‘ब्याजको मात्र भारी किन बोक्ने फाइदा हुन्छ भन्ने लक्षण नै छैन’’, एक लगानीकर्ताले बताए ।  भुरा लगानीकर्ताको धैर्यताको बाँध टुटिसकेको छ, लामो समयसम्म धैर्यता गरिरहँदा पनि आत्मबल बढाउने खालको कुनै म्यासेज नआएकोले पनि बजार नथामिएको हो । आकर्षक वित्तीय सूचक भएका कम्पनीको भाउ पनि निकै सस्तो छ । मूल्य–आम्दानी अनुपात, प्रतिसेयर आम्दानी, नेटवर्थ लगायतका सूचकलाई अध्ययन गर्दा पनि भाउ निकै सस्तो देखिन्छ । तर लगानीकर्ताको आत्मबल निरन्तर खस्किंदा उनीहरु बजार प्रवेश गर्न नसकेका हुन् ।

शेयरबजारका नियामक निकायहरुपनि प्रचारवाजी मात्र गर्ने देखिएका छन् । बजेटलेनै विग मर्जरमा जान सुझाएपछि राष्ट्रबैंकले पनि विग मर्जरमा लैजाने तयारी गर्यो तर पहुँचवाला बैंक संचालकहरुले आफूलाई समेत असर पर्ने भएपनि त्यो विचैमा तुहियो यद्यपी बैंक फोर्सफुल मर्जर नभई प्रोत्साहनमुलक मर्जर भनियो र पछिल्लो समय मर्जरको विषयमा के कति प्रगति भयो भनेर राष्ट्रबैंकबाट विवरण मागिँदैछ र केही बैंकहरुले साधारण सभाबाटै उपर्युक्त बैंक एवं वित्तियसंस्थासँग मर्जर गर्ने अख्तियारी संचालक समितिलाई दिइसकेका छन् ।   

अर्थमन्त्रीको शेयर किन्ने उपर्युक्त समय यहीहो भन्ने वित्तिकै दुईदिन भएपनि बजार उकासिएबाट सरकार र त्यससँग सम्बन्धित जिम्मेवारीकर्ताको भनाईले मात्र सकरात्मक परिवर्तन हुन सम्भब हुन्छ भने गराईबाट सुधारको कामहरु भए शेयरबजारको भविश्य सुनौलो छ । नियामक निकायले लगानीकर्ताको मनोबल बढाउने कदम अघि सार्दैन तबसम्म बजारमा सुधार हुने सम्भावना देखिंदैन । अर्थमन्त्रीले आईपिओहरुमा मागभन्दा बढी आवेदन आईरहेको बताइरहँदा हाइड्रोपावर कम्पनीहरुको शेयर विक्न नसकेको हेक्का भएन । लगानीकर्ताले निकै लामो समयदेखि धैर्य गर्दै आएका हुन् । अरबौं रुपैंया घाटा खाएर धैर्य गरिरहेका छन् तर धैर्यताको बाँध टुट्ने अवस्था आएको छ । धैर्यताको पनि सीमा हुने हुँदा सीमा टुट्न दिनु हुँदैन ।