सडकमा बेसहारा भएर कुनै नागरिक बसेको भए खबर गर्नुस्ः प्रधानमन्त्री ओली

सडकमा बेसहारा भएर कुनै नागरिक बसेको भए खबर गर्नुस्ः प्रधानमन्त्री ओली

ललितपुर, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलकलाई छिट्टै भिखारीमुक्त बनाउने घोषणा गरेका छन् ।

सोमबार ललितपुरको भैंसीपाटीस्थित सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास तथा सम्पर्क कार्यालयहरुको शिलान्यास गर्दै उनले बेसहारा भएर बसेका नागरिकलाई सरकारले उचित व्यवस्था गर्ने दाबी गरे । प्रधानमन्त्री ओलीले सडकमा बेसहारा भएर कुनै नागरिक बसेको भए खबर गर्न सार्वजनिक अपिल गरेका छन् । उनले देशलाई छिट्टै भिखमंगामुक्त बनाउने घोषणा पनि गरे ।

प्रधानमन्त्री ओलीले मुलुकमा केही पनि भएको छैन भनेर निराशा, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति पनि देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाएका छन् । सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिए पनि त्यसको चर्चा समेत नगरिएको गुनासो समेत गरे ।

‘केही पनि भएन भनेर, केही पनि भएको छैन भनेर निराशा फैलाउन खोज्ने, भएका कामहरुको चर्चा नगर्ने एकथरी प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री ओलीको भने, ‘ननइस्युलाई इस्यु बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ ।’

मोतीहारी–अमलेखगंज पेट्रोलियम पदार्थको पाइपलाइन बिस्तार गरिएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सरकार हरेक दिन एक कदम अघि बढिरहेको दावी पनि गरे । उनले एक वर्ष पूरा नहुँदै मेलम्ची खानेपानी काठमाडौं ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे । ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको खानेपानी आउन ढिलाई भएको उनको स्पष्टीकरण छ ।

प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारसँग निरन्तर सम्पर्क गर्नुपर्ने भएकाले ललितपुरमा उनीहरुका लागि निवास तथा सम्पर्क कार्यालय स्थापना गर्नु परेको प्रष्टीकरण दिए । ललितपुरको सैंबु आवास क्षेत्रमै केही समयभित्रै संघीय मन्त्रीहरुको निवास बनाउने कार्य पनि सुरु हुने बताए ।

सरकारले चालु आर्थिक वर्ष्भित्रै स्टेट गेष्ट हाउस, सभाहल र संघीय संसदका सांसदहरुको आवास निर्माणको कामलाई सुरु गर्ने योजना सार्वजनिक गरिसकेको छ । यस अघि प्रधानमन्त्री ओलीले तीन वर्ष्भित्र निर्माण सम्पन्न हुने गरी सिंहदरबारमा संघीय संसद भवन र बालुवाटारमा प्रधानमन्त्री निवास नयाँ भवनको पनि शिलान्यास गरेका छन् ।